अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१ | Colorodo: 04:56

कोलम्बियामा पुनः सशस्त्र युद्ध सुरु गर्ने पूर्व फार्क कमाण्डरको घोषणा

बिआरटीनेपाल २०७६ भदौ १३ गते ९:४४ मा प्रकाशित

कोलम्बियामा पूर्व फार्क कमाण्डरले पुनः सशस्त्र युद्ध सुरु भएको घोषणा गरेका छन् । उनले आफ्ना समर्थकलाई हतियार उठाउन आग्रह गरेका पनि गरेका छन् । पूर्व फार्क कमाण्डर इभान मार्क्वेजले पुनः सशस्त्र युद्ध सुरु भएको घोषणा गरेका हुन् । उनी सरकार र तत्कालीन फार्क बिद्रोहीबिच सन् २०१६ मा भएको शान्ति सम्झौताका प्रमुख वार्ताकार हुन् ।

सन् २०१६ मा भएको शान्ति सम्झौतासँगै कोलम्बियामा ५० वर्षदेखि जारी फार्क सशस्त्र युद्धको अन्त्य भएको थियो । सोही सम्झौता अनुसार फार्क शान्तिपूर्ण तथा मुलधारको राजनीतिमा आएको थियो । तर पूर्व कमाण्डर मार्क्वेजले बिहीबार भिडियो सन्देश मार्फत युद्धको घोषणा गरेका हुन् । सरकारले विश्वासघात गरेको आरोप लगाउँदै उनले सशस्त्र युद्ध सुरु गर्ने घोषणा गरेका छन् । उनले भिडियो सन्देशमा भनेका छन्, ‘पछिल्लो दुई वर्षमा ५०० भन्दा बढी सामाजिक नेता मारिएका छन् र १५० गुरिल्ला लडाकुको ज्यान गएको छ ।’

३० मिनेट लामो भिडियो सन्देशमा मारिनेमा अधिकांश पूर्व फार्क सदस्य र अधिकारकर्मी रहेको उनले उल्लेख गरेका छन् । वर्तमान राष्ट्रपति इभान दुक्वे सत्तामा आएपछि अत्याचार मौलाएको उनको आरोप छ । तर राष्ट्रपति इभानले बिहीबार नै त्यसको प्रतिवाद गर्दै बिद्रोहीहरु नार्को–आतंकवादी बनेको र छिमेकी देशका तानाशाही राष्ट्रपति निकोलश मादुरोको सहयोगमा सेल्टरमा बसेको आरोप लगाउनुभएको छ ।

राष्ट्रपति इभानले युद्धको घोषण गरेका फार्क पूर्व कमाण्डर मार्क्वेजको खोजी गर्न आदेश दिनुभएको छ । मार्क्वेजको भिडियोमा देखिएका व्यक्तिलाई पक्रनेलाई जनही ८ लाख ८२ हजार अमेरिकी डलर दिने घोषणा पनि उहाँले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू