अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५१ | Colorodo: 22:06

युक्रेनमा अलपत्र २४४ नेपाली सुरक्षित स्थानमा

बिआरटीनेपाल २०७८ फागुन १६ गते ६:०१ मा प्रकाशित

रुस–युक्रेन द्वन्द्वका कारण संकटमा परेका २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको हो ।

समितिले विज्ञप्ति निकाली युक्रेन छाडेर पोल्याण्डमा ६०, स्लोभाकिया र रोमानियामा १२–१२, हङ्गेरीमा चार र माल्डावामा दुईजना सकुशल पुगेका जनाएको हो ।सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १३०, स्लोभाकियाको सीमामा १२, रोमानियाको सीमामा १० र माल्डावाको सीमामा दुई नेपाली दोस्रो मुलुक जान रोकिएको पनि जनाइएको छ । उनीहरुले आज साँझसम्म सीमा पार गर्नसक्ने जनाइएको छ ।

गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन् । उच्चस्तरीय समितिका अध्यक्ष जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा हिजो बसेको बैठकले युद्धका कारणले विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।

बैठकमा राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ नेपालीलाई दूतावासले यात्रा अनुमतिपत्र जारी गरेको जानकारी गराएका थिए । उच्चस्तरीय समितिका संयोजक एवं एनआरएनएका उपाध्यक्ष डा बद्री केसीले संघका अध्यक्ष कुमार पन्त नेपालीको उद्धारका लागि पोल्याण्डको सीमा क्षेत्रमा आफैँ पुगेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू