अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०३ | Colorodo: 06:18

अमेरिकाको चार राज्यमा एकै पटक . . .

बिआरटीनेपाल २०७६ पुष २६ गते १०:३९ मा प्रकाशित

कोलोराडो । एउटा मान्छेलाई जम्मा जम्मी ६ फिट जमिन भए पुग्छ । उबेलाका सामन्तहरूलाई विश्व प्रसिद्ध साहित्यकार लियो टल्स्टयले आफ्नो चर्चित लघुकथा ‘हाउ मच ल्यान्ड डज अ म्यान नीड ?’ बाट यसै भनेका छन् । त्यति जमिन मृत शरीर गाड्नका लागि हो । तर, मानिसले चाहेमा ऊ चार विशाल राज्यमा एकै पटक सशरिर उपस्थित हुन सक्छ । यो कुनै वैज्ञानिक आविष्कार पनि होइन । पत्याउनु भएन ? त्यसो भए आउनुहोस् टिक नोस पोस एरिजोना (Teec Nos Pos, Arizona)।

टिक नोस पोस एरिजोना एउटा ठाउँ हो जहाँ फोर कर्नर मनुमेन्ट छ । यो यस्तो स्मारक हो जहाँ कोलोराडो, एरिजोना, युटा र न्यु मेक्सिको अर्थात् चार वटा राज्यको सीमा जोडिएको छ । सीमा जोडिएको बिन्दुमा तपाईँ उभिन सक्नुहुन्छ । बस्न सक्नुहुन्छ वा सुत्न सक्नुहुन्छ । त्यसरी फोटो खिचेर एकै पटक ४ राज्यमा आफ्नो उपस्थिति रहेको प्रमाण पेस गर्न सक्नुहुन्छ । त्यही भएर टिक नोस पोस एरिजोनाको आकर्षण अनौठो छ । त्यहाँ पर्यटक ४ राज्यमा एकै पटक उपस्थित भएको फोटो खिच्न पुग्छन् ।

यो अनौठो ठाउँमा पित्तलको गोलाकार आकृति बनाइएको छ । त्यसमा ४ तिरबाट धर्का आएर बिचमा जोडिन्छ । ती धर्काहरू ४ राज्यको सीमारेखा हुन् । कोलोराडोको डेनभरबार करिब ४५० माइलमा रहेको उक्त फोर कर्नर मनुमेन्ट भएको ठाउँ कुनै बेला मेक्सिकोको भूभाग थियो । सन् १९४८ मा भएको मेक्सिको–अमेरिका युद्धपछि यो भाग अमेरिकी भूभागमा गाभियो । पछि विभिन्न राज्यमा विभाजन गरियो । विभाजन भएको बिन्दुमा सन् २०१२ मा ऐतिहासिक पित्तलको गोलाकार स्मारक बनाइयो ।

यो क्षेत्रमा अरू त्यस्तो आकर्षण त छैन । तर, यहाँको ड्राइभिङ सास रोक्ने खालको हुन्छ । विशेष प्रकारका स्थानीय सामाग्री किनमेलका साथै पर्यटकले आकर्षक नाभहो हस्तकला पनि किनमेल गर्न सक्छन् । फोर कर्नर मनुमेन्ट ४ वटा राज्य जोड्ने एक मात्र स्थान भए पनि कोलोराडो–कन्सस–नेब्रास्का ट्रिप्वाइन्ट, कोलोराडो–नेब्रास्का– वायोमिङ लाइन र कन्सस– कोलोराडो –अक्लोहोमा ट्रिस्टेट प्वाइन्ट पनि छन् जसले ३ वटा राज्यलाई जोडेको छ । त्यस अतिरिक्त मेसा भर्ड नेसलनल पार्क, ड्युरांगो टाउन र क्यानन्स अफ एन्सिन्ट्स यहाँका आकर्षण हुन् ।

फोटो: गुगल सर्च

प्रतिक्रिया