अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२२ | Colorodo: 07:37

अमेरिकाको कोलोराडोमा नेपाली भाषा पाठशालाको दीक्षान्त समारोह सम्पन्न

बिआरटीनेपाल २०७६ कार्तिक १० गते १४:१८ मा प्रकाशित

अरोरा, कोलोराडो निवासी नेपालीहरूबाट यो वर्ष देखी सञ्चालनमा आएको अरोरा नेपाली पाठशालाको पहिलो दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ ।

जुनियर र सिनियर दुई ग्रुपमा विभाजित गरेर सञ्चालन गरिएको उक्त पाठशाला मे २०१९ देखी सुरु भएको थियो । विद्यार्थीहरूलाई नेपाली भाषा बोल्ने, लेख्ने र पढ्ने क्षमता अभिवृद्धि गर्ने प्रयास गरिएको यस शैक्षिक सत्रमा ५ देखि १८ वर्ष उमेर समूहका ४५ जना विद्यार्थीहरूको सहभागिता थियो ।

विद्यार्थीहरुबाट नेपाली राष्ट्रिय गान प्रस्तुत गर्दै सुरु गरिएको कार्यक्रममा सञ्चालक राजु खनालले स्कुलको आर्थिक विवरण बारे प्रस्ट पारेका थिए । विद्यार्थीहरूका तर्फबाट श्रेया पोखरेल, अभिभावकहरूको तर्फबाट सोम बराल, शिक्षकको तर्फबाट राजेन्द्र सिग्देल र स्कुल व्यवस्थापनको तर्फबाट पदम विश्वकर्माले आफ्नो मन्तव्य राखेका थिए ।

जुनियर विद्यार्थीहरुलाइ शिक्षिकाहरू सिलसिला थापा कार्की र पेमा भुटियाले ग्र्याजुएसनको प्रमाण पत्र दिएका थिए भने सिनियर विद्यार्थीहरुलाइ शिक्षक राजेन्द्र सिग्देलले वितरण गरेका थिए । शिक्षक/शिक्षिकाहरू र स्वयम् सेवकहरूलाई पदम विश्वकर्माबाट सम्मान पत्र प्रदान गरिएको थियो । त्यसै गरी नियमित रूपमा पाठशाला आउने दुवै समूह बाट एक-एक विद्यार्थीलाई पुरस्कार शैलेश पोखरेलबाट वितरण गरिएको थियो । उक्त पुरस्कार पाउनेहरूमा सिनियर तर्फ जयल ढकाल र जुनियर तर्फ यरोन श्रेष्ठ रहेका थिए ।

मे महिनाको ४ तारिखदेखि अक्टोबर महिनाको २६ तारिख सम्म हरेक शनिवार २ देखि ४ बजेसम्म सञ्चालित यस नेपाली भाषा कक्षाको आगामी सेसन अर्को सालको मे महिनाबाटै सुरु हुने जानकारी पनि गराइएको थियो । कार्यक्रमको बिआरटी नेपाल डट कमको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रतिक्रिया