अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२७ | Colorodo: 05:42

नेपाली जनसम्पर्क अधिवेशन तयारी समिति अमेरिकाको भर्त्सना विज्ञप्ति

बिआरटीनेपाल २०७७ फागुन ७ गते ८:२९ मा प्रकाशित

संसद् विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा फाल्गुन ४ गते बैतडी जिल्लाको डिलासैनीमा नेपाली काँग्रेसको शान्तिपूर्ण विरोध कार्यक्रम भइरहेको वेलामा प्रधानमन्त्री के.पी. शर्मा ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको साङ्घातिक आक्रमणको नेपाली जनसम्पर्क समिति अमेरिका घोर निन्दा र भर्त्सना गर्दछ ।

यो घटनाले संविधानले प्रदत्त गरेको शान्तिपूर्ण नारा जुलुस, विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार माथि सत्तारूढ नेकपाको स्थानीय पार्टी पङ्क्तिले ठाडो र निर्मम प्रहार गरेको छ । नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई खोसेर लोकतन्त्रलाई नै मटियामेट पार्न खोज्ने सर्वसत्तावादी सत्तारूढ नेकपाको यस्ता उग्रवादी चरित्र र कदम निन्दनीय भएको हाम्रो ठहर छ । त्यसैले संविधान र कानुनको धज्जी उडाउँदै, शान्तिपूर्ण भइरहेको कार्यक्रमलाई जथाभाबी आक्रमण गरी बिथोल्न खोज्ने दोषीलाई अबिलम्ब पक्राउ गरी कारबाही गर्न नेपाली जनसम्पर्क समिति अमेरिका सरकारसँग जोडदार माग गर्दछ । आक्रमणबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य नेता एन.पी.साउद, युवा नेता शैलेश विष्ट, नेविसंघका पूर्व केन्द्रीय सदस्य सुमन केसी र नेविसंघका नेता मदन राज उपाध्याय घाइते भएको प्रति हामी चिन्तित भएका छौ । उहांहरु सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

शान्तिपूर्ण भइरहेको कार्यक्रममा एक्कासि र अराजक ढङ्गले गरेको साङ्घातिक आक्रमणलाई निडर र साहसीकासाथ प्रतिपाद गर्नुहुने घाइते नेता गण लगायत नेकाका केन्द्रीय सदस्य डिला संग्रौला, नेका बैतडीका सभापति नरेन्द्रजंग थापा, नेविसंघका पूर्व सभापति नैनसिंह महरका साथै स्थानीय नेता एवं कार्यकर्ता र तरुण साथीहरू प्रति हामी सम्मान प्रकट गर्दछौ । यहॅाहरू जस्तै नेपाली काँग्रेसका लाखौँ फ्रिडम फाइटर नेता एवं कार्यकर्ताका कारण नेपालमा सधैँ लोकतन्त्र जीवित रहने कुरामा हामी विश्वस्त छौँ । अन्तमा यस्ता उग्रवादी चरित्र निरङ्कुश प्रवृत्ति, कार्यशैली र व्यवहारको सर्वत्र विरोध गर्दै, संविधान र लोकतन्त्रको रक्षार्थ लोकतान्त्रिक शक्ति र विश्वभर छरिएर रहेका आम लोकतन्त्रवादी नेपालीलाई एकजुट भएर आवाज बुलन्द पार्न हामी विनम्र आग्रह गर्दछौँ । धन्यवाद, जय नेपाल !

मुनीन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क अधिवेशन
तयारी समिति अमेरिका

प्रतिक्रिया