अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३१ | Colorodo: 09:46

राम साइँला

बाबा बस्नेत २०७६ कार्तिक ५ गते १०:४४ मा प्रकाशित

हिउँ फुलहरू फुलाउन
जीवनको भारी खेप्दा खेप्दै
हिउँ पहिरोमै तिमी पुरिएपछि
मेरो जोबनका गुराँसहरू
भन्ञ्ज्याङ्गमा फुल्न छोडेर
परेलीमै बास माग्न आइपुगेका छन्
म के गरूँ
भनन राम साइँला?

इच्छा फाँटमा
इन्द्रेणी सपना हराएर
उत्साहको ठेकीभित्र फुर्किँदै
मारुनी मदानी
छमछमी नाच्न छोडेपछिq
सकिन मैले आँसुलाई फुल बनाउन !
सकिन उमेर जगाएर
रहरको फिरफिरे घुमाउन

त्यसैले आजभोलि म
रनभुल्लमा परेकी छु !

धोबी चरो
किन गीतमा बैँस कोरल्दै
मलाई जिस्काई रहन्छ?

तिम्रो बिछोडको तिखो काँडा बिझेर
कण्ठ रक्ताम्मे भएको बेला
अहँ ! सक्दिन म ,
उसित मस्किँदै बयेली खेल्न !

झिसमिसेमा
कामुक घडा घोप्टाउँछ
मेरा नशानदिमा उत्ताउलो घाम
साँझ नओर्लँदै पर डाँडाबाट
कुत्कुत्याउन आउँछ मलाई तन्नेरी जून !
अन्धाधुन्ध बाँध्न खोज्छ
आफ्नो अङ्गालोमा
चञ्चले बतास !

कति कठिन छ
हिउँमा रोपिएर
हिमाल फुल्नु…

राम साइँला !
भनिदेऊ न
घाम, जून र बतास सबैलाई
यो हिउँ खेतमा
उम्रँदैन कुनै उत्तेजक बीउ !

थाहा छैन मलाई
तिमी बनेर
हिउँ कहिले फुल्छ होला – हिमालमा ?

प्रतिक्रिया