अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२ | Colorodo: 22:47

बूगनभिलमा नयाँ स्वतन्त्र राष्ट्रको पक्षमा मतदान, नयाँ देश थपिने सम्भावना

बिआरटीनेपाल २०७६ मंसिर २५ गते ५:५५ मा प्रकाशित

अफ्रिकी देश पपुवा न्यु गिनीमा पर्ने आइल्याण्डहरुको समूह बूगनभिलका बासिन्दाले स्वतन्त्रताको पक्षमा मत दिएका छन् । पपुवा न्यू गिनीबाट स्वतन्त्र भएर नयाँ राष्ट्र बन्नु पर्ने माग गर्दै आएका बूगनभिलका बासिन्दाले जनमतसंग्रहमा नयाँ स्वतन्त्र राष्ट्रको पक्षमा मत दिएका हुन् ।

बूगनभिलमा भएको जनमतसंग्रहमा मतदातालाई दुई विकल्प दिइएको थियो । मतदाताले स्वायत्ततासहित पपुवा न्यू गिनीमै रहने वा स्वतन्त्र राष्ट्र बनाउने भन्ने विकल्पमा एक रोज्नु पर्ने थियो । मतदान गरेका एक लाख ८१ हजार मानिस मध्ये ९८ प्रतिशत मतदाताले स्वतन्त्रताको पक्षमा मत दिएका छन् ।

पपुवा न्यु गिनी सरकारको स्वीकृतिमा जनमतसंग्रह भएको हो । तर यसको नतिजा कार्यान्वयन गर्नु पर्ने बाध्यता भने छैन । र पनि जनमतसंग्रहको नतिजाले पपुवा न्यु गिनीमाथि बूगनभिललाई स्वतन्त्रता प्रदान गर्न दबाब भने बढाएको छ ।

बूगनभिलमा झण्डै तीन लाख मानिसको बसोबास छ । त्यसमध्ये २ लाख ६ हजार ७३१ जनाले जनमतसंग्रहमा मतदानका लागि आफ्नो नाम दर्ता गराएका थिए । त्यसमध्ये एक लाख ८१ हजार ६७ जनाले मतदान गरे । स्वतन्त्रताको पक्षमा १ लाख ७६ हजार ९२८ तथा अधिक स्वायत्तताको पक्षमा ३ हजार ४३ मत परेको हो ।

एक हजार ९६ मत भने बदर भयो । बूगनभिल जनमतसंग्रह आयोगका प्रमुख रहेका आयरल्याण्डका पूर्व प्रधानमन्त्री बर्टी अहर्नले बुकामा नतिजा घोषित गरेका हुन् । बूगनभिलमा सन् १९८८ मा स्वतन्त्रताको माग गर्दै युद्ध सुरु भएको थियो । ९ वर्षसम्म चलेको युद्धले त्यहाँको अर्थतन्त्र धरासायी बनाएको थियो ।

बूगनभिलमा स्वायत्त सरकार बनाउने सहमति भएपछि युद्ध रोकिएको थियो । त्यो बेला अबाध्यकारी जनमतसंग्रहको प्रतिबद्धता पनि जनाइएको थियो । त्यसै अनुसार अहिले जनमतसंग्रह भएको हो । बाध्यकारी नभएकाले स्वतः स्वतन्त्रता भने मिल्ने छैन बूगनभिललाई, तर त्यहाँको जनताको मत भने स्पष्ट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू