अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९ | Colorodo: 04:24

भारतमा तीन महिनापछि मंगलबार सबैभन्दा थोरै संक्रमित

बिआरटीनेपाल २०७७ कार्तिक ११ गते ६:५३ मा प्रकाशित

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या पछिल्लो तीन महिनामा मंगलबार सबैभन्दा थोरै देखिएका छन् ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मंगलबार ४० हजारभन्दा थोरै संक्रमित भेटिएका हुन् ।केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घन्टामा भारतमा ३६ हजार ४७० जना संक्रमित भएको जनाएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ७९ लाख ४६ हजार ४२९ पुगेको छ ।

त्यसैगरी, भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख १९ हजार ५०२ जनाको मृत्यु भएको छ । तीमध्ये ४८८ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको हो ।कोरोनाभाइरसबाट संक्रमित भएरपनि अहिले संक्रमणमुक्त भइसकेकाहरुको संख्या भारतमा ७२ लाख एक हजार ७० रहेको अधिकारीहरुले जनाएका छन् ।

सरकारी निकायले भारतमा कोरोनाभाइरसबाट मुक्त भएकाको अनुपात ९०.६२ प्रतिशत रहेको पनि जानकारी दिएका छन् ।त्यसैगरी, कोरोनाभाइरसबाट संक्रमित भएकाहरुमध्ये १.५० प्रतिशत मानिसकोमात्रै मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाभाइरसबाट अहिलेपनि संक्रमित अवस्थामै रहेकाको संख्या पनि घटेर सात लाखभन्दा कम भएको छ । अधिकारीहरुकाअनुसार कुल छ लाख २५ हजार ८५७ जना अहिलेपनि संक्रमित अवस्थामै रहेका छन् । भारतमा केही हप्ताअगाडिसम्म कोरोनाभाइरसबाट संक्रमित र मृतकको संख्या दिनप्रतिदिन बढ्दै गएकोमा पछिल्लो केही हप्ताअगाडिदेखि दैनिकरुपमा घट्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू