अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३२ | Colorodo: 15:47

साहित्यिक पत्रकार सङ्घद्वारा नीति उपन्यासको परिचर्चा

बिआरटीनेपाल २०७८ पुष ४ गते ७:३२ मा प्रकाशित

साहित्यकार मिरा गोतामेको उपन्यास ‘नीति’माथि समीक्षा गरिएको खबर छ। शनिवार अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजित कार्यक्रममा सो कृतिमाथि समीक्षा गरिएको हो।

साहित्यिक पत्रकार सङ्घको आयोजनामा भएको कार्यक्रममा विभिन्न साहित्यकार तथा पत्रकारहरूले कृतिमाथि समीक्षा गरेका थिए। उपन्यासकार गोतामेको पहिलो कृति ‘नीति’ नारी विषयवस्तु माथि लेखिएको छ।

कृतिमाथि समीक्षा गर्दै साहित्यकार दामोदर पुडासैनी किशोरले उपन्यास लेखन गहन विषय भएको र पहिलो प्रयासमै साहित्यकार गोतामेले महत्त्वपूर्ण काम गरेको बताए । मानिसको जीवनमा साना घटनाक्रमले पनि ठुलो प्रभाव पार्ने विषय उपन्यासमा प्रवेश भएको भन्दै समाज रूपान्तरणमा यसले महत्त्वपूर्ण भूमिका निभाएको उल्लेख गरे। उनले नीति उपन्यास अङ्ग्रेजी साहित्यकार ओहेनरीको कृति पढे जस्तो लाग्ने विचार व्यक्त गरे। उपन्यासलाई अङ्ग्रेजीमा अनुवाद गर्नु पर्ने बताउँदै पुडासैनीले प्रस्तुत भएको भाषा सरल र सहज रहेको बताए।

यस्तै साहित्यकार मणि लोहनीले उपन्यास नीतिमा आधुनिक समाजको झल्को भेटिने बताए। यसमा आम पुरुषको स्वभाव भेटिने र मानिसले खोज्ने प्रेम तथा अपूर्णता यसमा देखिएको बताए । उपन्यासमा हरेक घटनाले अब के हुन्छ भन्ने कौतुहलता उत्पन्न गराउने हुँदा पठनीय रहेको उनको भनाइ थियो । उपन्यासमा नारीले समाजमा सधैँ हार्छन् भन्ने विषय रहेकाले यो यथार्थपरक जस्तो लाग्ने लोहनीले बताए ।

कृतिमाथिको परिचर्चामा डा.शान्तिमाया गिरीले उपन्यासकार गोतामेलाई समाजलाई सूक्ष्म अध्ययन गर्ने साहित्यकारको उपनाम दिँदै पुस्तकले हरेक पाठकलाई उत्सुकता जगाउने बताइन्। हरेक घटनाक्रमले प्रश्न उब्जाउने र जवाफ पनि सँगै भेटिने उनको भनाइ थियो । समाजमा महिला र पुरुषबिच अझै विभेद रहेको र नारीको हक, हित र विद्रोहको प्रतीक बनेर उपन्यास नीति उभिएको बताइन्।

नियात्राकार युवराज नयाँघरेले नीतिको उपस्थिति नेपाली साहित्यमा दर्बिलो भएको तर्क राखे। उनले नारी समाजको कथानकता यसमा समावेश भएको र उपन्यासमा नेपाली समाजको अन्तर्द्वन्द्व भेटिने बताए। पात्रहरू धेरै छन्, विषयवस्तुको उठान ठुलो छ, विद्रोह सानो छ भन्दै यसमा लेखकले ध्यान दिनु पर्ने उनले सुझाव दिए।

समीक्षा गर्दै उपन्यास समाज नेपालका अध्यक्ष शङ्कर भारतीले कृतिले समाज रूपान्तरणमा उल्लेख्य भूमिका खेलेको बताए । यस्तै अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतले नेपाली साहित्यको उपन्यास विधामा महिलाहरूको उपस्थिति महत्त्वपूर्ण रहेको र यसमा मिरा गोतामे र उपन्यास नीतिले अर्को इँटा थपेको बताइन्।

कार्यक्रममा लेखक स्वयंले आफूले देखेका, भोगेका विषयवस्तुलाई निकै चुनौती मोलेर नीति लेखिएको बताउँदै यसले आगामी दिनमा थप जिम्मेवारी बोध भएको उल्लेख गरिन् । आगामी कृतिहरूमा पहिलो कृतिका कमजोरी हटाउँदै अघि बढ्ने उनको भनाइ थियो।

उपन्यास नीति माथि समालोचक प्रमोद प्रधानले नेपाली साहित्यमा नारी समस्यामा केन्द्रित उपन्यासहरू धेरै अघिदेखि लेखिँदै आएको बताउँदै नीति त्यही परम्पराको निरन्तरता भएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली नारीहरूले भोगिरहेका विभिन्न समस्याहरूलाई दृष्टिगत गरेर लेखिएको यस उपन्यासमा लेखकका विचार, अवधारणा र तर्कहरू पनि मिहिन रूपमा आएका छन् ।”

यसै गरी गुन्जनकी निवर्तमान अध्यक्ष एवं साहित्यिक पत्रकार हिरण्यकुमारी पाठकले लेखकको पहिलो लेखन नै उपन्यास रहेकोमा खुसी व्यक्त गर्दै अब नेपाली साहित्यमा महिला लेखकहरूको बाक्लो उपस्थिति रहेको भनाई थियो ।

कार्यक्रम धन्यवाद ज्ञापन गर्दै साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ सापसबारे चर्चा गर्दै निकट भविष्य मै नेपाल भारत साहित्य महोत्सवको आयोजना गरिने जानकारी गराएका थिए। कार्यक्रम मुरारी सिग्देल आदिले समीक्षा गरेका थिए।

कार्यक्रम साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा दायित्व प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, नेपाल प्रेस काउन्सिलकाल सदस्य पत्रकार ठाकुर वेलबासे, अङ्कित खड्का, उपन्यासकार राधा पौडेल, साहित्यकार कल्पना खरेल, नेपाल भारत साहित्य महोत्सवकी सदस्य कवि पारूँ तिमिल्सिना, उपन्यासकार क्रान्ति पराजुली, पत्रकार इलु शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको कार्यसमिति सदस्य डी. आर. राई, आख्यानकार एवं पत्रकार अश्विनी कोइला, पत्रकार एवं लेखक ज्ञानमणि नेपाल कालो टोपी, प्रा. डा. सुनिल अधिकारी, पत्रकारहरू सुजन तिमिल्सिना, सङिता सारथि, सर्जकहरू रजनी खड्का, बबिता ढुङेल, सरिता दाहाल, अप्सरा गोतामे, युगीन बोगटीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया