अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१७ | Colorodo: 07:32

महँगो भाडा दरका विषयमा लिखित उजुरी दिनुहोस्: काबा राजदूत दक्षिण कोरिया

अर्जुन बराल २०७७ असार २१ गते १०:५७ मा प्रकाशित

अध्यागमनको तथ्याङ्क अनुसार दक्षिण कोरियामा विभिन्न पेसामा संलग्न नेपालीको संङख्या कुल ४२००० रहेको देखिएता पनि भएका राजदूत फिर्ता बोलाएसँगै लामो समय बितिसक्दा पनि सरकारले नयाँ राजदूत नियुक्त गर्न सकेको छैन । कूटनीतिक क्षेत्रमा २१ वर्ष बिताइसकेका र म्यानमार र भारतको नयाँ दिल्लीको नेपाली दूतावासमा सहचारी र श्रीलङ्कामा द्धितिय सचिवको समेत भूमिका निर्वाह गरी एघार महिना अगाडी मात्र दक्षिण कोरियामा उपनियोग प्रमुख सहित कार्यवाहक राजदूतको समेत भूमिका निर्वाह गर्नेसरि नियुक्त हुनुभएका राम सिंह थापा सँग कोरियाको नेपाली समाज र दूतावासको जिम्मेवारका विषयमा रहेर दक्षिण कोरियाबाट बिआरटी नेपालका लागि अर्जुन बरालद्वारा तयार पारिएको कुराकानीको सम्पादित अंश:

दूतावास किन र के को लागि अनि तपाईँको भूमिका के ?
नेपाली श्रमिक जहाँ ५ हजार भन्दा बढी हुन्छन् त्यहाँ नेपाल सरकारले नेपाली दूतावास खोली कन्सुलर सेवा दिने परराष्ट्र नीति रहेको छ भने पछिल्लो समय रोजगारको आकर्षणको रूपमा दक्षिण कोरिया पर्दछ जहाँ श्रमिकको हितमा पनि काम गर्न पर्ने हुँदा दूतावासको आवश्यक रहन्छ भने हाल आएर दक्षिण कोरिया वैदेशिक लगानी गर्ने देश मध्ये चौथो नम्बरमा पर्न आउँछ कोरियाका विभिन्न क्षेत्रका विज्ञ परामर्शदाता प्राविधिक धेरै नै नेपालका विकास आयोजनामा सहभागी रहेका छन् साथै उनीहरूसँगको अन्तरक्रिया लगायत विभिन्न छलफलबाट दुई देशको सम्बन्ध सृढुण हुँदै गएको छ भने मेरो पद कन्सुलर तथा उपनियोग प्रमुख नै हो राजदूत नभएकाले दूतावासको दैनिक प्रशासनिक कामकाजलाई सहजीकरणको लागि मेरो भूमिका कार्यवाहक राजदूतको रूपमा पनि रहेको छ ।

कार्यवाहक राजदूतको भूमिकामा समेत रहनु भएको तपाई आफूले सही जिम्मेवार निर्वाह गरेको छु भनेर त मान्नुहोला तर कोरियामा रहेका नेपालीले मानेका छन् भन्ने मान्नु हुन्छ ?
अहिलेसम्म कहीँ कतै कोही कसैले पनि हामीले गरेका हरेक कामलाई गंभ्भिर रूपबाट आरोप लगाएका छैनन् । हाम्रो भूमिका र जिम्मेवारीका सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालयले मूल्याङ्कन गर्ने हो साथै हामीबाट भएका कामकाज र भूमिकाको सम्बन्धमा परराष्ट्रले कुनै शङ्का उपशङ्का गरेको छैन तसर्थ हाम्रो भूमिका सन्तोषजनक नै छ ।

तपाईँको नेपाली दूतावास दक्षिण कोरियामा नियुक्ति भएसँगै हालसम्म भएका काम मध्य कुनै एक महत्त्वपूर्ण काम बताउन सक्नुहुन्छ ?
आफूले आफ्नो बारेमा भन्न अप्ठ्यारो हुने । कोरियाको समुन्द्र तटमा एक नेपालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो, यस घटनामा मृतकका परिवारले कुनै क्षतिपूर्ति पाउने अवस्था थिएन तर मैले श्रीलङ्कामा रहँदा सुनेको थिए समुन्द्र तटलाई पनि बिमा गरिएको हुन्छ जहाँ कोही पौडी खेल्दा दुर्घटना भएको खण्डमा बिमा दाबी गर्न पाउँछ भन्ने । त्यही कुरा हामीले बुझ्ने क्रममा सम्बन्धित सिटीले बिमा गरेको भेट्टियो । त्यसपश्चात् हामीले कानुनी पहल गरेपछि मृतकको परिवारलाई नेपाली ४५ लाख दिलाउन सफल भयौ ।

