अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

४६ वर्ष अघि चोरिएको ऐतिहासिक उमा महेश्वरको मूर्ति अमेरिकाको डेनभर म्युजियमबाट फिर्ता

बिआरटीनेपाल २०७८ भदौ २९ गते १३:२७ मा प्रकाशित

कोलोराडो । कोलोराडोस्थित डेन्भर आर्ट म्युजियमले अमेरिकाका लागि नेपाली राजदूतावासलाई उमा महेश्वरको मूर्ति फिर्ता दिएको छ । म्युजियमका प्रतिनिधिले हिजो सोमबार अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई उक्त मूर्ति फिर्ता दिएको हो ।

उक्त ऐतिहासिक मूर्ति नेपालको पाटनबाट चोरी गरी अमेरिका तस्करी गरिएको थियो । डेनभर आर्ट म्युजियमले उक्त मूर्ति सन् १९७५ देखि प्रदर्शनीमा राखेको थियो ।

चोरी भएको ऐतिहासिक मूर्ति फिर्ता गरेर सहयोग गरेकोमा राजदूत खतिवडाले म्युजियम प्रशासनलाई धन्यवाद ज्ञापन गरे । उनले उक्त मूर्ति त्यसको वास्तविक स्थापनमा लगिने बताए ।

राजदूत डा. खतिवडाले म्युजियम प्रशासनको यस्तो सहयोग सांस्कृतिक सम्पदा संरक्षण गर्ने दुई देशबिचको महत्त्वपूर्ण सहकार्य भएको बताए । यस्तो कार्यबाट नेपाल र अमेरिकाको लामो मैत्री सम्बन्ध र दुई देश बिचको जनताबिचको सम्बन्ध थप मजबुत हुने उनको भनाइ छ ।

मूर्ति पौने ३१ इन्च अग्लो छ । मूर्तिमा शिव, पार्वती, उनीहरूका सन्तान कुँदिएको छ । उक्त मूर्ति छिट्टै नेपाल लगिने र पूर्वस्थानमा राखिने बताइएको छ । मूर्ति फिर्ता गर्ने कार्यक्रममा दूतावासका सेकेन्ड सेक्रेटरी उत्तम घिमिरे र थर्ड सेक्रेटरी राधारमण दुबे उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू