अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४२ | Colorodo: 18:57

चीनसँग तनाव बढेका बेला लिपुलेकसहितका सीमा क्षेत्रमा भारतीय सैनिकको विशेष निगरानी

बिआरटीनेपाल २०७७ भदौ १८ गते ६:०८ मा प्रकाशित

चीनसँग सीमा क्षेत्रमा तनाव बढ्दै गएका बेला भारतले चीन, नेपाल र भुटानसँगको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन सुरक्षा निकायलाई आग्रह गरेको छ ।पूर्व लद्दाखमा अगस्ट २९ र ३० पुनः भारत र चीनका सेनाबिच झडप भएको थियो । सो क्षेत्रमा तनाव बढिरहेका बेला अरु सीमा क्षेत्रमा पनि गतिविधि बढ्न सक्ने भन्दै भारतले सचेत बनाएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

विशेषगरी नेपाल–भारत–चीनको त्रिदेशीय सीमासँग नजिकको क्षेत्र लिपुलेकमा आफ्ना सैनिकलाई विशेष चनाखो भइ नजर राख्न भारतले भनेको खबरमा उल्लेख छ ।लद्दाखको सीमा क्षेत्रमा तनाव बढेकाले लिपुलेक क्षेत्रमा पनि त्यस्तै गतिविधि हुन सक्ने भन्दै भारतको गृह मन्त्रालयले सेनालाई सचेत बनाएको उल्लेख छ ।

अरुणाञ्चल प्रदेशसँग जोडिएको सीमा क्षेत्रमा भारतले गएको जुनदेखि नै थप सैनिक तैनाथ गरेको खबर छ । तर सेनाले भने नियमित गस्तीकै लागि सेना तैनाथ भएको जनाएको छ ।लद्दाखसँग सीमा जोडिएको क्षेत्रमा भएको पछिल्लो भिडन्तमा आफ्ना कुनै पनि सैनिक नमारिएको भारतले जनाएको छ । यसअघि जुन १५ मा भएको भिडन्तमा २० भारतीय सैनिक मारिएका थिए । भारतले भुटानसँगको सीमा क्षेत्रमा पनि सैनिकलाई चनाखो हुन भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू