अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०३ | Colorodo: 11:18

सङ्घियताको खिल्ली

केशव प्रसाद रुपाखेती २०७६ कार्तिक ५ गते २०:२९ मा प्रकाशित

जनताद्वारा शासन गर्ने जनताको लागि
शासन सत्ता चलाउनलाई सबै सहभागी।
निरङ्कुश तन्त्र फाल्न भयो जनक्रान्ती,
अझैसम्म जन मनमा भएन नि शान्ति ।।

जनताद्वारा विधान लेखी समावेशी शासन,
सुरु हुन्छ भन्दै गर्थे तिनले चर्का भाषण।।
लोकतन्त्र आएको नि वर्षौँ बितिगयो,
गरिब जनको इच्छा सबै हुरी आई लग्यो ।।

भोकै पेटमा गरिबले हान्छन् बेल्चा गैंती,
नेताहरूलाई राजनीति भयो लैनो भैँसी ।।
स्वार्थ मिल्दा सबै दलको केमेस्ट्री नै मिल्ने,
मिलीजुली एकजुट भई सर्वस्व नै निल्ने ।।

राक्षस झैँ जुधी रहन्छन् स्वर्ग जस्तो ठाउँमा,
दर्जन जति राजा आए सङ्घीयताको नाउँमा।।
विदेशीको इसारामा हाम्रो देशमा शासन,
लाज पचाई गरी हिँड्छन् ठूलाठूला भाषण।।

धनको तेज बलको तेज पावर तेज र धम्की,
सर्वसाधारण माथि गर्ने यिनले लम्कीझम्की।।
देश लुट्ने भाषण चुट्ने यिनलाई सधैँ चैन,
सोझा सिधा नागरिकलाई मात्रै लाग्ने ऐन।।

सङ्घीयताको नाउमा देश सात टुक्रा भयो,
विकास गर्ने पैसा सबै भत्तामा नै गयो ।।
खर्च मात्रै सङ्घीयतामा काम केही होइन,
भ्रमण, भाषण उद्घाटनमा बितेका छन् दिन।।

सिको गरी विदेशीको सङ्घीयता ल्याएको,
दलका हुक्के झोलेहरू सबले जागिर पाको।।
प्रमाणित भो प्रदेश सरकार काम छैनन् अब,
काम जति गाउँ/नगरले गरेपछि सब।।

एकजुट बनौँ सबै मिली सङ्घीयता हटाऊँ,
गाउँ/नगर केन्द्रलाई विकासमा खटाऊँ।।
मान्नु छैन कुरा हामलाई पश्चिमेली शेषको,
एकात्मक शासन बाटै भलो हुन्छ देशको ।।

प्रतिक्रिया