अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५५ | Colorodo: 13:10

देशका विभिन्न स्थानमा रगतको अभाव रक्तदानको लागि अनुरोध

बिआरटीनेपाल २०७७ भदौ ६ गते ८:४० मा प्रकाशित

देशका विभिन्न स्थानमा रहेका बिरामीलाई रगत अभाव भइरहेको छ । बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकोले केन्द्रीय रक्तसञ्चार सेवा लगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरूमा अत्यन्तै न्यून सङ्ख्यामा रगत स्टक रहेको छ ।

केन्द्रीय रक्तसञ्चार सेवाका प्राविधिक श्रवण श्रेष्ठका अनुसार आज शनिवारको लागि बुक गरिएका क्याम्पहरू सबै स्थगित भएका छन् । उहाँका अनुसार बिहीबार ३२ जना दाताहरुले केन्द्रमै आई रक्तदान गरेकाले ६४ पिन्ट रगत गर्न सकिएको तर थप ६१ जना रित्तो हात फर्किनुपरेको थियो । हिजो शुक्रवार २६ जनालाई फर्काउनुपरेको थियो । दुर्घटनामा पर्ने, रक्तस्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेसन गर्नुपर्ने बिरामीहरूका आफन्तहरू केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिनुभयो ।

केन्द्र मात्र होइन धरान, विराटनगर, चितवन लगायतका स्थानमा पनि रगत अभाव भइरहेको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । ती क्षेत्रका अधिकांश भागमा निषेधाज्ञा छ र वरिपरिका जिल्लाहरूबाट पहिलाजस्तो सहयोग हुनसक्ने परिस्थिति रहेको छैन । तर, नेपालगन्जमा भने तुलनात्मक सहज देखिएको छ ।

रगत नपाए भक्तपुर जानु भन्ने अभियान सञ्चालन गरेको भक्तपुर केन्द्रले विगतको लकडाउनमा पर्याप्त रक्तसंकलन गरे पनि विगत १३ देखि कुनै क्याम्प आयोजना नभएकोले त्यहाँ पनि अहिले रगतको स्टक समस्यामा परेको छ । तर, स्थानीय प्रशासन र पालिकाको सहमति लिई आज शनिवार बिहान सुडालमा क्याम्प आयोजना गरिएको र त्यहाँ २ महिला र २४ पुरुषले रक्तदान गरिसक्नुभएको र अर्को एक स्थानमा रक्तदान शिविर चलिरहेको शाखाका मन्त्री परशुराम पाण्डेले जानकारी दिनुभएको छ ।

रगतको माग भइरहेकोले रक्तदाता, सङ्घसंस्था र रेडक्रसका निकायहरूले सानो समूहमा भए पनि स्थानीय पालिका र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न गराउन गर्न सके रगत आपूर्ति सहज हुने निर्देशक पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ः नियमित रक्तदाता तथा युवाहरूले नजिकका केन्द्रहरूमा गई रक्तदान गर्न सक्दछन् । बिरामीको रक्तसमूहसंग मिल्ने साथीभाइ, इष्टमित्रहरूसँग पहिल्यै सोधखोज, उत्प्रेरणा तथा अनुरोध गरेमा कुरुवा र आफन्तजनलाई पनि सजिलो हुनेछ ।

सुरक्षित तवरले रक्तदान गर्दा गराउँदा कोभिड–१९ को जोखिम नरहने विश्व स्वास्थ्य सङ्घले यस अघि नै स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया