अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४० | Colorodo: 23:55

कोलोराडोमा यो वर्षको होली नहुने

बिआरटीनेपाल २०७६ फागुन २२ गते १०:२४ मा प्रकाशित

कोलोराडोमा यो वर्षको होली नहुने भएको छ, बिआरटी नेपालसँगको कुराकानीमा नेपाली घरका अध्यक्ष लछुमन राणाले उक्त कुराको जानकारी दिएका हुन । उनले भने “हालैमा विश्वभर अबिछिन्न रूपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राखेर नेपाली घरको आयोजनामा विगत वर्षहरूमा जस्तै यस वर्ष पनि यही मार्च ८, २०२० आइतबारको दिन ब्राइटनस्थित सनातन मन्दिरमा मनाइने भनिएको होली कार्यक्रम स्थगित गरिएको कुरा सबैमा जानकारी गराउन चाहन्छौँ ।”

अध्यक्ष राणाले सबैमा होलीको शुभकामना दिदै सम्पूर्ण मानव जातिको लागि चिन्ताको विषय बनेको यो कोरोना भाइरसलाई अझ फैलिन नदिई यसबाट आफू जोगिन र अरूलाई पनि जोगाउन हामी सबै लागौँ भन्ने अनुरोध पनि गरेका छन ।

त्यसै गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि यस वर्षको होली नमनाउन आग्रह गरेको छ । भिडभाडमा नजान तथा भेला, सभा, सम्मेलनजस्ता कार्यक्रमहरू आयोजना नगर्न अनुरोध गरेको छ ।विश्व स्वास्थ्य सङ्गठनले नेपाल कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको बताएपछि काठमाडौँ जिल्ला प्रशासनले सूचना जारी गर्दै यस्ता कार्यक्रम नगर्न अनुरोध गरेको हो ।

कोरोना भाइरसले विश्वभर महामारीको रूप लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्षको होली पर्व नमनाउने घोषणा गरेका छन् । संसार भरी, कोरोना भाइरस फैलन रोक्नका लागि विशेषज्ञहरूले एकै स्थानमा धेरै मानिस जम्मा हुनु राम्रो नहुने बताइ रहेका छन् ।

फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू