अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३३ | Colorodo: 21:48

गौरी महाकाव्य हो

हरिप्रसाद काफ्ले "शैव" २०७७ भदौ २१ गते १०:५३ मा प्रकाशित

तिम्रा ती पदचापले धरतीको माटो सुगन्धी भयो ।
तिम्रा अक्षरले र ती वचनले हावा स्वयम् धन्य भो ।।
बाटो त्यो बनको थियो कुसुमको भाषा बुझी लम्कियौ ।
गौरीको गुणगानले कलमले नारी चिनाई गयौ ।। १।।

छैनन् माधव ती शरीर रूपमा हो सत्य यो बाध्यता ।
मैले भन्न कहाँ सकेँ र अहिले यो दर्दले सत्यता ।।
आँखाका दहमा नुहाउन सके के हुन्न भन्दै थियौ !
गौरीका गुणगानले कलमले नारी चिनाई गयौ!! २।।

सिङ्गो राष्ट्र उठाउने र कविको सामर्थ्य यस्तो दियौ ।
नेपाली घरमा कवि कलमको माया बसाई गयौ।।
जस्तो जून उदाउँदा जब यहाँ हाँस्छन् यी पाखा सयौँ ।
त्यस्तै जून तिमी बसेर हिउँमा साहित्य समृद्ध यो ।। ३।।

त्यो सेतो शशि साँझमा सगरमा सन्ध्या नभै आउँछ ।
तिम्रो बास छ शान्तिको खबर त्यो यै चाँदनी ल्याउँछ ।।
पढ्नेछन् अब गाउँका युवतीले गौरी यहाँ जो दियौ।
बुझ्नेछन् अब काव्यका रसिकले गौरी महाकाव्य हो ।।४।।

गङ्गा ती बहँदा हरेक बुँदमा भर्छन् नयाँ जीवनी ।
आमा ती घरमा र देश परमा माया समानै दिने।।
माया मोह नभै ननाद मनको यो गौरीमा पोखियो ।
छातीभित्र छ जे लुकेन अब यो गौरी महाकाव्य हो ।।५।।

के खोज्छौ अब गीतमा कविजीको त्यो दुःख गाएपछि।
नेपाली घर गाउँका कहर ती सम्पूर्ण पाएपछि ।।
सारा सार खिचेर काव्य गुण ती पूर्वीय आदर्शको ।
मीठो धुन् बजाउने लय स्वयम् गौरी महाकाव्य हो ।।६।।

टारीका अनि फाँटका चहकिला ती जुन्किरीका कुरा ।
नानीका अनि बाउका विरहका ती सम्झनाका कुरा।।
कल्ले गाउन लाइयो र पहिला कुन शोकमा गाइयो!
पढ्दा शीर्षक यी म भन्छु मनको गौरी महाकाव्य हो ।।७।।

मोती टिलपिल गर्दछन् नयनमा पढ्ने सबै पाठक ।
औला चाल बिराउँछन् नि बिचरा सङ्गीतका साधक ।।
मान्छे मर्दछ सत्य हो तर यहाँ द्यौता बोले झैँ छ यो ।
पढ्दा शीर्षक यी म भन्छु मनको गौरी महाकाव्य हो ।। ८।।

छन्द : शार्दूलविक्रीडित
बोष्टन, अमेरिका

प्रतिक्रिया