अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३ | Colorodo: 23:38

पुरस्कार, सम्मान–अभिनन्दन ब्युरो

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७७ असार १६ गते १०:०२ मा प्रकाशित

हामीकहाँ थरीथरीका हावा चल्न खास मौसम चाहिँदैन । बेमौसमी करतुतभन्दा बेजोडले चल्ने बेमौसमी हावाको महिमै अलग छ । उहिलेदेखि नै एक न एक प्रकारको बेमौसमी हावा चलाउन हामी विश्वमै नामी जाति नेपाली ! एकीकरणदेखि नै अनेक पर्व, काण्ड–उपकाण्डरूपी विकृतिमूलक संस्कृति रच्दै–रचाउँदै अगि बढेका हामीले पजेरो संस्कृति, सांसद् खरिदबिक्री संस्कृति, रातो पासपोर्ट बिक्री संस्कृति, सुन संस्कृति आदि अनेकौँ बेमौसमी हावा कति बेहोर्यौ कति ? तानतुन संस्कृति र भनसुन संस्कृतिको त के कुरा गर्नु यी त जन्मजातै भैहाले । यस्ता कतिपय हावा बन्दको त कुरैै छोडौं मन्द हुनेसमेत छाँट देखिदैन । एकपछि अर्को झन् नौलोनौलो बान्कीमा देखापर्दाे छ, फैलिँदो छ । वर्तमानमा चल्ने बेमौसमी हावामध्ये पुरस्कार, सम्मान–अभिनन्दन र हावादारी भाषण संस्कृतिको हावा सुनामीभन्दा पनि बेजोड छ । यसले सामान्य हावाको स्तर पार गरी हुरीबतास, आँधीबेरी र सलहकै रूप लिइसकेको छ, केके बिघ्न गरेर मत्थर हुने हो टुङ्गो छैन… ।

वर्तमानमा प्रचलित अनेक पुरस्कार, सम्मान–अभिनन्दनका गाथा जोड्दा उन्नाईसौँ पुराण बन्ने हो कि भनी लख काट्नु पर्ने स्थिति उत्पन्न भएको छ । सुरुसुरुमा यसको हावा केही मन्द र शुद्ध रूपले चलुन्जेल त खास फरक थिएन तर अहिलेको वायुवेगी बहावले समग्र राष्ट्रलाई नै प्रदूषित तुल्याउने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ ।

पुरस्कार, सम्मान–अभिनन्दन वितरण कार्यक्रमका आयोजकलाई पनि समस्यै छ । उम्रेदेखि खुम्रेसम्मका सबै दलेलाई मन्चासन गराउनुपर्ने नत्र त्यहीँ उठेर ठोक्लान् भन्ने डर…। मन्चासन पनि सुरुमा एकपटक हो र ! सभाविसर्जन गरुन्जेल निरन्तर…! फेरि सबैलाई कन्ठेलँगौटी लाइदिनैपर्ने । आसनग्रहण गराउँदागराउँदै दर्शकदीर्घा खाली…, श्रोताभन्दा वक्ता बढी…। उपरखुट्टी लाएर बस्दा उत्तरआधुनिक फेसनका कारण झारपात देखिएको पनि पत्तो पाउँदैनन् । दर्शकदीर्घा खाली हुनाले मात्र हो नत्र त… ।

आफ्नै माला, आफ्नै खादा, आफ्नै दोसल्ला र आफ्नै खर्चमा आफ्नै सम्मान–अभिनन्दन गराउने परिपाटी वर्तमान प्रदूषणको चरम रूप हो । उहिले सामाजिक–सांस्कृतिक महत्व राख्ने खादा र दोसल्लाको अहिले अर्थ र क्षेत्र मात्र होइन व्यापार पनि विस्तार भएको छ । एक थान माला, एक थान प्रशस्तिपत्र, केही थान बित्ते खादा र एक थान दोसल्ला झोलामा हालेर हिँड्यो, दुईचार धतुरे भेला गरायो, कसैलाई प्रमुख अतिथि बनायो, माला लगाउन लगायो, आफै थपडी बजायो बस भइहाल्यो सम्मान–अभिनन्दन… ।

कतै दुईचार मनुवा जम्मा भएका ठाउँमा सँगै लगेका भाडाको धुपौरेलाई उद्घोषण गरायो, अर्काे भरौटेलाई भाडाको थोत्रै भए पनि क्यामरा तेस्र्याएर दुईचार कुरा सोध्न लगायो, मौका परे टिभीसिभीमा पनि देखाउन लगायो, मख्ख पर्यो, जाँड खायो, तरुनी जिस्क्यायो सुत्यो बस । त्यति पनि भएन भने कतै बसबाट खुत्रुक्क ओर्लियो, यताउति पल्याकपुलुक हेर्यो, झोलाबाट माला झिक्यो, आफ्नो माला आफ्नै गलामा भिर्यो । सम्मानपत्रको फ्रेम हातमा बोक्यो, अनि यताउता हेर्दै दारा ङिच्याउँदै मख्ख पर्दै हिंड्यो । कुनै कोरलीको नजर आफुतिर परे जुनी नै सफल भएको ठान्यो…। अहिले एकथरीको दिनचर्या र पेसा नै यस्तै छ ।

अहिले भाडाको हलमा भाडाको प्रमुख अतिथि, भाडाकै माला, भाडाकै खादा–दोसल्ला, भाडाकै सम्मानपत्र, भाडाकै वक्ता र भाडाकै श्रोताबाट पनि काम चलाउन थालिसकिएको छ । प्रायोजित रूपमा दुईचार जना मिलेर पालैपालो आदानप्रदान गर्ने सम्मान–अभिनन्दनको चर्तिकला झनै अर्कै हुन्छ । यसखाले सम्मानमा त एउटै खादा–दोसल्ला र फ्रेमले सबैको पालो पुर्याइन्छ । यस्ता कतिपय त तपाईंले पनि देखेर, सुनेर वा भोगेरै अनुभव गरेकै हुनुपर्छ, सबै भनेर साध्य पनि छैन । केहीचाहि“ नभनी नहुने खालका भएकाले भन्नु जरुरी छ ।

जेजसो भए पनि सम्मान भन्नेबित्तिकै जसलाई पनि लोभ लागिहाल्दो रहेछ । पुड्के कविदेखि लम्बे रविसम्म सब सम्मान ग्रहण गर्न र गराउन लम्पट देखिन्छन् । वास्तवमा पुरस्कार, सम्मान, अभिनन्दन, प्रशंसा मन पराउनु मानवीय स्वभाव नै हो, आवश्यकता र योगदानअनुसार नगरिनहुने ठाउँमा गर्नु पनि पर्छ । वास्तविक योगदानका आधारमा गरिने सम्मान राम्रो पनि हो तर सम्पूर्ण आफ्नै खर्चमा गराइने प्रायोजित सम्मान–अभिनन्दनचाहिँ आत्मरतिमा रमाउने हरिलठ्ठकहरूका लागि मात्र उपयुक्त होला, आम रूपमा त्यसको कुनै अर्थ छैन । कसैको बिहे हुँदा पनि सम्मान, सन्तान जन्मिँदा पनि सम्मान, सानोतिनो केही भए पनि सम्मान, केही गराउनु परे पनि सम्मान, सिङ उम्रिँदा पनि सम्मान, सिङ झर्दा पनि सम्मान… । यसर्थ अब यसको प्रचलित परिभाषा नै फेर्नुपर्ने आवश्यकता भइसकेको छ । पुरस्कार, सम्मान–अभिनन्दन समारोहमा यसो मौका पर्यो कि केही न केही विमोचन पनि गरिहालिन्छ ।

अहिले कतिपय पुरस्कार, सम्मान–अभिनन्दन बदमासी लुकाउने लाइसेन्स पनि बनेको छ । यसरी जताततै गरिने सम्मानबाट यस देशमा उत्तम मान्छेको सङ्ख्या अधिक छ भन्ने निष्कर्ष आउँछ तर त्यसो भएको भए यस्तो खत्तम स्थिति नआउनु पर्ने हो । अब कुरो मेरो बुझाइको पहुँचबाट बाहिर गइसकेको छ ।

मैले दुई बिसक सेवा गरेर यस राष्ट्रलाई यति दिएँ उति दिएँ, अमेरिकाको चिठ्ठा पर्दा पनि पूरै बसिनँ, जाँदै–आउँदै गरें तर यस राष्ट्रले मलाई एक थुँगा फुल पनि दिएन, खै यहाँ मेरो सम्मान आदि भनी घुक्र्याएर आफ्नै खर्चमा खास्टो ओढ्ने–ओढाइमाग्नेहरू र निमित्त प्रमुख अतिथि भएर राग अलाप्नेहरू पनि यहीँ छन्, मेरै आँखाका अगाडि । के गर्नु यस्तालाई भदौरे घाममा वीरगन्ज लगेर राडी ओढाउनु पर्ने हो । यो कामचाहिँ अरू कसैले गरेनन् भने म आफैँ गरिदिने विचारमा छु ।

यहाँ राष्ट्र जोडिएकाहरू सबभन्दा बढी सम्मानका लागि लालायित देखिन्छन् । त्यसमा पनि राष्ट्रभक्तभन्दा राष्ट्रभ्रष्टहरू नै अग्रपङ्क्तिमा । वार्षिक, पञ्चवार्षिक वा दशकमा सबभन्दा बढी भ्रष्टाचार गर्नेहरूसमेत आफ्नै खर्चमा पाँच तारे होटलमा सम्मान–अभिनन्दन गराउने मुलुकमा अरूको त के कुरा गर्नु । यहाँ प्रायोजित रूपमा सम्मान गराउने मात्र होइन गर्ने भाटहरू पनि कम छैनन् । अहिले यो एकथरीको आजीविकाको भाँडो नै भएको छ, कोही त अफिसै खोलेर बसेका छन् । यस्तो कार्यक्रम तपाईंलाई पनि गर्नुपर्ने भए मैलै त्यस्तालाई चिनेको छु मसँग सुटुक्क सम्पर्क गर्नुहोला, चिनाइदिन्छु ।

यतिखेर पुरस्कार, सम्मान–अभिनन्दनको शैलीमा संशोधन–परिमार्जन भएको छ— सम्मान–अभिनन्दन गरिने लामो लिस्ट तयार गरी निजहरूबाट सहयोगस्वरूप यथोचित रकम असुल्ने र सहयोग गरेबापत सम्मान गर्ने, सहयोग नगर्नेलाई सम्मानको सट्टा अपमान गर्ने परिपाटी थालिएको छ । यस्तामा विदेशबाट आएका सम्मान–अभिनन्दन प्रेमीलाई प्राथमिकता दिइएको देखिन्छ…। यो केही व्यक्तिको पेसा नै बनेको छ । यसरी पुरस्कार, सम्मान–अभिनन्दन राष्ट्रिय अभियान मात्र नभई राष्ट्रिय संस्कृति नै बन्नपुगेको छ ।

हत्तेरिका मेरो बीचबीचमा बरालिने बानीले पनि कहिलेकाहीं गाँठी कुरै खुस्किन्छ । यसर्थ अब खास कुरातिरै लागौँ ।

हालसालकै कुरा हो, एकजना मित्रले तपाईं कविताको विशेषज्ञ आदि इत्यादि भन्दै धेरै अनुनयविनय गरी एउटा कविताकारको सम्मेलनमा आमन्त्रण गरे । त्यहाँ सम्मान कार्यक्रम भएको पनि अवगत गराए । ठाउँ बायोडाटामा एउटा सम्मान थपिने लोभले म त्यस कार्यक्रममा गएँ । त्यो कार्यक्रम सा“च्चिकै बयान गर्न लायक थियो । तिथि निधो गरेका तर थिति निधो नगरेका प्रमुख अतिथि समयमा नआइपुग्दा कार्यक्रम ढिलियो । उनी नआएपछि मलाई निमित्त प्रमुख अतिथि बनाएर कार्यक्रम थालियो । त्यस कार्यक्रमको पूरै प्रायोजन एक धनाढ्यले गरिदिएको रहेछ, सर्वप्रथम उसैले किनेको माला र चँदुवा उसैका गलामा भिराएर मैले उसको सम्मान गरें । त्यसपछि ऊबाट म निमित्त प्रमुख अतिथि पनि सम्मानित भएँ । पालैपालो सम्मान ग्रहण हुँदै गयो । मायाको चिनु भन्दै एउटा ठेउको पनि बाडिँयो। त्यसपछि क्रमशः आयोजक समितिका पदाधिकारीहरू सम्मानित भए । उद्घोषक स्वयंले पनि अनेक विशेषणका साथ आफ्नै नाम उद्घोषण गरी मबाटै सम्मान ग्रहण गरिन् । उनीसँग गला मिलाउँदा कति मज्जा आयो त्यसको बयान गर्नै गारो छ । त्यस कार्यक्रममा एउटा मायाको चिनु तीन–चारजनालाई समेत पुर्याइयो । कविताकारको सम्मेलन भन्ने त देखावटी मात्र पो रहेछ… । कार्यक्रममा आइदिएबापत, खोकिदिएबापत, टोकिदिएबापत पनि सम्मान गरियो । यो सम्मान कि अपमान हो ठम्याउन नसकी यसको पुरानो परिभाषा नै फेर्नुपर्ने आवश्यकताबोध गर्दै म घर फर्किएँ ।

टाढैबाट मेरा घरका आँगनमा निकै भिडभाड देखियो । हस्याङ्फस्याङ गर्दै आइपुगेको त त्यहाँ पनि बालअभिनन्दन कार्यक्रमको आयोजना गरिएको पो रहेछ । टोलछिमेकका केटाकेटी जम्मा गरेर कार्यक्रम सुरु गर्न लागिएको रहेछ । प्रमुख अतिथि कसलाई बनाउने भन्ने कुरामा विवाद चल्दै रहेछ । मलाई देख्नेबित्तिकै उनीहरूले मलाई नै प्रमुख अतिथि बनाएर सर्वप्रथम सम्मान गरे अनि सम्मान गरिने बालकको नाम घोषणा गर्न थाले । म पनि तिनीहरूलाई सम्मान–अभिनन्दन गर्दै गएँ । उनीहरूले जोहो गरेको माला एकजना छिमेकीको सानो तीन वर्षे बच्चालाई पुगेन, रोएर जात्रा । मैले आफ्नै माला लगाइदिएर बल्लतल्ल फकाएँ । मलाई लाग्यो— केटाकेटीलाई त सम्मान–अभिनन्दनको यत्रो मोह हुन्छ भने ठूलाको के कुरा ?

त्यसै दिन उता छिमेकमा पनि नारी सम्मान कार्यक्रम रहेछ । त्यसका प्रमुख अतिथिचाहिँ राष्ट्रमै नामी नारीवादी स्वास्नी कुटुवा मनुवा पो रहेछन् । त्यस कार्यक्रमबाट फर्किएकी मेरी स्वास्नीको रडाको सुरु भइहाल्यो । पहिले त कुरा बुझिनँ तर कुराको जडचाहिँ छिमेकका श्रीमतीहरू अभिनन्दित भएका ठाउँमा ठाउँ भएन भन्ने रहेछ । निकैबेर सम्झाइबुझाइ गर्दा पनि उसको गनगन रोकिएन । उसले उग्रचण्डी हुँदै पेस गरेका सम्मान सामग्रीको माग फारम ठाउँ आयस्रोतभित्र नपर्ने हुँदाहुँदै पनि स्वीकृत गर्न म बाध्य भएँ । जसैतसै सामग्री जोहो गरी एकदिन दिउँसै फुर्सद निकालेर आँफै प्रमुख अतिथि भई घरमै उसलाई अभिनन्दन गरिदिएँ । त्यसपछि हाम्रो ठाकठुक अलि कम भएको छ । तपाईंहरूका बीच पनि ठाकठुक परेको छ भने कारण पक्कै यही हुनसक्छ है, विचार गर्नुहोस्, नत्र पछि पछुताउनु पर्ला… !

अहिले पुरस्कार, सम्मान–अभिनन्दन पनि अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय, अञ्चलीय, जिल्लीय, टोलीय, घरीय, प्रवासीय, आवासीय, गैरआवासीय आदि अनेक ढप र ढाँचाका हुन थालेका छन् । अनि सम्मानका प्रकार पनि खास्टो सम्मान, मायाको चिनु सम्मान, चँदुवा सम्मान, खादा सम्मान, टोपी सम्मान, कट्टु सम्मान, लगौँटी सम्मान, दुधौरे सम्मान, सिक्री सम्मान, औँठी सम्मान आदि केके हो केके ? नमरी बाँचे कालले साँचे सम्मानका अरू कति भेराइटी देखिने हो यसै जुनीमा कुनै टुङ्गो छैन । यहाँ सम्मान गर्नेले गरिनेलाई र गरिनेले गर्नेलाई समेत चिन्ने अवस्था छैन । प्रायोजित कार्यक्रम चिनेर साध्यै छैन । एउटाका नामको सम्मान अर्कैले लिए पनि कसैलाई पत्तो हुँदैन । एउटै भाखाको सम्मानपत्रमा सयौँ– हजारौँको नाम भरी सम्मान–अभिनन्दन गर्ने परिपाटी पनि फस्टाउँदोछ ।

यो जतिखेर पनि पुरस्कार, सम्मान–अभिनन्दनकै कुरा गर्छ, आफुले नपाएर अरूको रिस गरेको भन्ठान्नु होला, त्यो सोर मात्र होइन पच्चीसै आना गलत हो, नत्र तपाईंकै मासु खाने । मैले जति पुरस्कार, सम्मान–अभिनन्दन तपाईंले यस जुनीमा त के अर्काे सात जुनीमा समेत लिन गारै छ । सुन्नुहुन्छ, मैले पाएका पुरस्कार, सम्मान–अभिनन्दन विवरण, ल सुन्नुहोस् छोटकरीमा ।

देशको कुनाकाप्चामा छरिएर रहेका नवप्रतिभाहरूलाई दिने अभिप्रायबाट विकेन्द्रित ढङ्गले स्थापित पुरस्कार र सम्मानसमेत केन्द्रिकृत गराएर एकमुष्ट पारी पिण्ड खाने बेला भएको वयोवृद्ध राष्ट्रगाइनेलाई दिएर उत्पातको सम्मान गरेको कुरा सर्वविदितै छ । नवप्रतिभालाई प्रदान गरिने पुरस्कार र सम्मानसमेत आँफै लिने मजस्ता नकच्चराको औषधी के नै पो छ र ? तर म त यसैमा प्रफुल्ल छु…।

अनेकतिरको दोहोरो–तेहोरो भत्ता, वृद्ध भत्ता, लत्ता, सत्ता, सम्मान–अभिनन्दन, पुरस्कार आदिका ग्रह–विग्रह सब असुल गरिसकेपछि एउटा गाइने अहिले सरकारी स्रोतमा निजी गाँडी सम्मानका लागि मन्त्रालय धाउन थालेको छ रे, मौका परे हेलिकोप्टर सम्मान नै हत्याउने दाउमा पो छ रे भन्ने सुन्नु भएको छ, त्यो व्यक्ति को हो थाहा छ ? छैन भने सुन्नुहोस्— त्यो व्यक्ति मै हुँँ । यस्ता नकच्चरावृत्ति त मसँग कति छन् कति ? भनेर साध्यै छैन । अहिले म पृथ्वी नै उल्टाउने दाउमा छु र त्यसका लागि पृष्ठभूमि पनि तयार पारिसकेको छु ।

अहिले प्रमुख अतिथिको प्रमुख ठेकेदार पनि म नै भएको छु । मैले नभ्याएका वा खटाएका ठाउँमा मात्र अरूले अवसर पाउँछन् । प्रत्येक दिन माला र गाला त कति जोडिन्छन् कति ? म प्रमुख अतिथि हुन भनेपछि हुरुक्कै हुन्छु, त्यसको एउटा कारण पहिले आफै सम्मान पाइनु भए पनि खास रहस्यचाहिँ अर्कै छ । भन्न त नहुनेथ्यो, तैपनि भैगो सुटुक्क भनिदिन्छु, जेसुकै होस्— त्यो रहस्य हो— कोरलीलाई माला लगाइदिने, हात मिलाउने, धाप मार्ने, काखमा राखेर कानेखुसी गर्ने निहुँले मुख र गाला जुधाउने… । त्यस्ता कोरली प्रायः कार्यक्रममा हुन्छन्, नभएका ठाउँमा म धेरैबेर बस्दिनँ, अर्का ठाउ“तिर हुँँइकिइहाल्छु । तिथि भएको तर थिति नभएकोमध्ये पनि प्रमुख र उमेरले पनि वृद्ध भएपछि जे गरे पनि मलाई कतैबाट छोइछिटो लाग्ने कुरै भएन ।

मैले राष्ट्रिय मात्र होइन क्षेत्रीय सम्मान पनि कम लिएको छु र ? पूर्व, पश्चिम, मध्य, उत्तर, दक्षिण, आग्नेय, नैऋत्य, वायव्य, ईशान जताकाले सम्मान गरे पनि म नपर्ने कुरै छैन । एउटै मान्छे कहीँ यस्तो हुन्छ, यसले अब ढा“ट्न थाल्यो भन्नुहोला, सतोसत् तपाईंको मासु खाने ढाँटेको होइन… । खाटी कुरा के भने मेरो पैत्रिक घर पूर्व, ससुराली पश्चिम, बसोबास मध्य, उत्तरमा मेरो मितको घर— मितिनी आफ्नै, घर पनि आफ्नै— दक्षिणमा मेरो दोस्रो ससुराली र कर्मक्षेत्र । यी सबैतिर सम्मान कार्यक्रम गराउन–गर्न र प्रमुख अतिथि हुन मलाई सारै सहज छ । यसका लागि सबैतिर दुईचार धुपौरे छोडेकै छु, कुरो मिलाइहाल्छन् । मैले यी सब ठाउँमा प्रमुख अतिथि भएर कम्ती सम्मान ग्रहण गरेको छु र ! आफुले मात्र होइन मेची, गण्डकी, बाग्मती, सेती, महाकालीहरूलाई समेत सम्मानबाट रिझाएको छु । मैले एउटै संस्थाबाट जोडसम्मान र छोडसम्मान पनि प्राप्त गरेको छु, त्यो पनि एकपटक हो र, अनगिन्ती पटक पो त…। धेरैवटी ल्याएसि यस्तै हो…। कुरो पत्याइनसक्नु छ तर सत्य भएकाले नपत्याई धरै छैन ।

यस्तैगरी पूर्वेली वा पश्चिमेली वृद्धहरूको सम्मान भनिएका बेलामा मैले धतुरे फुलकोे माला र चौँठे खादा थुप्रै पटक ओडेको–ओडाएको छु । त्यसको लगत्तैपछि पूर्वेली वा पश्चिमेली युवाहरूको सम्मान हुँँदा पनि केस कल्याएर मेरो गौरवमय उपस्थिति भएकै छ र बुलेत्राका टाटाको माला र खास्टो ओढेकै छु । मध्यक्षेत्रमा खर्पने सम्मान पनि छोडेको छैन । ग्रह–विग्रह जेजे भनेर दिएको भए पनि सिसाको फ्रेम हालेका कागज असुल्न म कहिल्यै पछि परेको छैन । जताबाट जसरी जुन क्राइटेरिया राखेर सम्मान कार्यक्रम गरे पनि म छुट्ने कुरै छैन । आफु मात्र हो र यी सबैजसो कार्यक्रममा मेरी प्राणप्यारी कालीमैयाँलाई पनि सम्मान गराउन पछि परेको छुइनँ । कालीमैयाँलाई काखमा राखेर जहाजमा उडेको छु, मोटरमा गुडेको छु, टाँगामा तानिएको छु, रिक्सामा हानिएको छु… ।

न्याउन्याउ गर्दागर्दै मैले सबै स्तरका सम्मान लिइसकेको छु । अब त घरमा आँट्ने स्थिति पनि छैन । अलि ठूलो घर बनाइदिन पनि न्याउन्याउ गरेको छु । हेरौँ कहिले बनाइदिन्छ ? यस्ता सम्मान–अभिनन्दन गराउँदागराउँदै र ताली बजाउँदाबजाउँदै अपुतालीकै रूपमा भए पनि राष्ट्र जोडिमाग्ने मेरो भित्री मनसाय पूरा भई थप भत्ता कुम्ल्याउन पाएकोमा हर्षले गद्गद छु । अब त जतिसुकै राष्ट्रघात गरे पनि राष्ट्रवादीमा दरिइहालिन्छ बस । अब त गलामा पृथ्वी झुन्ड्याउने तीव्र इच्छा छ, त्यो कहिले हुन्छ, थिति मिलाइसकेको छु, तिथि टुङ्गो लाग्न बाँकी छ, टुङ्गो लाग्नेबित्तिकै तपाईंले थाहा पाइहाल्नु हुनेछ ।

अहिले त चाडबाडमा ससुरालीबाट निम्ता आउँदा पनि घुमाइफिराइ सम्मान–अभिनन्दनकै प्रस्ताव पारित गराउँछु । अब त त्यहाँ पनि बुझिसके सम्मान–अभिनन्दन कार्यक्रम नभए मेरो उपस्थिति हुँदैन भन्ने । म गएपछि सालीबाट मायाको चिनु सुटुक्क लिन पनि भुलेको छैन, अलि लाज मान्दै भए पनि मायाको चिनु सुटुक्क दिन्छे मोरी… ।

कहिले ड्राइभर सम्मान, कहिले खलासी सम्मान, कहिले आवासीय सम्मान, कहिले गैरआवासीय सम्मान, कहिले पूर्वेली सम्मान, कहिले पश्चिमेली सम्मान बाफ रे बाफ केके सम्मान, केके सम्मान ! यी सबमा मेरो भने प्रत्यक्ष संलग्नता रहेकै छ । मलाई जसले जे नामबाट जसरी सम्मान गरे पनि, सम्मानपत्रमा विग्रह नै लेखे पनि, फ्रेममा हालेर वा नहालेरै दिए पनि दान सम्झी हात थाप्न म कहिल्यै चुकेको छैन र चुक्ने कुरा पनि भएन । यस्तैयस्तैमा म ठाउँँठाउँ जोकर पनि बनाइएको छु तर त्यसप्रति पनि छैन मलाई कुनै गुनासो… ।

अहिले नाना थरी नामधारी संस्थाका नामबाट सम्मान–अभिनन्दन गर्ने तीव्र प्रतिस्पर्धा चल्न थालेको छ । पूर्वेलीहरूले गाला जोडेर टोपी र धुसुरेको मालाबाट सम्मान गरेको अवस्थामा पश्चिमेलीहरू अर्कै नया“ तरिकाको खोजी गरी छाला काढ्ने सुरमा छन् भन्ने सुन्छु, त्यसमा चाहिँ उपस्थित हुने–नहुनेबारे सोच्दैछु ।

पश्चिमेलीहरूले राडी ओढाएर सम्मान गरे पनि हुन्छ । राडीको व्यापार पनि बढ्ने, नौलो प्रयोग पनि हुने तर राडी सम्मान प्रचलनको सुरुआत गर्ने रहरचाहिँ मलाई छ र शीघ्र यसको थालनी गर्ने विचार गर्दैछु, इच्छुक महानुभावले पच्चीस हजार सहयोग राशिसहित सम्पर्क गर्नु होला भन्ने नोटिस जारी गर्ने सोच्दै थिएँ । यत्तिकैमा—‘सामूहिक अभिनन्दनका लागि पश्चिमेली खलासीहरूले तुरुन्त निवेदन दिनुहोला । प्रथम दसलाई मान्द्रे राडी ओढाएर सम्मान गरिनेछ’ भन्ने जरुरी सूचना पश्चिमेलीहरूको कुनै संस्थाका नामबाट प्रसारित भयो । यो सुनेपछि सम्मान प्रायोजन गरेर रेकर्ड बनाउने मेरो इच्छा सम्मान गरिएर भए पनि पूरा गर्ने ठानी दसजनाभित्रै नाम लेखाउन लागेँ र अन्त्यमा राडी ओढेरै छाडें ।

देख्नुभो मेरो सम्मानको लहरो कताकता फैलिएको रैछ । यस्ता चुकुल खुस्काउन र जोड्न मलाई जित्ने मान्छे यस धर्तीमा अहिलेसम्म कोही जन्मिएकै छैन । कोही छ… ? मैले त वरत्रका लागि मात्र होइन परत्रका लागि पनि पूरै बन्दोबस्त मिलाइसकेको छु… ।

मैले प्रमुख अतिथि भएर आफु कति सम्मानित भएँ र कति षोडषीलाई माला र खास्टो ओढाएर आलिङ्गन गरें त्यसको लेखाजोखै छैन । अब त आफु सम्मानित हुँदाभन्दा पनि नारीहरूलाई सम्मान गर्दा बढी सन्तुष्टिको अनभूति गर्न थालेको छु । अस्ति भरखरै बुढानीलकण्ठको जङ्गलमा प्रमुख अतिथि भएर पिकनिक गएको र चुस्की तान्दै कोरलीसँग साँप्रो जोडेको क्षण मेरा मनमस्तिष्कमा ताजै छ, बासी हुन पाएकै छैन, होस् पनि कसरी… ?

कति राष्ट्रघातीलाई सम्मान गरेर राष्ट्रवादी बनाइयो, कतिलाई सम्मान गर्ने सर्तमा पदासीन गराइयो, कतिलाई खादा–दोसल्ला ओढाएका भरमा पदोन्नति गरियो यसको लेखाजोखा नै छैन । यो त छोटो विवरण मात्र हो, प्रायोजित रूपमा मिलाएका सम्मान–अभिनन्दनको त हिसाब गरेर साध्यै छैन । एक दिन टिभी क्यामेरा लिएर आउनुहोस् त मेरा सम्मानपत्र गन्न तपाईंलाई कति समय लाग्दो रहेछ तर अन्तर्वार्ताका लागिचाहिँ कोरली पठाउनु होला है, म त नारीवादी मान्छे, पुरुषको स्वर पटक्कै मन पर्दैन… ।

लौ अब भन्नुहोस् त मैले सम्मान–अभिनन्दन नपाएर यसो भनेको हो रैछ त, कहाँ हुनु नि ! मैले सम्मान नपाएर होइन, पाउँदापाउँदा वाक्कदिक्क भएर यी सब कुरा भनेको हो ।

श्री पशुपतिनाथ अपमानित हुन थालेका मुलुकमा हामी मनुवा कति दिन पुरस्कार, सम्मान र अभिनन्दन ग्रहण गर्ने ? यसर्थ हे पशुपति, गुहेश्वरी, दक्षिणकाली, उत्तरकाली, मध्यकाली यस देशलाई पुरस्कार, सम्मान–अभिनन्दनरूपी अजीर्ण रोगबाट मुक्ति देऊ, पुरस्कार, सम्मान–अभिनन्दनलाई वास्तविक ट्य्राकमा ल्याइदेऊ, अब मेरा जति सम्मान कसैलाई नदिलाऊ । प्रमुख अतिथि भएको र सम्मान पाएको मेरो राष्ट्रिय रेकर्ड अरू कसैले तोड्न नसक्ने बनाइदेऊ । कतै कसैबाट मेरो राष्ट्रिय रेकर्ड तोड्न–तोडाउने काम भएमा म त मरिहाल्छु नि ! अब एउटा मात्र भए पनि अन्तर्राष्ट्रिय जोडिएको सम्मान दिलाइदेऊ, त्यो ग्रहण गर्न म नर्कलोक जान परे पनि तयार छु !

अँ, मलाई छिटै वृद्ध भएकोमा एक मनमा चिन्ता छ भने अर्को मनमा यति धेरै जीवित भएकोमा खुसी पनि छ । पा“च कोरी पार गर्दा पनि सोर वर्षे जवानीजस्तो यति बिघ्न चर्तिकला देखाउन, प्रमुख अतिथि हुन र भएनभएका सम्मान गर्न–गराउन पाइया छ, राष्ट्रिय रेकर्ड बनाइयाछ । यो कम्ती खुसीको कुरा हो र ! जो कोहीको यस्तो भाग्य कहा“ हुन्छ ? यमराजले निम्तो गर्दा पनि पृथ्वी झुन्डाएर मात्र आउँछु भनी बिन्ती बिसाएको छु । त्यो पाएपछि अर्कै कुनै जुक्ति गर्नुपर्ला ! निकै बाँचेर थप चर्तिकला गर्ने मनसुवा अझै बाँकी नै छ ।

अँ, यतिखेर बहुचर्चित रहेको केही भरौटेहरूबाट गर्ने–गराइने तथाकथित नेते सम्मान–अभिनन्दनको कुरा त झन्डै बिर्सेको । यो सम्मान–अभिनन्दनमा त झन् दलदलका बीच कसको ठूलो माला भन्ने विचित्रको प्रतिस्पर्धा पो छ त । मालाको तौल पनि किलो, मन हुँदै टन पुगिसक्यो । मालाले नै किचेर मर्लान् भन्ने डर…। मरिगए त केही थिएन, अलिकति ढुकढुकी बाँकी रह्यो भने औषधी गर्न विदेश गएर राज्यको ढुकुटी सुकुटी बनाउँछन् भन्ने पो पिर छ त…। त्यसैले पनि यस्तो सम्मान–अभिनन्दनमा मालाले किचेर नमरून् भनी बबुरा जनताले पशुपति गुहार्नुपर्ने । यति ठूला मालाको डोरीचाहिँ पुल बनाउने फलामे लठ्ठा नै हो कि ! नत्र टन कसरी पुग्छ ! हुन त कसैले जोख्ने हैन जति भनिदिए नि भैगो…। हनुमानले विरोध गर्ने कुरै आएन, रामले गरे भने ठोकठाक गरेर ठेगान लाइदिए सक्किगो । यस्तो सम्मान–अभिनन्दन गर्न साँच्चीकै लायक कोही नेतानेती भएका भए देशको हालत यस्तै हुन्थ्यो र ! तर… ।

यतिखेर बहुप्रचलित फेसबुके सम्मान–अभिनन्दनको त बयान गरी साध्यै छैन । फेसबुकमा एकदुईवटा गजल नामका फजल पोस्ट गर्यो, चिनेजानेका यसो दुईचारजनालाई लाइक, कमेन्ट गरिदिनु भनी म्यासेन्जरमा खबर पठायो । त्यसको केही पछि फलानो संस्थाबाट सम्मानित–अभिनन्दित भनी माला लाएको फोटो पोस्ट गरिहाल्यो …। उस्तै परे त्यस संस्थाको अध्यक्ष पनि आफैं हुन बेर छैन । यतिखेर फोटो कमेन्ट गरिदिएबापत पुरस्कार दिने, सम्मान–अभिनन्दन गर्ने भन्ने सूचनासमेत आउन थालिसक्यो… !

अहिले कोरोना/कोभिड कहरमा पनि को रोना/ को हँसना/ को भिड भन्दै जुममा झुम हुँदै भर्चुअल कि टर्चुअल गोष्ठी भनी केके जाति प्रदर्शन र केके जाति वाचन तथा सम्मान–अभिनन्दन कार्यक्रम हुँँदाछन्, कुनै पर्मुख अथिति र अदक्षबाट हस्ताक्षरित सम्मान–अभिनन्दन पनि पोस्ट्याइँदाछन् … लाइक, कमेन्टका लागि म्यासेन्जरमा टिङ्टिङ घन्टी बजाइँदोछ…। जस्तै आपदविपदमा परेका बेला पनि हामीलाई पुरस्कार, सम्मान–अभिनन्दन कार्यक्रमले नछोड्ने भो…!

मनुवाको मात्र के कुरा पशुपक्षीमा समेत सम्मान–अभिनन्दन प्रकरण तीव्र रूपमा विकसित भएको घटना मेरै आँखाले देखेको छु । एकदुईवटा सुन्नुहुन्छ ? ल सुन्नुहोस्…

म एकदिन पशुपति पुगेको मात्र के थिएँ, त्यहाँ अरू दिनभन्दा भिन्न ढङ्गले बाँदरको जमघट देखेर सुरुमा छक्क परें तर म बानी परिसकेको मान्छे, कुरा बुझिहालें । त्यहाँ पनि सार्वजनिक सम्मान–अभिनन्दन कार्यक्रम रहेछ । चारपाँच माउ–बच्चा बाँदर–बादर्नी भेला भई यताउता हेर्दै प्रमुख अतिथिको प्रतीक्षा गरिरहेका थिए । प्रमुख अतिथि निर्धारित समयभन्दा ढिलो आउने प्रचलन पुख्र्यौली भएको कुरा त्यस बाँदर अभिनन्दनले पनि देखाउँथ्यो । यत्तिकैमा गौशालातिरबाट एउटा वृद्ध बाँदर हस्याङ्फस्याङ् गर्दै त्यहाँ आइपुग्यो । उपस्थित सब बाँदरले कर्तल ध्वनिका साथ उसको स्वागत गरेपछि थाहा भयो प्रमुख अतिथि त्यही रहेछ । स्वयम्भूमा प्रमुख आतिथ्य ग्रहण गरी फर्कंदा ट्राफिक जामका कारण उसलाई त्यहाँ आइपुग्न ढिलो भएको भनिए पनि खास कारणचाहिँ कोरली बाँदर्नीसँगको मस्कामस्की रहेको कुरा मैले बुझिहालें । त्यही बेला एउटी महिला पूजा थाली लिएर मन्दिरतर्फ लम्किँदै थिई, उद्घोषक बाँदर्नीले बुरुक्क उफ्रेर उसका थालीको माला र गलाको खास्टो तानेर ल्याई । महिला यताउति हेर्दै कराउन नभ्याउँदै त्यो माला र खास्टो वृद्ध प्रमुख अतिथिको करकमलबाट कोरली बाँदर्नीका गलामा परिसकेको थियो । प्रमुख अतिथि वृद्ध बाँदर र सम्मानित कोरली बाँदर्नी मुखामुख गरेर दाँत ङिच्याउँदै फुुत्त उफ्रेर रूखको हाँगामा बसी अङ्कमाल गर्दै थुतुनु र …तुनु जुधाउने सुर कस्न थाले । त्यो महिला मूकदर्शक भई । सभा विसर्जन भयो । म पनि हिँडें ।

त्यस्तै अर्को दिन बेलुकातिरको कुरा हो, कागहरूको राष्ट्रिय सम्मेलन कीर्तिपुर गार्डेनमा रहेछ । कागहरूको व्यापक उपस्थिति र सुरक्षा प्रबन्धले त्यही कुरा जनाउँथ्यो । त्यहाँ काले, झाले, माले, अरिंगाले, हल्लुडे आदि सबै जातका कागहरू जम्मा भइसकेकाले त्यो सम्मेलन सर्वदलीय र सर्वपक्षिय भएको कुरा बुझ्न कठिन थिएन तर त्यो स्थिति धेरैबेर रहेन । कागहरू पूर्वेली–पश्चिमेली, सत्तापक्ष–प्रतिपक्ष आदि अनेक भागमा विभाजित भई सम्मान गरिनेको सङ्ख्या बाँडफाँडमा झगडा गर्न थाले । सर्वपक्षीय सहमति मुताबिक बोलाइएका प्रमुख अतिथि मध्यक्षेत्रका गिद्धराजलाई उचित सुरक्षा प्रबन्धका कारण कार्यक्रम स्थल आइपुग्न सम्भव भएनछ र निमित्त बनाएर पठाइएको लाटोकोसेरो आइपुग्यो । ऊ आइपुग्नेबित्तिकै कार्यक्रम सुरु भयो । त्यस भेलाले राष्ट्रिय नेतृत्व चयन गर्ने र कागिनीले दक्षिण फर्किएर कराएबापत सम्मान गरिने कार्यक्रम रहेछ । एउटा के हो विमोचन गरेपछि सम्मान कार्यक्रम थालियो । सिकारु गाइनेलाई मञ्चमा उभिएर कागे स्वरमा एउटा गीत गाउनेबित्तिकै खास्टो ओढाएर सम्मान नगरे मुर्मुरिएर अर्को पटकदेखि कागेगीत गाउँदिन भनी घुक्र्याउने युगमा पंक्षीमा त्यस्तो हुनु सामान्य ठानी म त्यहाँबाट हिंडे ।

यस्तै बज्रवाराही मन्दिरमा हालसालै सम्पन्न परेवाहरूको राष्ट्रिय सम्मेलन तथा सम्मान कार्यक्रम हुँदै गरेको पत्तो नपाएर मन्दिरको गेटमा फोटो खिच्दै गरेको हाम्रो टोलीलाई परेवाहरूले एकमुष्ट बिस्ट्याएर दुई टनजतिको बमवर्षा गरेको घटना मेरा मस्तिष्कमा अझै ताजै छ । त्यो पनि तिनीहरूको नेतृत्व चयन र सम्मानमा गोलमाल भइरहेको बेला हाम्रो उपस्थितिले त्यस्तो भएको भन्ने कुरा बुझियो !

आजकाल कुनै मनुवाको त के जनावरकै जमात देख्नेबित्तिकै त्यहाँ सम्मान–अभिनन्दन कार्यक्रम रहेछ भन्ने लागी आँखा त्यतैतिर सोझिहाल्छ । सम्मानसूचक मालाको स्तर पनि घटेर कागजी फुलमा सीमित हुनपुगेको छ । यो विशेषतः डायस्पोरातिर बढी प्रचलित छ । कागजी फुल कसैलाई चाहिए मकहाँजत्ति छ, सम्पर्क गर्नु भएहुन्छ । यो माला भन्ने वस्तु सबभन्दा पहिले कसले बनायो होला त्यसलाई मरणोपरान्त भए पनि सम्मान–अभिनन्दन नगरी नहुने भो… ।

यतिखेर पुरस्कार, सम्मान–अभिनन्दनमा पनि दलीय भागबन्डा हुँदोछ । यसबाट मलाई भने फाइदै छ, किन थाहा छ ? म सर्वदलीय मनुवा हुँनि, मसँग सबै दलको सदस्यता छँदैछ, जतिबेला जुन चाहियो त्यही फुत्त निकाल्यो देखाइदियो बस… । एउटै कृति नलेखेर के भो र, दलेको झोले भएकै छु, २–४ प्रशस्तिगान गाएकै छु, नेते भाषण लेख्ने र प्रुफ हेर्ने गरेकै छु, यसमा मभन्दा सिपालु कोही छैन । यसमा त म राष्ट्रिय प्रतिभा नै हुँँ नि । यसर्थ जुनसुकै नामधारी राष्ट्रिय प्रतिभा पुरस्कार, सम्मान–अभिनन्दनमा मजति ठूलो राष्ट्रिय प्रतिभाको नाम नआउने कुरै छैन, यसमा मेरो नाम नआएर कसको आउँछ त…?

अब अहिलेको उत्तर आधुनिक जमानामा पुरस्कार, सम्मान–अभिनन्दनलाई अझ व्यवस्थित र पारदर्शी बनाउन एउटा सर्वदलीय पुरस्कार, सम्मान–अभिनन्दन ब्युरो स्थापना गरौं र सम्मान–अभिनन्दनलाई लिगलाइज गरौं । यसका पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय शाखा बनाऔं । यसमा राष्ट्रिय शाखाको जिम्मेवारी प्रज्ञाविहीन दलेझोले भर्तीकेन्द्रका ढुकुवा लाउकेको नाइकेलाई दिऊँ, अन्तर्राष्ट्रिय शाखाको जिम्मेवारी भने स्यालगुफा छेउछाउका भरौटे नटवरलाललाई दिऊँ ।

उच्च प्राज्ञिक व्यक्तित्वलाई ससम्मान नियुक्त गरिने पवित्र संस्थालाई समेत प्रज्ञाच्युत गरेर दलीय भागबन्डामा रूपान्तरित गरी पटकपटक दलेझोलेको नाइके बनाइएको बज्रस्वाँठलाई राज्यबाट दिइने राष्ट्रिय भनिएका पुरस्कार र सम्मानको पजनी गर्ने ठेक्का दिइएकाले मनपरी ढङ्गबाट तिनको पजनी भइरहेको कुरा सर्वविदितै छ… । प्रज्ञाविहीन दलेझोले भर्तीकेन्द्रका ढुकुवा लाउकेले दलीय भागबन्डा गरेर आफ्नाआफ्नी चाकडीबाजलाई ठूलो प्रतिभा भनी पुरस्कार, सम्मान–अभिनन्दनका नाममा राष्ट्रिय ढुकुटी सुकुटी बनाएकै छ भने पुरस्कार, सम्मान–अभिनन्दन ब्युरोको राष्ट्रिय शाखा नै बनाएपछि यसलाई अझ पारदर्शी र लिगलाइज बनाउन तथा एउटै पुस्तक प्रकाशन नगरेका प्रुफरिडरलाई मात्र के आफ्ना घरमा काम गर्ने गृहसेवकलाई पुरस्कार, सम्मान–अभिनन्दन प्रदान गर्न पनि सहज हुन्छ …।

स्यालगुफा छेउछाउका अदक्ष भरौटेले अहिलेको जस्तो सुटुक्क दाम लिई भएनभएका संस्थाका नाम जोडेर एकल वा सार्वजनिक सम्मान–अभिनन्दन गरेजस्तो गर्नु–गराउनुभन्दा उसैका नेतृत्वमा सर्वदलीय पुरस्कार, सम्मान–अभिनन्दन ब्युरो गठन गरी त्यसैमार्फत लिगलाइज रूपमा निर्धारित रकम लिएर सम्मान–अभिनन्दन गराउँदा राम्रो हुन्छ । यसको नेतृत्व स्यालगुफा छेउछाउका अदक्ष भरौटेलाई दिएपछि उसको नि गुजारा चल्ने विदेशतिरबाट यसो दूतसूत किन्न पोको बोकेर आएकाले पनि एयरपोर्टमै खादामाला लाएर फेसबुकमा फोटो पोस्ट्याउन पनि पाउने… दुवै थरीलाई फाइदैफाइदा…। किनकान गरी दूतसूतको कागत बोकेर उता पुगेपछि यहाँका खादामालाबाटै फेरि उता पनि आफ्नै सम्मान–अभिनन्दन गराउन पाइने दोहोरो फाइदा, क्या मज्जा…।

पुरस्कार, सम्मान–अभिनन्दन ब्युरो नै स्थापना गरिएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा चलखेल गर्दै कुनै धनाढ्यलाई फकाएर, हप्काएर, अनेक जुक्ति लगाएर पैसा असुली आफ्नो र आफ्नीको समेत नाम जोडेर यति ठूलो धनराशिको पुरस्कार भनी चाकडीबाज जम्मा गरी खाम उसलाई दाम आफूलाई गर्ने तथा भानुसत्यादि नामक पित्लेपदक विदेशतिर पलायन भई आफ्नो पहिचान गुमेको ठानेकाजति सबैलाई बाँडेर दाम असुल्ने पुरस्कार, सम्मान–अभिनन्दन कारखाना खोलेर आजीविका चलाएका नटवरलाललाई पनि फाइदै हुन्छ…। कुनै धनाढ्यले पैसा दिएन र कसैले चाकडी गरेन भने तथानाम पाँडे गाली गर्न भरौटे नटवरलाल निपुण छँदैछ…।

यति मात्र होइन वास्तवमा पुरस्कार, सम्मान–अभिनन्दन ब्युरोमार्फत पूर्वेली–पश्चिमेली, आवासीय–गैरआवासीय, अकुत धनराशि जोड्न सक्षम–अक्षम, जग्गावाल–मोही आदि जजसलाई जुन दिन मन लाग्यो त्यस दिन सम्मान गर्न सजिलो पनि हुन्छ । अहिलेका पेसेवर सम्मान–अभिनन्दन गर्ने–गराउनेहरूले इलिगल रूपमा नगरी लिगलाइज गर्नेतर्फ तुरुन्त कदम चाल्नु वाञ्छनीय देखिन्छ । यस्तो दोहोरो तेहोरो फाइदैफाइदा हुने काम गर्न पटक्कै ढिलो नगरौँ… ।

अब मान्छेका तहमा सार्वजनिक बाटोमा हिँडिरहेका व्यक्तिलाई समातेर चन्दा असुली माला लगाइदिएर तथा पशुका तहमा गु खाइदिएबापत सुँगुरलाई, भारी बोकिदिएबापत गधालाई, मुसा खाइदिएबापत बिरालालाई, मोमो दिएबापत राँगाराँगीलाई मात्र सम्मान–अभिनन्दन गर्न बाँकी छ । यो बाँकी कार्य पनि धेरै दिन बाँकी नराखी विश्वमै पुरस्कार, सम्मान–अभिनन्दन प्रदान गरिने देशहरूका कोटिमा नेपाललाई अग्रपङ्क्तिमा पुर्याएर अन्तर्राष्ट्रिय कीर्तिमान कायम गरी राष्ट्रिय गौरव बढाउन ढिलाइ नगरौं । यो काम पनि पुरस्कार, सम्मान–अभिनन्दन ब्युरोमार्फतै गरौं…।

 

 

बिआरटी नेपाल डट कममा प्रकाशित लेख हुबहु साभार नगर्न अनुरोध गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ । धन्यवाद ।