अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

विद्यालय बन्द नगर्न प्याब्सनको आग्रह

बिआरटीनेपाल २०७७ चैत २९ गते ८:२६ मा प्रकाशित

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले सरकारलाई विद्यालय बन्द नगर्न आग्रह गरेको छ । प्याब्सनले आज विज्ञप्ति जारी गर्दै अनलाइन कक्षाबाट सबै विद्यार्थीलाई समेट्न नसकिने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी विद्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ ।

सङ्क्रमण बढेर विद्यालय बन्द गर्नुपर्ने आवश्यक परे सम्बन्धित विद्यालय वा पालिकामा मात्र केही निश्चित समय विद्यालय बन्द गरेपनि अन्य ठाँउमा स्वास्थ्य मापदण्डसहित विद्यालय सञ्चालन गर्नुपर्ने प्याब्सनले माग राखेको छ । प्याब्सनले जारी गरेको विज्ञप्तिमा आवश्यकता अनुसार शैक्षिक संस्थाहरुमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेशन कक्ष, भौतिक दूरीको व्यवस्थापन गरी सम्बन्धित निकायको सहयोग र समन्वयमा काम गर्नु उपयुक्त हुने उल्लेख छ ।

विज्ञप्ति मार्फत प्याब्सनले बालबालिकालाई सङ्क्रमणबाट जोगाउन मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, भौतिक तथा सामाजिक दूरीको अवलम्बनका साथै स्वास्थ्यवर्धक खानपिन गराउने जस्ता कार्यहरुमा सहयोग र्पुयाइदिन अभिभावकलाई अनुरोध गरेको छ ।

सामुदायिक विद्यालयमा मात्र नभएर निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पनि ५० प्रतिशत क्षेत्र अनलाइन शिक्षाले समेट्न नसक्ने कुरा विगतको लकडाउनमा अनुभव गरिएको भन्दै प्याब्सनले अब विद्यालय बन्दको विकल्प खोज्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू