अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८ | Colorodo: 04:13

साहित्य

हरिप्रसाद रिमाल २०७८ पुष ९ गते ९:३५ मा प्रकाशित

शार्दूलविक्रीडित -छन्द

म स ज स त त गु
sss iis isi iis ssi ssi s
हुन् यी अक्षर आँकुरा हृदयका सञ्जीवनी शब्द हुन्
हाम्रा औषध प्रेमका अजमरी माला सबै वाक्य हुन्
बन्छन् काव्य मिठा अनेक रसमा उत्साह भर्ने गरी
चुस्छन् भृङ्ग बनेर पाठकहरू साहित्य हो मञ्जरी।१

सारा नौ रसको प्रवाह रसिलो साथै अलङ्कार छन्
जस्तो भाव बनाउने मन भयो औजार यी माथ छन्
गोड्दै शब्द र अर्थ कञ्चन मिठा राखेर माला उनी
सुम्पन्छन् निज कर्म पाठकहरू चुस्छन् बसी मञ्जरी।२

बन्छन् भृङ्गसमान पाठक सबै साहित्य वासन्तिका
मानी नित्य रमाउँछन् नव बधूझैँ लाग्छ यो वाटिका
यस्तो सौम्य पवित्र चिन्तन कतै अन्यत्र पाइन्छ र!
जाने यो भव ब्रह्मतुल्य रसिलो बन्ला अझै उर्वर।।३

शृङ्गारादि पवित्र नौ रस सबै चाखुन् यहाँ पाठक
बन्लान् माथ पवित्र चाख्न सुरिए होलान् र नालायक
हुन्छन् तीर्थ समान चिन्तन नयाँ बोकेर आस्वादक
यस्ता पाठक पाइए दिल दह्रो होला बने नायक।।४

चौरासी परिकार खाद्य रसिला हुन्छन् सबै काव्यमा
चाखी पाठक शुद्ध काव्यरसमा झुम्छन् मिठा स्वादमा
यस्तो कञ्चन दिव्य उच्च गहना साहित्य बन्दै गए
चाखी स्वाद मिठो उदार दिल होस् भन्दैछु चाख्ने भए।५

प्रतिक्रिया