अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३ | Colorodo: 07:48

चोभारमा सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारीमा

बिआरटीनेपाल २०७८ असोज १७ गते ८:०६ मा प्रकाशित

काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ ।नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाहको निर्माणका काम सम्पन्न भएकाले बन्दरगाह सञ्चालनको लागि तयारी गरिरहेको बताउनुभयो ।

कार्यकारी निर्देशक गजुरेलले बन्दरगाहमा सञ्चालनका लागि भन्सार कार्यालय, क्वारेन्टीन, बैंक, सुरक्षा निकाय लगायतका सम्बन्धीत निकायसँग छलफल भइरहेकाले चाँडै नै पूर्ण तयारीका साथ सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । सुख्खा बन्दरगाह सुरु भएसँगै व्यवसायीहरुले सिधै काठमाडौंमा सामान ल्याउन सक्ने र छिट्टै उपभोक्ताको माझमा पुर्याउन सकिने तथा आयात, निर्यातको मुल्य घटाउन सकिने उहाँले उल्लेख गर्नुभयो ।

काठमाडौंको चोभारस्थित २२० रोपनी जग्गाको क्षेत्रफलमा १ अर्ब ६० करोड रुपैयाँको लगानीमा सुख्खा बन्दरगाह बनेको हो । यसभित्र २ वटा गेट, ३ वटा धर्मकाँटा, भन्सार, क्वारेन्टीन र प्रशासनिक गरि ३ वटा भवन, ३ वटा ठूला गोदाम, चेकजाँच गर्ने ३ वटा खुल्ला भवन, ५०० वटा कन्टेनर राख्न सक्ने कन्टेनर यार्ड, ५०० ट्रक व्यवस्थापन गर्न सकिने पार्किङ स्थल निर्माण सम्पन्न भइसकेको छ ।

भारत र चीनसँग सिमा जोडिएको जिल्लाहरुमा मात्रै सुख्खा बन्दरगाह भएपनि भित्री जिल्लामा भने चोभारको सुख्खा बन्दरगाह पहिलो हो । वीरगञ्ज, वीराटनगर, भैरहवा, काँकडभिट्टा, तातोपानीमा सुख्खा बन्दरगाह सञ्चालनमा छन् भने रसुवा र नेपालगञ्जमा पनि निर्माणाधिन अवस्थामा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू