अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४५ | Colorodo: 11:00

कांग्रेस केन्द्रिय समिति बैठक बस्दै, ओली-देउवाबीचको ‘गोप्य भेटवार्ता’ बारे प्रश्न उठाइने

बिआरटीनेपाल २०७७ असार २१ गते १:११ मा प्रकाशित

तीन दिन अघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तापछि कांग्रेसभित्र खैलाबैला सुरु भएको छ । देउवा र ओलीबीच असार १७ गते राति बालुवाटारमा करिब डेढ घण्टा भएको भेटवार्तापछि कांग्रेसका केही नेताहरु सशंकित समेत बनेका छन् । दुई नेताबिच संवैधानिक निकायमा नियुक्तीबारे मात्र कुराकानी भएको सार्वजनिक गरिए पनि नेकपा विभाजन हुनसक्ने र आगामी सरकारको जोडघटाउका बारेमा कुरा भएको बुझिएको छ ।

सोही भेटघाटलाई लिएर कांग्रेसभित्र विभिन्न बहसहरु भइरहेका छन् । देउवाले आफू निकट केही नेताहरुलाई प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्ने अन्तिम तयारी गरेको ब्रिफिङ्ग गरेका छन् । यता, आइतबार बस्ने नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकमा देउवाले भेटबारे प्रष्टिकरण दिने बताइएको छ । प्रधानमन्त्रीसँगको भेटपछि कांग्रेसका केही शीर्ष नेताहरुले सभापति देउवाले भेट्नुको कारण माग गरेका छन् ।

पार्टी मुख्यालय सानेपामा दिउँसो २ बजेपछि बस्ने बैठकमा ओली–देउवा भेटवार्ता बाहेक समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका पनि तयार पारेको थियो । सो कार्यतालिकालाई केन्द्रीय समितिले अन्तिम रुप दिने छ । बैठकमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भएको भनिएको गोप्य भेटबारे पनि केन्द्रीय सदस्यहरुले कुरा उठाउने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू