अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

मातातीर्थको जग्गा जानीबुझी नै मोहीका नाममा दर्ता : डा. भट्टराई

बिआरटीनेपाल २०७६ फागुन १४ गते ७:१२ मा प्रकाशित

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहनुभएका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले मातातीर्थको जग्गा जानीबुझी नै मोहीका नाममा दर्ता गरेको स्पष्टीकरण दिनुभएको छ । चन्द्रागिरि नगरपालिका स्थित मातातीर्थमा रहेको जग्गा २०६९ सालमा तत्कालीन प्रधानमन्त्री डा.भट्टराई नेतृत्वको सरकारले व्यक्तिको नाममा दर्ता गरिदिने निर्णय गरेको थियो ।

१ सय ७२ रोपनी रहेको जग्गा नेपाल ट्रष्टको रहेको जनाउँदै वर्तमान सरकारले फिर्ता गर्ने तयारी गरेको थियो । सरकारले अघि बढाएको प्रक्रियाप्रति आपत्ति जनाउँदै भट्टराईले राजा महेन्द्रका पालामा फर्मायसी दर्ता अनुसार ति जग्गा दर्ता भएको बताउनुभयो । तत्कालीन मन्त्रिपरिषद्ले मोहीले कमाइ आएका नागरिकका पक्षमा जग्गा दर्ता गरिदिएको उहाँले प्रष्ट्याउनुभयो ।

नेता डा.भट्टराइले बालुवाटारको र मातातीर्थको जग्गा नितान्त फरक रहेको बताउनुभयो । जोताहाको नाममा जग्गा दर्ता गर्ने क्रममा नीतिगत, नैतिक रूपमा गडबडी नगरेको डा. भट्टराईको भनाइ छ । हिजो सम्बन्धित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएका भट्टराईले फेरि जग्गा खोसिने त्रासमा स्थानीय नागरिक निद्रा विहिन भएको बताउनुभयो ।

कतिपयको दर्ता बाँकी रहेकाले २०४६ सालमा अनाधिकृत रूपमा फिर्ता गरेको जग्गालाई नै नेपाल ट्रष्टको जग्गा भनी परिभाषित गरेको प्रति भट्टराइको आपत्ति थियो ।

प्रतिक्रिया