अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

न्यायका सिङ…

- प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७७ साउन ९ गते १०:२२ मा प्रकाशित

बुढापाकाहरू भन्ने गर्थे— ‘न्यायका नौ सिङ्ग हुन्छन्’ भनेर तर तिनीहरूले न्यायका सिङ्ग गन्नै भ्याएका रहेनछन् वा आफ्नै पालाको न्यायप्रणाली सम्झेका रहेछन् क्यारे… ! वास्तवमा केको नौ सिङ्ग नि ! अठार सिङ्ग, छत्तीस सिङ्ग, बहत्तर सिङ्ग… कति हो कति अनगिन्ती सिङ्गैसिङ्ग ! जति उमार्यो उति सिङ्ग, जता फर्काइदियो उतै सिङ्गैसिङ्ग । यसका जतिवटा सिङ्ग भए पनि कुनै कमजोर भए पो ! एकसेएक मजबुत । जुनले हान्यो ठहरै ! अरू हेरेको हेरै, तैँ चुप मै चुप, सब चुप, नत्र बोल्नेमाथि मानहानि नामको अर्काे सिङ्ग बज्रिन पनि बेर लाग्दैन… ।

न्याय भन्नेबित्तिकै मूर्तिको प्रसङ्ग आइहाल्छ । मन्दिरैमन्दिरको देश नेपालमा मूर्तिको कमी हुने कुरै छैन । यहाँ जिल्लामूर्ति, अञ्चलमूर्ति, क्षेत्रीयमूर्ति, पुनरावेदनमूर्ति, विशेषमूर्ति, सर्वाेच्चमूर्ति विशेष प्रसिद्ध मूर्ति हुन् भने गृहमूर्ति, गाउँमूर्ति, नगरमूर्ति, महानगरमूर्तिचाहिँ अलि कम प्रसिद्ध मूर्तिका कोटिमा पर्छन् । यिनमा प्रसिद्ध मूर्तिको करामत अपरम्पार हुन्छ, तल्लाले गरेको फैसला माथ्लोले क्रमशः सच्याउँदै जान्छन् र सर्वाेच्चमूर्तिमा पुगेपछि टुङ्गिन्छ । तल्लाले उपयुक्त ठानेका प्रमाण माथ्लाका लागि पूरै अनुपयुक्त र काम नलाग्ने हुने स्थितिको कारणबारे मूर्तिहरू नै बढी विज्ञ हुन्छन् । वकिलले भट्याएका बेला ध्यानमग्न भएर निद्रा पुर्याउनु र अन्त्यमा हाइकाढ्दै बाङ्गोटिङ्गो भाषामा रेडिमेड फैसला सुनाइदिनु मूर्तिको विशेषतै हो । त्यसले व्यक्ति र राष्ट्रलाई के असर पर्छ कुनै सरोकार छैन, मूर्तिलाई असर पारे पुगिहाल्यो.. ।

खास प्रसङ्ग अलिअगि चर्चाको शिखरमा रहेको लागूपदार्थ काण्डको हो । लागूऔषधका अन्तर्राष्ट्रिय व्यापारी रबिन्सनलाई प्रहरीले दुई किलो चानचुन हेरोइनका साथ एयरपोर्टमा रङ्गेहात पक्राउ गरी अदालतमा पेस गर्यो रे ! निजको कार्यलाई अवैध ठहराई विशेष अदालतले लामै समय जेल र मोटै रकम जरिवाना गर्यो रे तर त्यसको लगत्तैपछि सर्वाेच्चले त्यसमा उसको संलग्नता नदेखाई सफाइ दिएर इज्जतसाथ रिहा गरिदियो रे ! यस प्रकरणको चुरो कुरोचाहिँ यत्ति हो । यो प्रकरण चर्चित हुनाको प्रमुख कारण हास्यास्पद परमानन्द फैसला नै रहेको छ ।

वास्तवमा तल्लोले गरेको फैसला माथ्लोले प्रमाणका आधारमा परिवर्तन गर्नसक्छ, कुरा ठीकै हो विनाप्रमाण कुनै काम गर्न पनि त भएन ! विशेषबाट उपयुक्त ठहराइएका प्रमाण सर्वाेच्चमूर्तिबाट अनुपयुक्त सावित भयो । यसलाई पनि बेठीक मान्न मनासिब देखिँदैन किनभने सानाले गरेजस्तै ठूलाले पनि गर्नुपर्छ भन्ने कहाँ छ र ? सानाले भनेकै कुरा सदर गर्ने भए साना र ठूलाको बीच भेद नै के रह्यो र ? माथिल्ला मूर्तिको इज्जत पनि त हेर्नु पर्यो, आखिर ठूलो भनेको ठूलै हो । त्यसैले भनिन्छ नि— बडाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मत । त्यति नाथे हेरोइन बोकेर त्यत्रा ठूला र संभ्रान्त मुलुकबाट पाउकष्ट गरेका हाम्रा पर्यटक पाहुना रबिन्सनलाई जेल हाल्नुभन्दा छोड्नु नै उत्तम नि ! जेलमा राख्दा खान दिनुपर्यो, बिरामी भए औषधी गर्नुपर्यो, बरु चट्ट छोडिदियो खेलै खत्तम !!

अतिथि देवो भवः भन्ने संस्कृतिका मान्छे हामी पाहुनालाई देवतासरह मान्छौँ । त्यसमा पनि गोरो छाला भएका त हाम्रा परमपूज्य देवता नै भए । यस्ता देवपुरुषलाई यति कठोर दण्ड दिने विशेषमूर्तिको विनाप्रमाण गरिएको फैसला फितलै मान्नुपर्छ, धन्य सर्वाेच्चका मूर्तिले सच्चा न्याय दिई माथिल्ला मूर्तिको शान बचाए । वास्तवमा रङ्गेहात पक्रिने प्रहरी प्रशासन र त्यसै प्रमाणका आधारमा उसलाई दण्डित गर्ने विशेषमूर्तिलाई दोषी ठहराई रबिन्सनलाई सफाइ दिनेहरूलाई ढिलै भए पनि रथारोहणसहित सार्वजनिक अभिनन्दन पो गर्ने हो कि… ?

मूर्तिहरूले यस प्रकरणमा रबिन्सनलाई सफाइ दिन प्रयोग गरिएका प्रमाणमध्ये निजले लगाएको दुवै वा कुनचाहिँ जुत्ताबाट कति परिमाणमा हेरोइन निकालिएको भन्ने नखुलाएको, नेपाली भाषा नबुझ्ने व्यक्तिको बयान लिँदा वा बरामदी मुचुल्कामा सही गराउँदा रोहबरमा दोभाषे राखेको नदेखिएको, कानुन व्यवसायी राख्न दिएको नदेखिएको, बरामदी मुचुल्कामा स्थानीय प्रतिनिधि रोहबरमा राखेको नदेखिएको, शङ्कारहित अकाट्य सबुदप्रमाणको अभाव रहेको पूर्ण इन्कारी बयान दिएको तथा मुख्यको आदेश प्रमुख रहेका छन् रे ! उसलाई पुनः खोज्नु पिंजडाको चरालाई छोडेपछि फेरि समाउन सिकारीको हुल खटाउनुजस्तै होइन र ? पहिले अबल दर्जाको ढँटुवामा शिक्षकलाई दर्ता गर्थेे तर अहिले वकिल र त्यसभन्दा पनि बढी मूर्तिहरूले त्यो स्थान ग्रहण गरिसकेछन्… !!

हाम्रा पुलिस पनि त्यस्तै ! कमसेकम ती पर्यटक पाहुनाले कस्ता र कत्रा जुत्ता लगाएका थिए, ती जुत्ता खुट्टामै लगाएका थिए कि अन्यत्रै ? अनि रङ्गेहात बरामद गर्दा त्यो कहाँ लगाएको कुनचाहिँ जुत्तामा राखेका थिए भन्नेजस्ता चानचुने कुरा त रीतपूर्वक पत्ता लगाउनुपर्छ नि ! त्यति गरिदिएको भए मूर्तिलाई सजिलो पथ्र्याे, नत्र मूर्तिलाई जुत्तै दिएको भए पनि त हुन्थ्यो नि…। अर्काे कुरा नेपाली भाषा नजान्नेलाई पक्रनु हुन्छ त ? नेपाली नजान्नेले नेपालमा ल्याएको तीन किलोभन्दा कम लागूऔषधी पनि कतै अपराधमा पर्छ ? उसले अपराधै गरेको भए त साथमा भाडाको वकिल लिएरै हिँड्थ्यो नि !

कुरा रह्यो जनप्रतिनिधि रोहबरमा नभएको ! यसका लागि अब एयरपोर्टमा पाँच सदस्यीय जनप्रतिनिधि मण्डल गठन गर्नैपर्ने भयो, फेरि त्यहीँ यिनीहरूका बीच नाइके बन्ने र भागबण्डा गर्ने कुरा नमिलेर झगडा पर्दा त्यसबारे फैसला गर्न मूर्तिचाहिँ कसलाई राख्ने नि ? रङ्गेहात पक्रिएको सामान पनि मेरो होइन भनी इन्कारी बयान दिँदा छुटिने भए, अनि इन्कारी बयान नै प्रमाण हुने भए मूर्तिकै अगाडि मान्छे काटेर इन्कारी बयान दिए भएन र ? धन्य छन् मूर्ति, धन्य छ न्याय !

रबिन्सनलाई यस्ता विनाप्रमाणका मुद्दामा यत्रो सजाय गर्न त भएन नि ! उसको पनि त्यति जाबो हेरोइन बोक्ने मानवाधिकार त छ नि ! हरेक मुद्दाको फैसला मुद्दाको प्रकृतिमा होइन व्यक्ति र प्रमाणमा निर्भर गर्छ । यस्ता चानचुने कुरा त कालोलाई सेतो, पहेँलोलाई निलो बनाउन अनेक ढाँटढुँटे प्रयास गर्ने वकिलसाबहरूले पनि त बुझ्नु पर्यो नि ! राष्ट्रियभन्दा अन्तर्राष्ट्रिय मुद्रासँग सरोकार राख्ने मुद्दाको सुनुवाइ र फैसलाको गति तीव्र हुने कारण पारदर्शी नै छैन र… ?

यहाँ कुरा लागूऔषधको होइन, रबिन्सनको पनि होइन, कुरा आचरणको हो, न्यायको हो । अरूलाई बेकुफ बनाउन खोज्दा आफु बोको बन्न कत्तिबेर पनि लाग्दैन । व्यक्तिका कारण संस्था दुर्गन्धित हुनसक्नेतर्फ पनि सचेत हुनुपर्छ । रबिन्सन प्रकरण त एउटा बिम्ब बनेर सर्वत्र चर्चाको विषय बनेको मात्र हो, वास्तवमा यहाँ यस्ता प्रकरण सहस्र छन्, प्रत्येकजसो छन्… ।

सुनकाण्डको त झन् कुरा गरी साध्यै छैन । उताबाट ल्याइने सुन तोलामा होइन किलो र टनमा हुन्छ । सुनको पोको एयरपोर्टको गेटबाट बाहिरिनेबित्तिकै पित्तलमा परिणत हुन्छ, कसरी भन्ने कसैलाई पत्तै हुँदैन…। जादु, मन्तर, भूतकै करामत होला… ! सुन कहिलेकाहीँ समातिन्छ, त्यो पनि सेटिङ बिग्रिएमा मात्र…। समात्ने पनि एयरपोर्टभित्र होइन, त्यहाँबाट बाहिरिएर निकै टाढा पुगेपछि मात्र…अनि समातिने पनि मालिक होइन, भरिया मात्र…। सुनकाण्डसम्बन्धी सेटिङ नमिलेका कुनैकुनै मुद्दा न्यायालयमा पुगिहाले भने पनि मूर्ति बनिहाल्छन्…। सबुदप्रमाण नपुगेको भनी सफाइ दिइहाल्छन् मूर्तिले…अनि फेरि काम चालु भइहाल्छ…। हे न्याय, हे मूर्ति…निसापमा पिसाप फेर्न त मिलेन नि…। हुनत पिसाप फेर्ने शौचालय नै उत्तरआधुनिक बच्चाका माध्यमबाट न्यायालयको केन्द्र बनिसक्यो रे…।

अहिले हामीकहाँ बलात्कारको बिग्बिगी पनि कहाँ कम छ र ? दिनहुँँजसो बाल–वृद्ध–वनिता बलात्कृत भएको सुनिन्छ तर बलात्कारीले सजाय पाएको उति सुनिन्न । वास्तवमा बलात्कारी दण्डित नहुने आधार पनि प्रमाणकै अभाव रहेछ भन्ने बल्ल पो थाहा भो । विनाप्रमाण बलात्कार सावित हुने कुरै भएन नि ! बलात्कृतजति सबैको त्यो अङ्ग क्षतविक्षत पनि त हुँदैन, भएकाजतिको पनि मुद्दा किनारा लागुन्जेलसम्म निको भइसक्छ वा प्राणान्त पनि हुनसक्छ । ल निको पनि भएन र प्राणान्त पनि भएन रे तर त्यो बलात्कारबाटै भएको हो भन्ने के प्रमाण छ र ? मूर्तिलाई पुलिस रिपोर्टजस्तै डाक्टरी रिपोर्टमा पनि भरोसा हुने कुरै भएन ! कथंकदाचित बलात्कारै देखिए पनि मूर्तिलाई त्यो कतापटिबाट कता फर्काएर गरेको हो भन्ने प्रमाण पुग्दैन । अभियुक्तले साबिती बयान दिने कुरै भएन, कसैकसैले दिइहाले पनि त्यो मौखिक भएकाले प्रमाण नै भएन । फेरि बलात्कारी दोस्रो भाषी रहेछ भने त कुरै खलास ! बिचरी सातवर्षे बच्चीदेखि सत्तरीवर्षे वृद्धासम्म बलात्कृत हुन्छन् तर त्यो बलात्कार अग्रगमनबाट भएको हो कि पश्चगमनबाट भन्ने प्रमाणका अभावमा बलात्कारीले सफाइ पाउँछ । कुरा ठीकै पनि हो सबुदप्रमाणविना मूर्तिले मान्छेलाई कसरी अपराधी साबित गर्ने ? हरे कस्तो फसाद प्रत्यक्षदर्शीका अभावमा बलात्कारी छुट्ने नै भयो नि ! उता मूर्तिलाई सघाउने काल्कोटेहरू पनि बलात्कृत नारीलाई अगाडि कि पछाडि कताबाट कसरी गर्यो ? त्यति बेला के हेरेर बसिस् त ? जस्ता अनेकौं प्रश्न गर्दै थप बलात्कार गर्छन्…। यो बिरालाको ख्यालख्यालमा मुसाको प्राणान्त हुनु जस्तै होइन र… ?

हुनत गणेशको ढुङ्गेमूर्तिले दुध पिउने मुुलुकमा मानवमूर्तिले …पिउनु र त्यही आधारमा फैसला गर्नु कुन आश्चर्य हो र ? तर त्यसकै पनि यथेष्ट सबुदप्रमाण त छैन नि… !

हालसालै शेर जोडिएका फ्याउराबाट भएको चोलो खोली फैसलामा ‘परिस्थितिजन्य कारणले रिस र आवेशमा आएर हत्या गरेको… साथै मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आई उठेको रिसले गर्दा घटना भएको,… स्वास्नीले पैसा माग्दा रिस उठेको र घटना भएको…, निजलाई जन्मकैदको सजाय गर्दा चर्को पर्न जानेजस्तो चित्तमा लागेको हुँदा निजलाई बीस वर्ष जेलमा राख्न नहुने… र रिहा गर्नुपर्ने…’ भन्ने रहेको देखिन्छ । शेर जोडिएका फ्याउराबाट भएको यस चोलो खोली फैसलालाई हेर्दा रिस र आवेशमा आएर हत्या गरेमा सजाय नहुने भन्ने बुझिन्छ । यदि यसो हो भने हत्यारालाई जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने भन्ने चित्तमा पित्त पलाएका फ्याउरालाई पनि कसैले रिस र आवेशमा आएर हत्या गरेमा के हुन्छ त ? यसको फैसला पनि निजले नै गर्दा राम्रो हुन्छ…।

शेर जोडिएका फ्याउराले चोलो खोलेर गरेको उक्त रञ्जनन्यायको यतिखेर यत्रतत्र विरोध गरेको सुनिन्छ, यसो गर्नाको कुनै तुक छैन, मानहानि हुनसक्छ… । चोलो खोलेर फैसला गर्दा चोलाका पक्षमा गर्न मिल्ने कुरै भएन नि..। यसर्थ यसको विरोध गर्नेजति सब मूर्ख हुन् । एउटी नाथे स्वास्नी मार्नेलाई लामो समय जेलमा राख्न पटक्कै मिल्दैन, त्यसमा पनि त्यत्रो बन्दुके पदधारीले मारेको…। सानातिना जँड्याहाले मारेको भए बेग्लै कुरा…। अर्को कुरा त्यत्रो ठूलो बन्दुके पदधारी लोग्नेले बाहिर दुईचारवटी स्वास्नी राख्यो भनेर उसलाई रिस उठाउने स्वास्नी पनि काम नलाग्ने नै हो, त्यसरी राख्न पाउने उसको मानव अधिकारै हो नि…। खासमा त्यत्रो ठूलो बन्दुके पदधारीको मानव अधिकारमाथि धावा बोल्ने दुष्ट स्वास्नीलाई मार्दा उसलाई जेल हाल्नै हुन्नथ्यो, बरु उतिखेरै खादामाला लगाएर ससम्मान पदोन्नति गर्नुपर्थ्यो…। न्याय गरेको देखाई जनता अल्मल्याउन केही समय जेलमा ज्वाइँ बनाएर राखिहाले पनि यति लामो समय राख्न त भएन नि, उहिले छोड्नुपथ्र्याे…। उसलाई जेलमा राख्दा बाहिर राखेकीहरू र तिनका वैधअवैध सन्तानहरूको हेरचाह कसले गरिदिन्छ ? त्यसकै लागि पनि उसलाई जेलमुक्त गर्नै पर्यो नि…। यसर्थ चोलो खोलेर गरेको रञ्जनन्यायकोे अनावश्यक विरोध गर्नुभन्दा बरु अब सबै दले नारीवादी एक भएर जेलमुक्तिको यस्तो सुझबुझपूर्ण न्याय गर्ने मूर्ति र पहिले तलबाट अपराधी भनिएका र अहिले सर्वनीचबाट गहुँत छर्किएर चोख्याइएका बडाबन्दुके दुवैलाई सम्मानपूर्वक रथारोहणको तयारी गरे हुन्छ…। अनि दलेहरूले चाहिँ निजलाई संसद्मा भित्र्याउन मोलमोलाई सुरु गरे हुन्छ…। सर्वकल्याणमस्तु…।

रबिन्सन प्रकरणमा भएको परमानन्द फैसला, सुनकाण्ड, बलात्कारका घटनाहरूका साथै हालसालै भएको इम्बोस्ड नम्बर अङ्ग्रेजीमा राख्ने भनी नेपाली भाषामाथि गरिएको अवहेलना र उपहाससम्बन्धी फैसला, शेर जोडिएका फ्याउराले गरेको चोलो खोली फैसला आदिले मूर्तिमाथि गम्भीर खालका अनेक प्रश्न जन्माइदिएको छ । यी सब प्रकरणलाई लिएर कानुनचीहरूका दफावार विमर्श पनि प्रशस्तै सुनिए, अझै सुनिँदैछन् पनि । आफुचाहिँ कानुनची नभएकाले कुनै कानुनी जालझेल थाहा छैन तर एउटा सचेत नेपाली भएको नाताले नेपालीत्वबारे अलिकति ज्ञान छ । अहिले अधिकांश सचेत नेपालीहरू न्यायालयको बक्यौता गरिमा पनि छिन्नभिन्न भएकोमा चिन्तित छन् । यो मुलुककै दुर्भाग्य हो । वास्तवमा भ्रष्टाचार रोक्ने निकायले नै एकले अर्काको अस्तित्व धराशायी तुल्याएपछि अन्यत्र भ्रष्टाचार भयो भनेर चिच्याउनुको के अर्थ रहला र ! यसको निराकरणका लागि अर्कै जननिकायको आवश्यकता भइसकेको त होइन ?

नेपाली न्यायको इतिहासमा सबैजसो फैसला बडाकै पक्षमा हुने गरेका र प्रायः उस्तैउस्तै भए पनि परमानन्द फैसला र चोलो खोली फैसलालाई चाहिँ स्वर्णाक्षरमा लेखेर यी दुवै मूर्तिलाई सर्वोच्च गोदुवा दिई मूर्ति बनाइदिएहुन्छ… ।

राष्ट्रको कार्यपालिका दक्षिणलाम, न्यायपालिका पश्चिमहाम तथा व्यवस्थापिका सडकजामको स्थितिमा पुग्ने मुलुकमा यहाँभन्दा बढी चरम उपहास के नै हुनसक्ला र ? न्याय नपाए गोर्खा जानू भनिने मुलुकमा न्याय नपाए जङ्गल पस्नू भन्ने उक्ति चरितार्थ हुने परिस्थिति यस्तैयस्तै रबिन्सन प्रकरण तथा बहादुरवृत्तिहरूबाटै उत्पन्न भएको हो कि ! हुनत जङ्गल पसेका पनि पुनः सहर फर्किएपछि त्यसको पनि खास अर्थ रहेन, उही वृत्ति दोहोरिन थालिहाल्यो…।

यस्तै हो भने हाम्रो देश मान्छे बेपत्ता मार्ने मुलुकमा मात्र होइन निकट भविष्यमा नै सबथोकमा प्रथम नै हुन्छ, यहाँ दोस्रो भन्ने चिजै नपाइन सक्छ । यसर्थ हाम्रा बैंकहरूजस्तै सबै निकायमा व्याप्त विसङ्गति र विकृतिहरूको उन्मूलन गरी स्वच्छता प्रदान गर्न टेन्डर आहृवान गरेरै भए पनि कुनै विदेशी गैरसरकारी संस्थालाई गुहारी राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्न ढिलाइ नगर्ने हो कि ? नत्र यसो हुँदैजाँदा यो रामको होइन हरामको देश बन्न बेर छैन… ।

 

========

बिआरटी नेपाल डट कममा प्रकाशित लेख हुबहु साभार नगर्न अनुरोध गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ । धन्यवाद