दूतावासमा फोन गरे फोन नउठाउने उठाए झर्कने राम्रोसँग नबोल्ने गरेको जनगुनासो छन् तपाई मान्न तयार त हुनुहुन्न होला है ?
अन्तर्राष्ट्रिय उडान रोकिएका कारण कार्यअबधि सकिएर नेपाल जान नपाउनु भएका धेरै नेपाली यहाँ रोक्किन पर्ने अवस्था आए सँगै धेरै नै फोन कल आउने गरेको कारणले फोन लाइन व्यस्त हुन थालेको साँचो हो नत्र पहिला त्यस्तो थिएन । मेरो लगायत,श्रम कन्सुलर,प्रथम सचिव र सहचारी सबैको टेलिफोन नम्बर सार्वजनिक गरेका छौ जस्तोसुकै परिवेशमा पनि फोन उठाउन भनेको छु । जुन अवस्थामा पनि फोन उठ्छ नउठ्ने भन्ने हुँदैन ।

कोरोनाका कारण भिसा अवधि सकिएर कोरियामा रहेका र छुट्टीमा नेपाल गएर कोरिया फर्कनेको चार्टड फ्लाइटमा चर्को भाडा भुक्तानीको विषय जानकारी छ या छैन भए सरकारलाई जानकारी दिलाउन किन सक्नुहुन्न ?
सरकारले यहाँबाट फर्कनेको हकमा भाडा दर निर्धारण गरयो तर नेपालबाट कोरिया आउनेको हकमा जिएसए मार्फत पर्यटन मन्त्रालयले अनुमति दिने लगायत सबै काम उतैबाट हुने गरेको छ भने कोरियन एयरको मनोपोली(एकाधिकार) भएजस्तो लाग्छ । चर्को भाडा दरको विषयको जनगुनासो भए लिखित उजुरी दिनुस् हामी सम्बन्धित मन्त्रालयमा पठाइदिने छौ । कोरियाबाट जानेका हकमा पछिल्लो भाडा दरका विषयमा पर्यटन मन्त्रालयबाट हामीलाई जानकारी माग गर्दा पनि दिइएन दिइएको भए हामी सार्वजनिक गर्दथ्यौ त्यो हुन सकेन । पछिल्लो समय जिन एयरले कोरियाबाट जानेको हकमा ७०० अमेरिकी डलर प्रस्ताव गरेको र विविध कारणले जिन एयरको उडान नभएपछि केएमईले पनि ७०० डलर भाडा दर कोरियाबाट नेपाल जानेको हकमा लिने भनेको छ ।

एक अन्तरवार्ताका क्रममा एनआरएनए नै महत्त्वपूर्ण हो जस्तै उँ सँग समन्वय गर्ने भन्ने अभिव्यक्ति दिनुभएको थियो,अबदेखि त दूतावासबाट पाउने सुबिधापनि एनआरएन सँग माग्दा हुने भयो ?
देशमा लगानी वृद्धि गर्न,श्रमिकको हितमा काम गर्न एनआरएनए सँग सहकार्य गर्न भनेर एनआरएनए केन्द्र अनि पर्यटन मन्त्रालयले पनि भनेको छ । अहिलेको परिस्थितिमा दूतावासले लिस्ट तयार गर्ने,पर्यटन मन्त्रालयले उडानको व्यवस्था गर्ने र पुनः एनआरएनएको सहकार्यमा पर्यटन मन्त्रालयमा प्रस्ताव पठाउने मन्त्रालयलाई उपयुक्त लागे स्वीकृत गर्ने भन्ने सरकारको नीति छ । बरु कोरियाको हकमा दूतावासमा सङ्कलन भएको नामलिष्ट अन्य व्यक्तिको हातमा पुगेको भन्ने सुनेको छु त्यसबिषयमा छानबिन हुँदैछ ।

अन्तमा सरकारी काम कहिले जाला घामको उखान जस्तै तपाईँहरू त्यस्तै हुनुहुन्छ है ?
(हाँस्दै) यो आरोपमा आरोप मात्र हो । सामान्य करण गरेर यस्तो त्यस्तो भन्न त मिलेन नि हामीले सार्वजनिक बिदाका दिनमा पनि काम गरेका छौ । दुई बजे सकिने कन्सुलर सेवालाई पाँच बजेसम्म गरेका छौ नि ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू