अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

च्यासललाई हराउँदै पुलिस ‘ए’ डिभिजन लिगकाे १० औँ स्थानमा उक्लियाे

बिआरटीनेपाल २०७८ माघ २६ गते ५:४४ मा प्रकाशित

शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई हराएकाे छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज बुधवार भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई दुई–एक गोल अन्तरले हराएकाे हाे । पुलिसको जितमा रविशङ्कर पासवानले दुवै गाेल गरे । च्यासलका लागि भने मौसा अबागानाले एक गोल फर्काए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पासवानले खेलकाे ३७ औँ मिनेटमा गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए । उनले नीरकुमार राईले उपलब्ध गराएको बलमा गोल गरेका हुन् । खेलको ५२ औँ मिनेटमा च्यासलका मौसाले पेनाल्टीमा गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । पुलिसका कप्तान सुमन सुवेदीले खेलको ५१ औँ मिनेटमा रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टी पाएको थियो ।

त्यसपछि खेलको ७० औँ मिनेटमा पासवानले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई दुई–एकको जित दिलाए । सुमन लामाले उपलब्ध गराएको बलमा पासवानले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट गोल गरे । याे जितसँगै पुलिसले नौ खेलमा १० अङ्क जोडेको छ । पुलिस अङ्क तालिकाको दशौँ स्थानमा उक्लिएको छ । समान नौ खेल नै खेलको च्यासल पाँच अङ्कसहित तालिकाको १३ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू