अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५१ | Colorodo: 15:06

नेपालमा थप ५ हजार ५ सय ८३ जनामा कोरोना पुष्टि, ८ हजारभन्दा धेरै जना निको भए

बिआरटीनेपाल २०७८ माघ १८ गते ७:०२ मा प्रकाशित

आज पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । लगातार पछिल्लो चार दिनदेखि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा पाँच हजार पाँच सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १७ हजार ६ सय ७४ जनाको नमुना परीक्षण गर्दा पाँच हजार पाँच सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमा व्यक्तिगत रूपमा परीक्षण गरेर इमेल र एसएमएसबाट पठाएको विवरण पनि समावेश रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ हजार दुई सय ६७ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप नौ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले नेपालमा ७४ हजार ६ सय ५३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख ९९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया