अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४४ | Colorodo: 10:59

प्रधानमन्त्री ओलीको अयोध्याकाण्डले भारतमा बस्ने नेपालीमाथि ज्यादती, जबर्जस्ती मुण्डन गराई टाउकोमा श्रीराम लेखियो

बिआरटीनेपाल २०७७ साउन २ गते ७:३२ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले राम जन्मभूमि नेपालमा रहेको र भारतले नक्कली अयोध्या बनाई सांस्कृतिक हस्तक्षेप गरेको अभिव्यक्ति दिएपछि त्यसको मार भारतमा रहेका नेपालीले खेप्नु परेको छ । ओलीको अभिव्यक्तिपछि भारतमा रहेका नेपालीमाथि भारतीय हिन्दूवादीहरुले अनेकन ज्यादती गर्न थालेका छन् ।

आफूलाई हिन्दू बताउने अतिवादी भारतीयहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोध भन्दै त्यहाँ रहेका नेपालीमाथि गरेका ज्यादतीका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जसमा हालै एक नेपालीलाई हिन्दूवादी संगठन विश्व हिन्दू सेनाले जबरजस्ती मुण्डन गराएर राम भारतमा जन्मेको भन्दै प्रधानमन्त्री ओलीको विरोधमा नाराबाजी गर्न लगाइएको भिडियो सार्वजनिक भएको हो ।

अतिवादी हिन्दूहरुले ती नेपाली युवाको जबरजस्ती कपाल खौरेर तालुमा जय श्रीराम लेखेको भिडियोमा देखिन्छ । उदण्ड हिन्दूवादीहरुले नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध पनि नाराबाजी गरेका छन् । भारत र श्रीरामको जयगान गरेका छन् ।

यसैबीच, सामाजिक सञ्जालमा यस्तो भिडियो भाइरल भएपछि घटनाबारे चासो देखाउँदै भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले उक्त घटनाबारे उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयसँग कुरा गरिएको जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीले असार २९ गते आदिकवि भानुभक्त जयन्तीका दिन हिन्दूहरुका भागवान राम नेपालमा जन्मिएको र अयोध्या पनि नेपालको वीरगञ्जनजिक ठोरीमा रहेको दाबी गर्दै अभिव्यक्ति दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू