अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५३ | Colorodo: 21:08

भारतमा सामुद्रिक आँधीका कारण मुम्बई छेउको समुद्रमा ४ सयभन्दा धेरै मानिस रोकिए

बिआरटीनेपाल २०७८ जेठ ३ गते ७:५५ मा प्रकाशित

भारतमा सामुद्रिक आँधीका कारण मुम्बई नजिकको समुद्रमा ४ सय जनाभन्दा धेरै रोकिएका छन् । आँधीका कारण पानी जहाज तथा डुङ्गाहरू समु्द्रमै रोकिँदा उनीहरू रोकिएका बीबीसी हिन्दीले जनाएको छ । यस्तै मुम्बईको विमानस्थल र मोनो तथा मेट्रो रेल सेवा पनि बन्द भएका छन् । मुम्बईमा एक सय ७६ किलोमिटर प्रतिघण्टाका दरमा आँधी आइरहेको त्यहाँको मौसम विभागले जनाएको छ । विभागले हावाहुरीसहित ठूलो पानी पर्ने चेतावनी जारी गरेको छ ।

अरब सागरमा उत्पन्न भएको चक्रवात आँधीका कारण भारतको गुजरात, गोवा, कर्नाटक, केरला, महाराष्ट्र लगायतका राज्य नराम्रोसँग प्रभावित भएका छन् । गुजरातको समुद्री तटबाट झण्डै डेढ लाख जना मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । गुजरातमा आज बेलुकी आँधीको बढी प्रभाव पर्ने बताइएको छ । प्रभावित क्षेत्रमा तीव्र गतिको हावासहित भारी वर्षा पनि भइरहेको छ ।

भारतीय मौसम विभागले चक्रवातको कारण तटीय क्षेत्रमा ठूलो असर पुग्न सक्ने भन्दै अलर्ट जारी गरेको छ । भारतीय गृह मन्त्री अमित शाहले प्रभावित राज्यमा उद्धारका लागि भइरहेको तयारीको अनुगमन गर्दै अस्पतालमा कोरोना भाइरसका सङ्क्रमितलाई ध्यानमा राख्दै बिजुली र मेडिकल अक्सिजनजस्ता अत्यावश्यक कुराहरू सञ्चित गरेर राख्न निर्देशन दिनुभएको छ । चक्रवातका कारण गुजरातमा कोरोना भाइरसविरुद्धको खोप अभियान पनि दुई दिनका लागि स्थगित भएको छ । भारतको जल सेनालाई उद्धार कार्यमा खटाइएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू