अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०६ | Colorodo: 10:21

युएईमा अलपत्र परेका मध्य ५ हजार भन्दा बढी नेपाली स्वदेश फर्किए

बिआरटीनेपाल २०७७ असार २९ गते ६:५३ मा प्रकाशित

कोरोना महामारीका कारण संयुक्त अरब इमिरेट्स (युएईमा) अलपत्र परेको मध्य ५ हजार भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । युएईस्थित नेपाली दूतावासका अनुसार पहिलो चरणमा विभिन्न एयरलाइन्सको ३५ वटा चार्टर उडान मार्फत ५ हजार ८ सय ५९ नेपाली स्वदेश फर्किएका हुन् । कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने सरकारी नीति अनुरुप नेपाली दूतावास युएईले प्राथमिकताको आधारमा नेपालीहरुलाई स्वदेश फर्काउने कार्यलाई तीव्रता दिइरहेको हो ।

गत जुन १९ देखि जुलाई १२ सम्म नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, इतिहाद एयरवेज, एयर अरेविया र फ्लाइ दुबईको चार्टर उडान मार्फत युएईको तीन शहर शारजहाँ, अबुधावी र दुबईबाट उनिहरुलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ । सरकारले निर्धारण गरेको प्राथमिकताको आधारमा पोहिलो चरणमा गर्भवती महिला,कोभिड बाहेक अन्य दीर्घ रोगी,नेपालमा आफन्त गुमाएका,लामो समयदेखि रोजगार गुमाएका, बेतलबी र भिजिट भिसामा अलपत्र परेका नेपालीहरु हुन् ।

यसैगरी गएको चार महिनामा युएईमा विभिन्न कारणले ८९ जना नेपालीको मृत्यु भएको नेपाली दूतावास आबुधावीले जनाएको छ । मार्च महिनाको अन्तिम सातादेखि जुलाई पहिलो सातासम्म (लकडाउन अवधिभर) युएईमा ८९ जना नेपालीको मृत्यु भएको हो । ती मध्ये २९ जनाको कोरोनाका कारण र ६० जनाको अन्य विविध कारणले मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू