अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२९ | Colorodo: 18:44

भारत–चीन सीमा समस्यामा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको चेतावनी

बिआरटीनेपाल २०७७ कार्तिक १२ गते ७:३३ मा प्रकाशित

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चीनबारेमा दिनुभएको अभिव्यक्तिप्रति चीनले आलोचना गरेको छ । भारत भ्रमणको क्रममा भारतका विदेशमन्त्री एस जयशङ्कर र रक्षामन्त्री राजनाथ सिंहसँगको भेटघाटपछि अमेरिकी विदेशमन्त्री पोम्पियोले चीनले प्रजातन्त्र, कानुनी शासन र पारदर्शीतालाई नमानेको बताउनुभएको थियो ।

अमेरिकी विदेशमन्त्री पोम्पियोको भनाइ सार्वजनिक भएपछि भारतमा रहेको चिनियाँ दूतावासले विज्ञप्ति निकालेर भारत र चीनबीचको सीमासम्बन्धी विषयमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् । अमेरिकी अधिकारीहरुले बारम्बार चीनविरुद्ध आरोप लगाइरहेको भन्दै दूतावासले यो कुटनीतिको आधारभूत सिद्धान्तको विपरीत भएको बताएको छ ।

विज्ञप्तिमा भारत र चीनबीचको सीमा विवाद दुई पक्षीय भएको र यसलाई समाधान गर्न वार्ताहरु भइरहेको भन्दै विवाद समाधान गर्न भारत र चीन सक्षम रहेको उल्लेख छ ।चीनसँग चर्को सीमा तनावका बीच भारत र अमेरिकाले भू–उपग्रहमार्फत् प्राप्त हुने संवेदनशील तथ्याङ्क एक अर्कासँग बाँड्ने सैन्य सम्झौता गरेका छन् । त्यस्तो तथ्याङ्कको सहयोग क्षेप्यास्त्र, ड्रोन तथा अन्य निसानाहरूमा ठिक निसाना लगाउन महत्त्वपूर्ण हुने बताइएको छ ।

दुई देशबीच सीमा तनाव रहिरहेको बेला सैन्य सम्झौता हुनुको साथै अमेरिकाले चीनबारे प्रतिक्रियासमेत दिएपछि चीनले कडा शब्दमा आलोचना गरेको हो । भारत र अमेरिकाले मङ्गलबार सम्झौता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू