अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९ | Colorodo: 04:24

अमेरिकाको तमु ल्होसारमा दोहोरी गीत

गायक मीन के सी र गायिका सिता गुरुङको दोहोरी गीत

बिआरटीनेपाल २०७६ मंसिर २९ गते १२:०३ मा प्रकाशित

कोलोराडो, अमेरिकाको कोलोराडो राज्यको ब्रुमफिल्ड सहरमा गुरुङ समुदायले ल्होसार पर्व मनाउने भएका छन् । तमु धि कोलोराडोका अध्यक्ष चन्द्र गुरुङले बिआरटी नेपाललाई दिएको जानकारी अनुसार यो पल्ट ल्होसार आइतबार, डिसेम्बर महिनाको २९ तारिखमा ब्रुमफिल्डको मिना रेस्टुरेन्टमा हुनेछ । साँझ ५:३० देखी सुरु हुने उक्त कार्यक्रम बुद्ध धर्म परम्परा अनुसार पूजा अर्चना गरी ल्होसार पर्व मनाउने भएकोले अध्यक्ष गुरुङले सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिको लागि अनुरोध गरेका छन ।

तमु ल्होसार विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाउँदै आएकोमा यो वर्ष दोहोरी गीतको आयोजना गरेको संस्थाका महासचिव भुवन गुरुङले बिआरटी नेपालसँगको कुराकानीमा बताएका छन् । ल्होसार पर्वले गुरुङहरूको संस्कृतिलाई जगेर्ना गर्न र प्रवर्धन गर्न तथा गुरुङ संस्कृतिलाई अन्तर्राष्ट्रियकरण चिनाउन पनि बर्सेनि तमु ल्होसार मनाउँदै आएको महासचिव गुरुङले बताएका छन् ।

कार्यक्रममा गायक मीन के सी र गायिका सिता गुरुङको दोहोरी गीत, साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिहरू सँगै विभिन्न गुरुङ जातिको पहिचान झल्काउने विविध सांस्कृतिक प्रस्तुति, स्वादिष्ट भोजन सहित आपसमा सदभाब र शुभकामना साट्ने कार्यक्रम रहेको छ ।

यो वर्ष मृग वर्ग अर्थात् फो ल्होको बिदाइ र मुसा वर्ग अर्थात् च्यु ल्होको स्वागतमा ल्होसार मनाउन लागेको अध्यक्ष गुरुङले बताएका छन् । ल्होको अर्थ वर्ग (वर्ष) र छारको अर्थ नयाँ हुने भएकोले ल्होसारलाई गुरुङहरूले नयाँ वर्षको रूपमा मनाउने चलन छ । तमु जातिले वर्गको आधारमा उमेर गणना गर्छन् ।

सोसाइटीले सम्पूर्ण गुरुङहरू एकजुट हौँ, संस्कार र संस्कृतिको जगेर्ना गरौँ भन्ने मूल नाराका साथ कोलोराडोमा ल्होसार पर्व मनाउँदै आएको छ । गुरुङ जातिले विभिन्न १२ ओटा जीव जन्तुहरूको चक्रलाई आधार मानेर प्रत्येक वर्ष नयाँ वर्षको रूपमा ल्होसार मनाउने गरेको छ ।

गुरुङ ल्होसार मुसा वर्ग अर्थात् च्यु ल्होको शुभ अवसरमा धूमधाम रूपले गुरुङ ल्होसार मनाउने भएको हो” अध्यक्ष गुरुङ भन्छन्, स्थापना काल देखि नै आफ्नो भाषा, भेषभुषा, संस्कृति, कला तथा परम्परालाई प्रवासमा रहेता पनि प्रवर्धन र जगेर्ना गर्न अहम् भूमिका खेल्दै समाजले यी क्रियाकलापलाई निरन्तरता दिने कुरामा कटिबद्ध रहेको छ ।

यस कार्यक्रमको बिआरटी नेपाल डट् कमको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिने छ ।

फायल फोटो

प्रतिक्रिया