अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 16:07

प्रधानमन्त्री ओली आज अस्पताल जाँदै

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते ०:०५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि शनिबार पुनः ग्रान्डी अस्पताल जानुहुने भएको छ । उहाँले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा ‘फलोअप’ का लागि अस्पताल जान लागेको जानकारी गराउनुभएको थियो ।

यसपाली प्रधानमन्त्री ओलीको मिर्गौलाबाट स्टेन्ट निकालिनुका साथै अरू नियमित जाँच पनि हुने बताईएको छ । ग्रान्डी अस्पतालमा उपचार गरेर फर्किएपछि उहाँको फेरि डायलसिस गर्नुपरेको छैन । सुरुमा नियमित डायलसिस गर्नुपर्ने बताइए पनि पछि प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको भन्दै आवश्यक परेका बेला मात्रै डायलसिस गरे हुने राय चिकित्सकहरूले दिएका थिए ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि पनि बेलाबेला बिरामी हुँदै, निको हुँदै गरेका उहाँले गत साउन र भदौमा गरी दुईपटक सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउनुभएको थियो । त्यहाँ प्लाज्माफेरेसिस पद्धतिबाट उहाँको शरीरमा रहेको एन्टिबडी नष्ट गरिएको थियो ।

सिंगापुरबाट फर्किएपछि नै सार्वजनिक कार्यक्रममा निकै कम जान थाल्नुभएका प्रधानमन्त्री ओलीले बालुवाटारमै बसेर सक्रियता बढाउनुभएको छ । प्रधानमन्त्रीलाई चिकित्सिकहरूले नै धपेडी हुने काम नगर्न सुझाव दिंदै आएका छन् ।

 

प्रतिक्रिया