अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४५ | Colorodo: 22:00

म्यानमारमा सेनाको अपिललाई बेवास्ता गर्दै विभिन्न सहरमा प्रदर्शन जारी

बिआरटीनेपाल २०७७ माघ ३० गते ७:२१ मा प्रकाशित

म्यानमारमा सैनिक ‘कू’ को विरोधमा प्रदर्शन जारी छ । म्यानमारका नागरिकहरूले सेनाले शान्तिपूर्वक रहन गरेको आग्रहलाई अस्वीकार गरेका छन् । शुक्रवार एक पटक फेरि म्यानमारका नागरिकले विभिन्न सहरमा विरोध प्रदर्शनको आयोजना गरे । यसअघि म्यानमारको युनियन दिवसका अवसरमा जनरल मिन आङ ह्लाइङले कथित विघटनलाई रोक्नका लागि एकता बनाइराख्न आह्वान गर्नुभएको थियो ।

तर शुक्रवार त्यहाँका नागरिकहरु नजरबन्दमा राखिएकी नेतृ आङ सान सुकीलाई रिहाइ गर्न माग गर्दै सडकमा आएका छन् । स्थानीय मिडिया रिपोर्टहरूमा केही ठाउँमा रबरको गोली चलाइएको कुरा पनि बताइएको छ । बिहीवार लाइभ टीभी प्रसारणको माध्यमबाट म्यानमारका नागरिकलाई सम्बोधन गर्दै जनरल आङले भन्नुभएको थियो, ‘जसले प्रदर्शन गरिरहेका छन्, उनीहरूलाई उक्साइएको छ । म उनीहरूलाई देश निर्माणमा लाग्न अपिल गर्दछु ।’

युनियन दिवसमा म्यानमारको सेनाले ५५ विदेशी कैदीसहित २३ हजारभन्दा धेरै कैदीलाई रिहा गर्ने आदेश दिएको थियो । आफ्नो भाषणका क्रममा बिहीवार जनरल मिन आङ ह्लाइङले भन्नुभएको थियो, ‘कोरोना महामारी अझै सकिएको छैन, नागरिकहरु आफ्नो घरमा रहनुस् ।’

जनरल मिनले महामारीको हवाला दिँदै नागरिकहरुलाई प्रदर्शनमा सहभागी हुनबाट रोक्न खोजे पनि शुक्रवार मानिसहरुले हेल्मेट र मास्क लगाएर विरोध प्रदर्शन गरेका हुन् । म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका धेरै नेतालाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो । सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर आफै चुनाव गराउने भन्दै एक वर्षका लागि सङ्कटकालसमेत घोषणा गरेको छ ।

गएको नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै सेनाले असन्तुष्टि जनाउँदै आएको थियो । म्यानमारमा भएकौ सैनिक ‘कू’ को विभिन्न देशले विरोध जनाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू