अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५० | Colorodo: 16:05

नेपाली कांग्रेसमा शीर्ष नेताबीच आरोप–प्रत्यारोप

बिआरटीनेपाल २०७६ भदौ २० गते ७:४६ मा प्रकाशित

भक्तपुरको बोडेमा शुक्रबारबाट शुरु भएको नेपाली कांग्रेसको दुईदिने प्रशिक्षण कार्यक्रममा काग्रेसका शीर्ष नेताबीच नै आरोप–प्रत्यारोप चलेको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा शुरू भएको कार्यक्रमको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रुखमा पानी हालेर उद्घघाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै सभापति देउवाले चुनावमा पार्टीमा अन्तर्घात गर्नेलाई कुनै हालतमा कारबाही गरिने बताउनुभयो।

स्वतन्त्र रुपमा लेख्न र बोल्न नपाउने देशमा लोकतन्त्र फस्टाउन नसक्ने टिप्पणी गर्दै उहाँले प्रजातन्त्रका लागि नेपाली कांग्रेसले २००७ सालदेखि लड्दै आएको र अबपनि लड्ने बताउनुभयो । पार्टी सभापति देउवाले सरकारले एकदलीय सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउदै त्यसलाई कुनै हालतमा कांग्रेसले मान्दैन भन्दै सरकारविरुद्ध एक भएर आवाज उठाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेता रामचन्द्र पौडेलले सरकारको गलत कामलाई कांग्रेसले आवाज उठाउन काग्रेस सही बाटोमा हिँडे मात्रै देश सही बाटोमा हिड्ने उल्लेख गर्दै पुरानै अन्धविश्वास, गुट उपगुटको एउटा÷एउटा हाँगो समातेर अन्धविश्वास तर्फ धेकेलिदै गएको कांग्रेस नभई लोकतान्त्रिकरण गरेर जनताले खोजेको कांग्रेस बनाउनु जरुरी रहेको बताउनुभयो । उहाँले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काम गर्न सकेनौ, प्रतिगामीले मुन्टो उठाए भन्नु र प्रधानमन्त्रीले लोकतन्त्र खतरामा पर्यो भनेर सर्वदलीय बैठक बोलाई हारगुहार गर्नुले सरकार सफल हुन नसकी आत्तिएको आरोप लगाउनुभयो ।

नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस भित्र बृहत एकता र सम्बन्ध विस्तार हुनुपर्ने औल्याउदै कांग्रेसका नेता कार्यकर्तामा नयाँ चेतना आउनु पर्ने भनाइ राख्नुभयो । पार्टीभित्र आफू पनि परिवर्तन हुनुपर्छ र विचार व्यबहार र कार्यशैली पनि बदल्नु पर्छ भन्दै पौडेलले गत चुनावमा पार्टीको केन्द्रदेखि तल्लो तहसम्म गल्ति गरेकाले त्यसलाई अब नदोहोर्याउने गरी अगाडि बढ्नु पर्ने बताउनुभयो । सिटौलाले सरकारले चौतर्फी रुपमा हस्तक्षेप गरेर देश कब्जा गर्न खोजेको आरोप लगाउदै लोकतन्त्रलाई अहिले सिंहदरबार र जंगलबाट खतरा रहेको टिप्पणी गर्नुभयो ।

उपसभापति एवं प्रतिष्ठानका प्रमुख बिमलेन्द्र निधिले पार्टी भित्र एकले अर्कोलाई गर्ने दोषारोपणबाट मुक्त हुँदै कांग्रेस र जनतालाई जोड्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै नेता डा. शशांक कोईराला, संयोजक पुरुषोत्तम दाहाल, केन्द्रीय सदस्य अम्बिका बस्नेत लगायतले कांग्रेस एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले शुक्रबार र शनिबार सञ्चालन हुने प्रदेश नम्बर–३ का १३ जिल्ला मध्ये काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप गरी सात जिल्लाका ३ सय १० जना महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू