अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२ | Colorodo: 00:47

विश्व स्वास्थ्य संगठनको चेतावनीः “विश्व अनिश्चित भविष्य तर्फ लाग्दैछ”

बिआरटीनेपाल २०७६ चैत १४ गते २२:१० मा प्रकाशित

विश्व स्वास्थ्य संगठनले विश्व अनिश्चित भविष्यतर्फ गईरहेको बताएको छ । कोरोना भाईरस संक्रमणका कारण परिस्थिति थप संकटपूर्ण बन्दै गएका बेला उसले यस्तो बताएको हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संक्रमितको जीवन रक्षाका लागि दिनरात खटिएका स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने पिपिईको अभाव गम्भीर बनेको बताएको छ ।

कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या झण्डै ६ लाख पुगेको छ भने २७ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इकुप्मेन्ट (पिपिई) उत्पादनका लागि पुनः अपिल गर्नुभएको छ । यस्तै उहाँले कोरोना भाइरसका कारण हुने कोभिड–१९ विरुद्ध प्रभावकारी नतिजा नदेखिएका औषधिको प्रयोग रोक्न पनि सुझाव दिनुभएको छ ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उहाँले विश्वभर भइरहेको पिपिईको अभाव अहिलेको सबैभन्दा ठूलो र तात्कालीक चुनौति रहेको उल्लेख गर्दै यसले गर्दा जीवन रक्षा गर्ने संयुक्त प्रयासमा धक्का लाग्ने जोखिम बढेको बताउनुभयो ।

डा. टेडरोसका अनुसार कम तथा मध्यम आय भएका देशका स्वास्थ्यकर्मीले पनि धनी देशका स्वास्थ्यकर्मीले जस्तै सुरक्षात्मक सामग्री पाउनु पर्नेमा जोड दिनुभयो । डब्लुएचओका आपतकालीन अवस्था सम्बन्धी शीर्ष विज्ञ डा. माइक रायनले विश्व अनिश्चित भविष्य तर्फ लागेको बताउनुभयो । कोरोना भाइरसका कारण हुने कोभिड–१९ को जोखिम वृद्ध तथा गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिमा हुने भए पनि ५० वर्षमुनिका १० देखि १५ प्रतिशत व्यक्तिमा पनि मध्यम तथा गम्भीर संक्रमणको जोखिम रहेको डा. रायनले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू