अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

दक्षिण कोरियामा नोवेल कोरोनाले महामारीको रुप लिँदै, संक्रमितको संख्या एकदिनमै दोब्बर

बिआरटीनेपाल २०७६ फागुन ११ गते ४:५२ मा प्रकाशित

चीनमा महामारीको रुप लिएको कोभिड–१९ अर्थात नोवेल कोरोना भाइरसको संक्रमण पछिल्लो समय दक्षिण कोरियामा तीव्र रुपमा फैलिएको छ । एक दिनमै दक्षिण कोरियामा नोवेल कोरोना भाइरसको संक्रमण दोब्बर भन्दा बढी भएको हो ।

शनिबार एकै दिन थप २२९ जनामा संक्रमण पुष्टि भएको हो । दक्षिण कोरियामा शुक्रबारदेखि ठूलो संख्यामा संक्रमण देखिएको हो । शुक्रबारयता दक्षिण कोरियामा संक्रमितको संख्या ४३३ पुगेको छ। टेलिभिजन सम्बोधनको क्रममा दक्षिण कोरियाका प्रधानमन्त्री चुङ्ग साई–क्यूनले अवस्था अति गम्भीर बनेको बताउनुभएको छ ।

संक्रमित हुनेहरु अधिकांश दक्षिण कोरियाको दक्षिण–पूर्वी शहर डेइगूका हुन् । सो क्षेत्रको एक अस्पताल तथा धार्मिक समूहमा रहेका मानिसमा संक्रमण भएको हो । अहिलेसम्म दक्षिण कोरियामा नोवेल कोरोना भाइरसका कारण दुईजनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या अझै बढ्न सक्ने अनुमान छ ।

डेइगु र अस्पताल रहेको चोङ्डू शहरलाई दक्षिण कोरिया सरकारले ‘स्पेशल केयर जोन’ घोषणा गरेको छ । डेइगू क्षेत्रको बाटो प्रयोग नगर्न सुझाव समेत दिइएको छ । चीन बाहिर सबैभन्दा धेरै मानिसमा कोभिड–१९ को संक्रमण भएको देश दक्षिण कोरिया बनेको छ।

चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै २३ सय ४५ जनाको मृत्यु भइरसकेको छ । चीनमा पछिल्लो केही दिनयता नयाँ संक्रमणको दर केही कम भएको छ । यस्तै जापानमा क्वारेन्टाइनमा राखिएको डायमण्ड प्रिन्सेज क्रुज सिपमा रहेका मध्ये ६०० जना भन्दा बढीमा कोभिड–१९ को संक्रमण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू