अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१० | Colorodo: 03:25

अमेरिकी राष्ट्रपति कार्यालयले ट्रम्पमाथिको महाअभियोग अनुसन्धानमा सहयोग नगर्ने

बिआरटीनेपाल २०७६ असोज २२ गते ८:३१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानमा सहयोग नगर्ने औपचारिक रुपमा बताएको छ। राष्ट्रपति कार्यालयले तल्लो सदनले सुरु गरेको अनुसन्धानमा सहकार्य या सहयोग नगर्ने स्पष्ट पारेको हो। ह्वाइट हाउसले महाभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिरहेका डेमोक्र्याटिक नेतालाई पत्र लेखेर सहकार्य गर्न अस्वीकार गरेको हो।

पत्रमा ह्वाइट हाउसले भइरहेको अनुसन्धान आधारहिन र संवैधानिक रुपमा अवैध रहेको आरोप लगाएको छ। डेमोक्र्याटिक पार्टीको नेतृत्वमा रहेको तल्लो सदनका तीन कमिटीले महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिरहेका छन्। ती समितिले राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीबीचको टेलिफोन संवादमा आधारित ट्रम्पले पदीय शक्तिको दुरुपयोग गरे–नगरेको सम्बन्धमा अनुसन्धान गरिरहेका छन्।

ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई जो बाइडेन तथा उहाँका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान सुरु गर्न आग्रह गरेको खुलेको छ। ट्रम्पले त्यसका लागि बाध्य पार्न अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोगलाई ‘हतियार’ बनाए–नबनाएको सम्बन्धमा तल्लो सदनका कमिटीले अनुसन्धान गरिरहेका छन्। ट्रम्पले आफ्नो राजनीतिक स्वार्थका लागि विपक्षी नेतामाथि अनुसन्धान गर्न विदेशी शक्तिलाई बाध्य पारेको आरोप छ।

जो बाइडेन आउँदो वर्ष अमेरिकामा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार हुने होडमा हुनहुन्छ । उहाँ उम्मेदवारीको होडमा सबैभन्दा अघि हुनुहुन्छ । ट्रम्पले आफ्ना सम्भावित प्रतिस्पर्धीको राजनीतिक छवी धुमिल पार्न विदेशी शक्तिको प्रयोग गरेको आरोप छ। ट्रम्पले ती आरोप अस्वीकार गर्दै आउनुभएको छ र खुला रुपमै चीनले पनि जो बाइडेन तथा हन्टर बाइडेनमाथि अनुसन्धान गर्नु पर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू