अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

३८ औं वीपी स्मृति दिवस मनाइँदै

बिआरटीनेपाल २०७७ साउन ६ गते ०:५२ मा प्रकाशित

आज नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवस । नेपाली कांग्रेसले संस्थापक नेता कोइरालाको स्मृति दिवस विविध कार्यक्रमका साथ मनाउँदैछ । मुलुकका २२ औं प्रधानमन्त्री वीपी कोइरालाले १ सय ४ वर्ष लामो निरंकुश राणा शासन अन्त्यका लागि शुरु गरिएको जनक्रान्तिमा सक्रियता जनाउनुभएको थियो ।

१९७१ साल भदौ २४ गते जन्मिनुभएका कोइराला क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका नेताका रुपमा चिनिनुहुन्छ । साहित्यमा अराजक मानिने कोइरालालाई र राजनीतिमा भने व्यवहारवादी नेताका रुपमा बुझ्ने गरिन्छ । कोइरालाले २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्नुभएको थियो ।

भारतीय स्वतन्त्रताको आन्दोलनमा सहभागी हुँदा वीपीले भारतका अग्रणी नेता राजेन्द्रप्रसाद, जवाहरलाल नेहरु, जयप्रकाश नारायण र राममनोहर लोहियासँग राजनीतिक सम्पर्क गर्नुभएको थियो । जहाँनिया राणाशासनका विरुद्ध लड्नका लागि स्थापना गरिएको तत्कालिन नेपाली राष्ट्रिय कांग्रेस नै अहिलेको नेपाली कांग्रेस हो । वीपी जनक्रान्तिका लागि नेपाल आउनुभयो र विराटनगरबाट मजदुर आन्दोलन शुरु गर्नुभयोे ।

नेपाली इतिहासमा जनतन्त्रका लागि उहाँले २००७ सालको क्रान्तिलाई नेतृत्व प्रदान गर्नुभएको थियो । क्रान्तिपछि भएको दिल्ली सम्झौता बमोजिम तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरको प्रधानमन्त्रित्वमा गठित नयाँ सरकारमा बीपी गृहमन्त्री बन्नुभएको थियो। मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गर्नुभएका कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्नुभएको थियो । कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागू गरेपछि थुप्रै वर्ष उहाँले जेल जीवन बिताउनुपर्यो ।

पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गर्नुभएका कोइरालाले देशको राष्ट्रियता कमजोर बन्दै गएका बेला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी भारत प्रवासबाट स्वदेश फर्कनुभएको थियो । स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्य फाँटमा पनि त्यतिकै चर्चित हुनुहुन्छ। कोइरालाका आत्मकथा, जेल जीवन, दोषी चस्मा, यहूदी र हिटलर, सुम्निमा, मोदी आइन, तीन घुम्ती र नरेन्द्र दाईलगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् । घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते कोइरालाको निधन भएको थियो ।

प्रतिक्रिया