अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३९ | Colorodo: 14:54

प्रतिनीधिसभाको सभामुखमा अग्नी सापकोटा निर्विरोध, आइतवार आधिकारीक घोषणा हुने

बिआरटीनेपाल २०७६ माघ ७ गते ६:३५ मा प्रकाशित

प्रतिनीधिसभाको सभामुख पदमा नेकपाका नेता अग्निप्रसाद सापकोटा निर्विरोध हुनु हुने भएको छ । उहाको मात्रै उम्मेदवारी परेको संसद सचिवालयले जानकारी दिएको छ । निर्विरोध हुने भएपनि त्यसको आधिकारीक घोषणा भने आइतवार मात्र हुने भएको छ ।

सापकोटालाई सभामुखमा निर्वाचित गराउनका लागि संविधानसभा अध्यक्षसमेत रहेका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको छ । सापकोटाको समर्थनमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्वसभामुख ओनसरी घर्ती र राजपा नेता लक्ष्मणलाल कर्ण रहनु भएको छ ।

सभामुखमा उम्मेदवारी दर्ताका लागि संसद सचिवालयले मंगलबार ११ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरेको थियो । उक्त समयमा सापकोटाको मात्रै उम्मेदवारी परेको संसद सचिवालयले जानकारी दिएको छ । कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिलामाथि बलात्कार प्रयासको आरोप लागेपछि सभामुखबाट असोजमा राजीनामा गर्नुभएको थियो ।

सोमबार उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि राजीनामा गरेपछि नेकपाले सभामुखमा उम्मेदवारी दिएको हो । उपसभामुखमा भने कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भएको छैन । सभामुख चयन भएपछि उपसभामुखको निर्वाचन हुने संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू