अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१६ | Colorodo: 14:31

अमेरिकामा हिपहप सङ्गीतमा आफ्नो पहिचान बनाउँदै नेपाली मूलका कर्टिस वाटर्स

बिआरटीनेपाल २०७६ माघ १८ गते २१:४५ मा प्रकाशित

नर्थ क्यारोलाइना, पछिल्लो समय पाश्चात्य गीत सङ्गीतमा नेपाली मूलका युवा पुस्ताको आकर्षण बढ्न थालेको छ । उत्तर अमेरिकाको हिप-हप सङ्गीतमा आफ्नो पहिचानका लागि संघर्षरत अमेरिकाको नर्थ क्यारोलाइना निवासी नेपाली मूलका कर्टिस वाटर्सको साङ्गीतिक भिडियो ‘फ्रेकल्स’ हालै लिरिकललेमोनेड डट कम (LyricalLemonade.com) ले सार्वजनिक गरेको छ । कर्टिस वाटर्सको शब्द , सङ्गीत र स्वरमा रहेको उक्त गीतको भिडियोको निर्देशन रायन टेम्केले गरेका छन् । लिरिकललेमोनेड डट कम (LyricalLemonade.com) का अनुसार यो गीतमा कर्टिस वाटर्सको भावना, इमान्दारिता र निर्दोषिता झल्किन्छ । यो गीतको साङ्गीतिक भिडियो सार्वजनिक गर्दै कर्टिस वाटर्सले आफ्नो दोस्रो एल्बम “पिटी पार्टी” केही समयमा नै बजारमा ल्याउने घोषणा गरेका छन् । कर्टिसका अनुसार उनको नयाँ एल्बम एल्बल भ्यालेन्टाइन डे अर्थात् फेब्रअरी १४ देखि बजारमा औपचारिक रूपमा आउने छ । एल्बममा १० वटा गीत छन् जसलाई कर्टिस आफ्नै रचना, सङ्गीत र स्वर रहेको छ । एल्बममा यसअघि रिलिज भएका एकल गीत ‘टक्सिक’ र ‘द फिलिङ्स टेन्ड टु स्टे द सेम’ समेत समावेश गरिएको छ ।

नयाँ एल्बममा विभिन्न साङ्गीतिक विधा संयोजन गरिएको छ । योसँगै उनले प्रयोगात्मक सङ्गीतमा नयाँ छलाङ मारेका छन् । उनले नयाँ एल्बममा र्‍याप, रक, रिदम एण्ड ब्लुज, पप र प्रविधिको संयोजन गर्दै युवायुवतीबिचको प्रेम, यौनिकता, किशोर र युवा मनस्थिति तथा अस्तित्व खोजीसँग जोडिएका भावनाहरू अभिव्यक्त गर्ने प्रयास गरेका छन् ।

नेपालमा जन्मेर क्यानडाको क्यालगरीमा हुर्केका सङ्गीतकार वाटर्सले सन् २०१८ मा आफ्नो पहिलो एल्बम “प्रोम नाइट” बजारमा ल्याएर दर्शक/श्रोतामाझ पहिलो छाप छोड्न सफल भएका थिए । ‘वाटर्सको हाइ स्कुलको अनुभवमा आधारित प्रोम नाइटले श्रोताको मन जित्नुका साथै कम्प्लेक्स, साइड वाक, हसल र इअरमिल्क जस्ता साङ्गीतिक प्रकाशनहरूको तारिफ र प्रशंसा बटुल्न सफल भएको थियो । कर्टिसको पहिलो एल्बम अनुपम र मन लोभ्याउने भन्दै न्युयोर्कस्थित मिडिया प्लेटफर्म कम्प्लेक्सले प्रशंसा गरेको छ । कर्टिसले किशोरावस्थाको भावना र संवेगलाई इमान्दारिता र सरल तरिकाले व्यक्त गरेका छन् र यस्तो कुरा सबै गीतमा पाउन सकिन्नँ’, कम्प्लेक्सले भनेको छ ।

‘यो एल्बम अनुपम छ र शब्द सबैभन्दा आकर्षक छन् । सन् असीको दशकको ड्रम ब्रेक डाउनलाई र्‍यापमा अरूले विरलै समावेश गरेको पाइन्छ’, वाटर्सको पहिलो एल्बमको तारिफ गर्दै कम्प्लेक्सका जोसे फाइन क्रुजले भने । सन् २०१९ मा समेत वाटर्सले आफ्नो साङ्गीतिक यात्रालाई थप निरन्तरता दिए । सोही वर्ष रिलिज भएको उनको एकल गीत ‘द फिलिङस् टेन्ड टु स्टे द सेम’लाई क्रिटिक तथा फ्यानले निकै मन पराएका थिए ।

हालै सार्वजनिक भएको उनको साङ्गीतिक भिडियो ‘फ्रेकल्स’को लिंक:

‘यो गीतको प्रशंसा गर्दै म के भन्न चाहन्छु भने गितारको मधुर धुन रहेको गीतलाई मन पराउनु बाहेक अर्को विकल्प नै छैन’, लिरिकल लेमोनेडका सिमस फेले भनेका थिए, ‘वाटर्स परफेक्ट नहुन सक्छन्, र हामी कोही पनि पूर्ण छैनौँ तर मधुर धुन र गीतको खुला भावले हामी सबैको मन शान्त बनाउँछ ।’

‘फ्रेकल्स’ सार्वजनिक भएपछि स्पार्की म्यागेजिनको आर्टिस्ट फिचरमा केविन जिनले लेखेकाछन, “यो गीतले श्रोतालाई पार्टीमा होस् कि अन्य जमघटमा होस् खुसीले नचाउँछ, स्वर र सङ्गीतको अनुपम संयोजनले गीतलाई विशेष बनाएको छ , यसले श्रोताको मन जित्ने छ ।” केविनले कर्टिसलाइ अन्य समकालीन पाश्चात्य सङ्गीतका हस्तीहरूसँग तुलना गर्दै कर्टिसले आफ्ना भोगाइ र मानवीय समवेदनालाई राम्रो संयोजन गरेका छन् भनेका छन् ।

अमेरिका र क्यानडाका विभिन्न कलाकारहरूले कर्टिस वाटर्ससंग सहकार्यमा विभिन्न गीतहरू गरेका छन् भने उनले बेलाबेलामा एकल साङ्गीतिक प्रस्तुति समेत दिएका छन् । सन् २०१७ मा क्यानडाको टोरन्टोमा भएको अन्तर्राष्ट्रिय बिट ब्याटल प्रतियोगितामा थुप्रै प्रतिस्पर्धी लाई पछि पार्दै उत्कृष्ट आठमा पर्न सफल भएका थिए ।उनी पाश्चात्य सङ्गीतमा लाग्न चाहने किशोर र युवा पुस्ताका लागि उदाहरणीय बनेका छन् । उनका सिर्जनाहरू स्पोटीफाई, साउन्ड क्लाउड, युट्युब आदि प्ल्याटफर्महरूमा हेर्न र सुन्न सकिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू