अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 02:10

बेलायती संसद् ब्रेक्जिटअघि पाँच हप्ताका लागि निलम्बित

बिआरटीनेपाल २०७६ भदौ १२ गते ९:३४ मा प्रकाशित

ब्रिटेनको संसद्लाई ब्रेक्जिट प्रक्रियाको महत्वपूर्ण पाँच हप्ताजति निलम्बित गरिएको छ । यसको अर्थ सेप्टेम्बरको सुरुमा संसद् जाने सांसदहरू अक्टोबर १४ तारिखभन्दा पहिले संसद् फर्किने छैनन् । त्यो भनेको ब्रिटेनले युरोपेली संघ इयु छाड्ने समयसीमाभन्दा दुई हप्तामात्र अगाडि हो ।

प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट प्रक्रियालाई प्रभावित पार्ने संसद्को अधिकारलाई आफूले अवरुद्ध पार्न नचाहेको बताउनुभएको छ । उहाँका अनुसार अक्टोबर १४ तारिखमा महारानी एलिजाबेथले संसद्मा सम्बोधनमार्फत् सरकारका नीतिहरू सार्वजनिक गर्नुहुनेछ । त्यसअघि संसद् निलम्बन गर्न सरकारले महारानी एलिजाबेथलाई आग्रह गरेको थियो ।

सत्ताधारी टोरी पार्टीका ब्याकबेञ्च सांसद तथा ब्रिटेन इयुमा नै रहनुपर्छ भन्ने एकजना अभियानकर्मी डोमिनिक ग्रीइभले सरकारको योजनालाई अस्वीकार्य कदम भन्नुभएको छ । उहाँले प्रधानमन्त्री जोनसनविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउन सकिने चेतावनी समेत दिनुभयो ।

तर प्रधानमन्त्री कार्यालयको एक समाचार स्रोतले सरकारको कदमको बचाउ गर्दै अब नयाँ सरकार र नयाँ प्रधानमन्त्रीले ब्रिटेन इयुबाट बाहिरिएपछिको अवस्थाका लागि योजना प्रस्तुत गर्ने बेला भएको बताएको बीबीसीले जनाएको छ । आलोचकहरूले यसबाट ब्रिटेन इयुबाट बाहिरिने प्रस्ताव, ब्रेक्जिट, सम्बद्ध प्रक्रियामा आफ्नो प्रजातान्त्रिक भूमिका निर्वाह गर्न सांसदहरूले नपाउने बताएका छन् ।

संसद् स्थगन भएको बेलामा त्यहाँ कुनै बहस र मतदानहरू हुँदैनन् र संसद्बाट पारित हुन नसकेका धेरैजसो विधेयकहरू यो बेला निष्क्रिय बन्छन् । संसद् भङ्ग र निलम्बन गर्ने अवस्थाबीच केही भिन्नता छन् । संसद् भङ्ग हुँदा सांसदहरूको पद रहँदैन र आमनिर्वाचानको प्रचार– प्रसारमा संलग्न हुन्छन् । यता संसद् निलम्बन गरेको असन्तुष्टि जनाउँदै लन्डनमा विरोध प्रदर्शनहरु भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू