अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 08:02

दुबईमा अलपत्र परेका २ सय बढी नेपाली स्वदेश फर्किए

बिआरटीनेपाल २०७७ भदौ ७ गते ६:२६ मा प्रकाशित

दुबईमा अलपत्र परेका २ सय ६४ जना नेपाली आज स्वदेश फर्किएका छन् ।नेपाल फर्किन भनेर दुबई विमानस्थल पुगेका तर सरकारको निर्णय भन्दै यात्रुलाई नलिएरै जहाज रित्तै फर्किएपछि गएको सोमबार दुबईमा अलपत्र परेकाहरु आज नेपाल एअरलाइन्सको वाइड बडी ए ३३० जहाजमार्फत नेपाल फर्किएका हुन् । आजको उडान पनि तोकिएको समय भन्दा झण्डै डेढ घण्टा ढिला भएको छ ।

यो उडानमा नेपाल जानका लागि २ सय ७० जनाले टिकट काटेका थिए । टिकट लिएकामध्ये ६ जना कागजात नमिलेका कारण नेपाल फर्किन नपाएको नेपाल एअरलाइन्सको यूएई हेर्ने आधिकारिक एजेन्सी एन्टाका साजु पौलले उज्यालोलाई जानकारी दिनुभयो । यूएईमा ज्यान गुमाएका लुक बहादुर कुँवर र करेन्ट लागेर ज्यान गुमाएका रुपन्देही मझुवाका कृष्णबहादुर खड्काको शव पनि त्यस्तै आजकै उडानमार्फत नेपाल पठाइएको छ ।

कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले विदेशबाट फर्कनेका लागि होटल क्वरेण्टीन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेपछि त्यही पत्रको आधारमा पर्यटन मन्त्रालयले विदेशमा अलपत्र नेपाली फर्काउन तय गरेको चार्टर्ड उडान स्थगन गरेका कारण यूएईमा उद्धारको लागि पुगेको जहाज रित्तै फर्किएको थियो ।

कोरोनाको पीसीआर परीक्षणको प्रमाण सहित नेपाल उड्ने तयारी गरिसकेका यात्रुलाई जहाजले नबोकी उडेपछि गएको सोमबार दुबई विमानस्थलमा नेपालीहरु अलपत्र परेका थिए । विभिन्न कारणले जागिर गुमाएर लामो समयदेखि समस्यामा परेकाहरु नेपाल फर्किन भन्दै यूएईका विभिन्न राज्यबाट दुबई विमानस्थल पुगेका थिए ।

त्यसरी अलपत्र परेपछि कतिपय आफ्नै कोठामा फर्किएका थिए भने टाढा कोठा हुनेहरुलाई खान र बस्नको लागि नेपाली समाज तथा एनआरएनए यूएईले सहयोग गरेको थियो । नेपाल फर्किन जहाज चड्ने अन्तिम समयमा सरकारको कामदार नल्याउने भन्ने अपरिपक्व निर्णयले राज्यलाई नै घाटा लागेको भन्दै सरोकारवालाहरुले बिरोध जनाएका थिए । चौतर्फी दबाब र विरोध भएपछि सरकारले पहिले काटेको पुरानै टिकटमा नेपाल फर्काएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू