अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४४ | Colorodo: 00:59

दुर्गमका विद्यार्थीकाे दुर्दशा, दैनिक ४ घन्टा ४० मिनेट रूखमै बसेर अनलाइन कक्षा

बिआरटीनेपाल २०७८ भदौ २७ गते १:१९ मा प्रकाशित

हाडेको रूख, त्यही रूखमा करमको भर्याङ ठडिएको छ । रूख चढ्न सात खुड्किलो पार गर्नुपर्छ । उनले रूख चढ्नसाथ रूखमै किताबसहितको झोला झुन्ड्याउँछन् । छाता एक छेउमा राख्छन् । त्यसपछि गुन्द्री बिछ्याउँछन् । लगत्तै दुईवटा बर्को रूखमै टाँग्छन् । यत्ति गरेपछि अनलाइन कक्षा लिन बस्छन् खाेटाङकाे हलेसी तुवाचुङ नगरपालिकाका धनकुमार मगर ।

बर्कोले घाम हल्का छल्छ । टाँगिएका बर्को सामान्य हावा चल्दासमेत हल्लिने भएकाले शीतल हुन्छ । पानी पर्यो भने हतार–हतार घर फर्कनुपर्ने बाध्यता छँदै छ । पढ्ने ठाउँबाट घर ओहोर–दोहोर गर्न १० मिनेट लाग्छ । आफू होइन, किताब पो भिज्ला कि भनेर छाता बोक्न बिर्संदैनन् उनि । सरस्वती माध्यमिक विद्यालय अर्खौलेमा अध्ययनरत कक्षा १० का विद्यार्थी धनबहादुर मगरले बिहान १० देखि दिउँसो २ः४० बजेसम्म रूखमै बसेर अनलाइन कक्षा लिन्छन् ।

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले सिम्लेको खर्कनिवासी मगर घरमा मोबाइल नेटवर्कले काम नगरेपछि रूखमै बसेर अनलाइन कक्षा लिन बाध्य छन् । एक दिनको कक्षा लिन २०० एमबीको डाटा चाहिन्छ । २०० एमबीको डाटा लिन २२ रुपैयाँ लाग्छ । आर्थिक अवस्था कमजोर भए पनि अध्ययनलाई निरन्तरता दिनु नै छ । दैनिक २२ रुपैयाँ खर्चिनुको पीडा उनलाई मात्रै थाहा होला । २२ रुपैयाँ जुटाउँदाको हैरानी भनिसाध्य छैन । जिन्दगी गाउन नमिल्ने गीतजस्तै बने पनि उनले हरेस खाएका छैनन् ।

पाँच वर्षअघि १० हजार रुपैयाँमा किनेको सामसुङ मोबाइल बिग्रनु र अनलाइन कक्षा सुरु हुँदै छ है भनिनु एउटै समय पर्यो । उनले हतार–हतार अर्खौले बजार पुगेर ३ हजार ५ सय रुपैयाँ खर्चेर मोबाइल त बनाए तर घरमा मोबाइलमा नेटवर्क हुँदैनथ्यो । अब के गर्ने, परेन फसाद । तर, उनी पटक्कै आत्तिएनन् ।

दुःखमा रमाउनु पनि त कला हो । त्यही कलाले उनलाई अध्ययन गर्ने भोक जगाएको हो । ‘धनकुमार भाइको उत्साहप्रति मेरो उच्च सम्मान छ । रूखमा अनलाइन कक्षा लिएको दृश्यले सिकारुलाई सिकाउन मलाई थप भोक जगाउने हौसला मिलेको सरस्वती माविका निमित्त प्रधानाध्यापक नवीन चाम्लिङले बउनु भयाे  । उहाँले जसले गर्दा धनकुमार भाइजस्ता थुप्रै सिकारुले पनि नयाँ कुरा सिक्न सधैं उत्प्रेरित होऊन् भन्ने आफूलाइ लागेकाे बताउनु भयाे । मैले जाने–बुझेका, मसँग भएका ज्ञान, सीप, अनुभव धनकुमारजस्ता विद्यार्थीलाई बाँड्न पाउँदा असाध्यै खुसी छु । शिक्षा अधिकृतको जागिर छाडेर शिक्षण पेसामा रमाउनु पाउँदा आनन्द अनुभूति भएकाे उहाँले बताउनु भयाे ।

सरस्वती माविका निमित्त प्रधानाध्यापक चाम्लिङले धनकुमार मगरले रूखमा पढ्ने ठाउँ बनाएको फोटो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेपछि ‘भाइरल’ बनेको थियो ।

बाध्यतासँग सिँगौरी खेल्दै रूखमा बसेर पढ्ने ठाउँ बनाउनुको पीडा त्यत्तिकै तीतो छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा रहेको सरस्वती माविमा २०७८ साउन २४ बाट अनलाइन कक्षा सुरु भयो । बिग्रेको मोबाइल बनाए पनि घरमा नेटवर्क हुँदैनथ्यो । उता, अनलाइन कक्षा सुरु भइसकेको थियो । यता, उनी नेटवर्कको खोजीमा थिए । ‘सहपाठीले अनलाइन कक्षा लिन थालिसक्दा पनि आफुले लिन नसकेकाे उनले बताए । साथीहरूले आज यति विषय पढाइ भयो । आज उति विषय पढाइ भयो भन्न थाले । आफुचाहिँ नेटवर्क कहाँ टिप्ला भनेर उपयुक्त ठाउँको खोजीमा भाैतारीएकाे उनले बताए  ।

कहाँ नेटवर्क राम्रो समात्ला भनेर खोजिहिँडेको सातौं दिन उनी खुसीले तीन हात उफ्रे । अहिले पढ्ने ठाउँ बनाएको रूखमा नेटवर्क राम्रो समात्यो । नेटवर्कले काम गर्ने भएपछि पढ्ने ठाउँ बनाउने निष्कर्षमा पुगे । पढ्ने ठाउँ बनाउन सालको दुई, सतिबयर र बाँसका एक/एक गरी चारवटा बलौ तयार पारे । रूखकै हाँगामा चार बलौ कसे । चोया, बाबियोको डोरी र भर्लाको लोक्ता निकालेर बनाइएको डोरीले बाँधेपछि बलौ बन्धिलो भयो । त्यसमाथि दुई घाना बाँसको भाटा बनाएर चोयाले कसे । कहिलेकाहीं अडेस लाग्न दुईपट्टि सालकै बलौ तेस्र्याए । अब एउटा खाटजत्रो पढ्ने ठाउँ तयार भयो । पाँच घन्टामा एक्लैले सबै काम पूरा गरेकाे उनले सुनाए । घरमा आमा र भाइमात्रै भएकाले उनलाई सघाउने कोही थिएनन् ।

आफैंले बनाएको पढ्ने ठाउँमा बसेर अनलाइन कक्षा लिन पाउँदा धनकुमार मगर कम्ती छैनन् । उनी खुसी भए पनि उनीजस्ता धेरै साथीले अनलाइन कक्षा लिन सकेका थिएनन् ।  अनलाइन कक्षाले अभिभावक र विद्यार्थी मारमा परेका छन् । ‘अधिकांश विद्यार्थीसँग एन्ड्रोइड मोबाइल छैन, सरस्वती मावि अर्खौले विद्यालय व्यवस्थान समिति अध्यक्ष किशोरकुमार श्रेष्ठले बताउनु भयाे ।  विद्यार्थीसँग मोबाइल नभए पनि अभिभावकसँग त छ । तर, वडाका सबै ठाउँमा नेटवर्क समात्दैन । त्यसैले सविद्यालयका ३५ प्रतिशत विद्यार्थीमात्रै अनलाइन कक्षामा सहभागी भएका उहाँकाे भनाइ छ  ।

हलेसी तुवाचुङ नगरपालिकाका नौ माध्यमिक विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका छन् । दुर्छिम माध्यमिक विद्यालय दुर्छिम, महेन्द्रोदय माध्यमिक विद्यालय हलेसी र सरस्वती माध्यमिक विद्यालयले पहिलो चरणमा अनलाइन कक्षा सञ्चालन गरे । बाँकी सात माविले भदौ दोस्रो साताबाट सुरु गरेका हलेसी तुवाचुङ नगरपालिका शिक्षा शाखा प्रमुख पदम कार्कीले जानकारी दिनु भयाे । एकरदुई विद्यालयबाहेक अनलाइन कक्षा प्रभावकारी देखिएन । अनलाइन कक्षाका लागि डाँडाडाँडा दौडिनु र धनबहादुर मगरले जस्तै पढ्नुपर्ने समस्या भएकाले नै आगामी असोज ३ गतेबाट नगरका सबै विद्यालय सञ्चालनमा ल्याउने निर्णय भएकाे उहाँकाे भनाइ छ ।

प्रतिक्रिया