अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३० | Colorodo: 18:45

एनआरएनएको १० अरब लगानी भित्रिँदै छ: कुमार पन्त, अध्यक्ष एनआरएनए

बिआरटीनेपाल २०७६ फागुन २४ गते ८:४२ मा प्रकाशित

लन्डन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीहरूले देशको समृद्धि हेर्न चाहेको बताएका छन् । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) युकेको १५ औँ वार्षिकोत्सवमा सहभागी हुन बेलायत आएका पन्तलाई अल्डरशटस्थित अम्पायर हलमा हिजो बिहीबार साँझ आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै गैर आवासीय नेपालीहरूको सकृयतामा छिट्टै १० अरबको लगानी नेपाल भित्रिने तयारीमा रहेको बताए । पन्तले आफूले नेतृत्व लिँदा सङ्घभित्र चुनौतीका पहाड छेडेर अगाडी बढ्नुपर्ने बाध्यता रहेको बताए । पन्तले गैर आवासीय नेपालीहरूको लगानीमा बालुवाटारमा किनेको जग्गामा दलालले सङ्घलाई फसाएको बताए । उनले भूकम्प पीडितको लागि गोर्खाको लाप्राकमा बन्दै गरेको नमुना बस्तीको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । पन्तले विदेशमा बस्ने नेपालीहरूको लागि गैर आवासीय नेपाली नागरिकता बन्ने निश्चित भएको बताए । अहिले गैर आवासीय नेपालीसम्बन्धी नागरिकताको विषय संसदीय समितिमा छ त्यो अनुमोदन भएपछि नागरिकता पाउने निश्चित छ, पन्तले भने ।सङ्घका महासचिव डा. हेमराज शर्माले विगत ३ महिनामा सङ्घले गरेका गतिविधिका बारेमा प्रकाश पारे ।

उनले गैर आवासीय नेपाली सङ्घ अब स्मार्ट एनआरएनको रूपमा विस्तार गरिने जानकारी दिए । उनले सङ्घभित्र आर्थिक, भौतिक तथा सङ्गठनात्मक सुधारका कामको थालनी गरिएको जनाए ।कार्यक्रमलाई स्वागत मन्तव्य दिदैं गैर आवासीय नेपाली सङ्घ युकेकी अध्यक्ष पुनम गुरुङले विगत ५ महिनामा सङ्घले गरेका गतिविधिका बारेमा प्रकाश पारिन् । उनले एनआरएनलाई राम्रो एनआरएन बनाउने प्रयत्न गर्ने बताइन् । गुरुङले समुदायका सबै पक्षसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाइन् । कार्यक्रम संयोजक तथा संस्थापक मध्यका एक रामशरण सिम्खडाले गैर आवासीय नेपाली सङ्घ युकेको इतिहास खोतल्ने प्रयास गरेका थिए । कार्यक्रममा पत्रकार नरेन्द्र बस्नेतले तयार परेको श्रव्य दृश्यको प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ युकेका पूर्व महासचिव तथा आइसिसी सदस्य भक्त गुरुङले गैर आवासीय नेपाली सङ्घ मुनाफारहित संस्था भएको बताए । उनले भातृ भूमिका लागि केही गरौँ भन्ने भावनाले उत्प्रेरित भएर स्थापना भएको जनाए । उनले गैर आवासीय नेपाली सङ्घ कुनै धार्मिक तथा राजनीतिक संस्था नभएको बताउँदै सबैको छाता संस्थाको रूपमा विस्तार गर्नु पर्ने जोड दिए ।कार्यक्रम अर्का पूर्व महासचिव कृष्ण उपाध्यायले गैर आवासीय नेपाली नागरिकताको मुद्दा सबैको साझा भएको भन्दै गैर आवासीय नेपाली नागरिकताले सबै पक्षलाई समेटेर लैजाने बताए । गैर आवासीय नेपाली सङ्घको सदस्यता चुनावमुखी भएको भन्दै उपाध्यायले भने, ‘सङ्घले नयाँ पुस्ता र पुराना पुस्तालाई जोड्ने कार्यक्रम ल्याउनु पछ ।’ उनले सङ्गठनको स्वरूपमा समेत परिवर्तन गर्न सुझाव दिए ।

कार्यक्रममा यति नेपाली एसोसिएसन युकेका अध्यक्ष ध्रुव केसीले संस्थाको स्थापनाकालको स्मरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली सङ्घ युकेका सल्लाहकार शिवजी श्रेष्ठले गैर आवासीय नेपाली सङ्घ युकेको गत सेप्टेम्बर महिनामा सम्पन्न निर्वाचनमा आर्थिक हिनामिना नभएको बताए । उनले निर्वाचन समितिले गरेको खर्च पूर्ण रूपमा पारदर्शी भएको बताए ।

कार्यक्रमलाई शुभकामना व्यक्त गर्दै सङ्घका पूर्व अध्यक्ष महेन्द्र कँडेलले एनआरएनए अभियानमा थुप्रै नेपालीहरूको योगदान गरेको चर्चा गर्दै सङ्घलाई विघटनको बाटोमा जान दिन नहुने बताए । उनले सङ्घभित्रका व्यक्तिगत तिक्तता मेटाएर अघि बढ्न सुझाव दिए । उनले संस्थाका विवादका विषयलाई आन्तरिक छलफलबाटै टुङ्ग्याउनु पर्नेमा जोड दिए ।सङ्घका संरक्षक सूर्य गुरुङले शुभकामना दिएका थिए भने कार्यक्रममा सयपत्री कल्चर ग्रुपले विशेष सांस्कृतिक कार्यक्रमको प्रस्तुत गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले बेलायत गैर आवासीय नेपाली सङ्घको जननी भूमि भएको कारणले ऐतिहासिक देश भएको बताए । उनले विगत ३ वर्षको आफ्नो कार्यकालमा सङ्घको गतिविधिलाई नजिकबाट नियाल्ने मौका पाएको बताउँदै तेस्रो पुस्ता तयार भइसकेको अवस्थामा दीर्घकालीन कार्यक्रम तय गर्न सुझाव दिए । समारोहमा संस्थापक, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी, सल्लाहकार, केन्द्रीय पार्षद लगायतको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू