अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

कोरोनाका कारण जागिर गुमाएका पत्रकारलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न माग

बिआरटीनेपाल २०७७ कार्तिक १३ गते ७:१७ मा प्रकाशित

नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र बेतलवी बिदामा रहेका श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेललाई सुझावपत्र बुझाउँदै महासंघले श्रमजीवी पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चारमाध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनसमेत माग गरेको छ ।

सञ्चारगृहहरुलाई पत्रकारको पारिश्रमिक भुक्तानी र सञ्चारमाध्यमको सञ्चालनका लागि आवश्यक परेमा सहुलियतपूर्ण ऋण व्यवस्था गर्नुपर्ने र ऐन कार्यान्वनयन नगर्ने सञ्चारगृहलाई सरकारका तर्फबाट उपलब्ध हुँदै आएका सुविधा, सहुलियत र विज्ञापन उपलब्ध नगराउन पनि महासंघले आग्रह गरेको छ ।

सुझावपत्र बुझ्दै अर्थमन्त्री पौडेलले महासंघले दिएका सबै सुझावहरु उचित रहेकाले कार्यान्वयनका लागि मन्त्रालको टिम र अन्य सरोकारवालाहरुसँग छलफल गर्ने बताउनुभयो ।महासंघले दिएका सुझाव सजाउने चिज नभएको उल्लेख गर्दै उहाँले सबै सुझावहरु एकैपटक लागू गर्नसक्ने अवस्था नभएपनि वर्गीकरण गरी तत्कालीन र दीर्घकालीनरुपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो ।

महासंघले दुर्घटना बिमालाई थप विस्तार गरी स्वास्थ्य बिमा र जीवनबिमाको व्यवस्था गर्नपनि अग्रह गरेको छ ।महासंघमा सदस्यता नवीकरण भएसँगै स्वतः बिमा हुने व्यवस्था गर्न महासंघले आग्रह गरेको छ ।यसैगरी, सरकारी अस्पताल र स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने भनिएको ५० प्रतिशत छुटलगायतका पूर्वनिर्णयहरु पनि कार्यान्वयन गर्न महासंघले आग्रह गरेको छ ।

पत्रकार कल्याण कोषबाट यही आर्थिक वर्षदेखि लागू हुनेगरी ज्येष्ठ पत्रकार जीविकोपार्जन भत्ता वितरण गर्न महासंघले आग्रह गरेको छ । विज्ञापन ऐनमा भएको व्यवस्थाअनुसार तत्काल सबै प्रकारका सञ्चारमाध्यमले पाउने गरी समानुपातिक विज्ञापन प्रणाली लागू गर्नुपर्ने र स्थानीय विज्ञापनमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पनि महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया