अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

अमेरिकाले शरण खोज्नेलाई हण्डुरस पठाउने

बिआरटीनेपाल २०७६ पुष २ गते २०:४१ मा प्रकाशित

एजेन्सी । अमेरिकी सरकारले शरण खोज्ने आप्रवासीलाई हण्डुरस पठाउने तयारी गरिरहेको छ । लस एञ्जेलस टाइम्सले सरकारले त्यस्तो तयारी गरिरहेको कागजात फेला पारेको दाबी गरेको छ ।

त्यस अनुसार अमेरिका र हण्डुरसबीच गत २५ सेप्टेम्बरमा न्यु योर्कमा एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी केभिन म्याकएलिनान र हण्डुरसका विदेश मन्त्री मरिया डोलोरेज अग्युएरोले हस्ताक्षर गरेका छन् । उक्त समझदारी पत्र अनुसार अमेरिका– मेक्सिको सीमा क्षेत्रमा शरण खोजिरहेका परिवार र वयस्क मानिसलाई हण्डुरस पठाउन सकिने छ । त्यस्तो प्रावधान भएको समझदारी पत्रको प्रतिलिपि स्रोतले उपलब्ध गराएको लस एञ्जेलस टाइम्सले जनाएको छ ।

यस अघि यही वर्ष ग्वाटेमालासँग पनि अमेरिका– मेक्सिको सीमा क्षेत्रमा शरण खोजिरहेका परिवार र वयस्क मानिसलाई ग्वाटेमाला पठाउन सकिने समझदारी भएको थियो । त्यसअनुसार अन्य देशका नागरिक समेत ग्वाटेमाला पठाउन सकिने छ । ग्वाटेमालासँग भएको उक्त समझदारी गत २२ नोभेम्बरदेखि कार्यान्वयनमा आएको छ । अन्य देशका नागरिक ग्वाटेमाला पठाउन सकिने व्यवस्था टेकेर अमेरिकी अधिकारीहरूले थुप्रै हण्डुरसी जबरजस्ती ग्वाटेमाला पठाएको उक्त पत्रिकाले जनाएको छ । साथै गत सातादेखि हण्डुरसी परिवार समेत ग्वाटेमाला पठाउन थालेको पुष्टि हुने युएस सिटिजनशीप एण्ड इमिग्रेसन सर्भिसेसका अधिकारीहरूको वार्तालापको प्रति पनि फेला पारेको उक्त पत्रिकाले जनाएको छ ।

हण्डुरससँग भएको समझदारी पत्रमा हण्डुरसले शरणार्थी अस्वीकार गरेका कसैले पनि अमेरिकामा शरण माग्न नपाउने प्रावधान राखिएको छ । नयाँ समझदारी पत्र दक्षिणी सीमा क्षेत्रमा शरण माग्नेमाथि कडाइ गर्ने उद्देश्य अनुरूप गरिएको हो । ट्रम्प प्रशासनले एल साल्भाडोरसँग पनि यस्तो समझदारी गरेको छ ।

समझदार पत्रको विषयमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका प्रवक्ताले प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू