अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०९ | Colorodo: 15:24

रवि लामिछानेको रिहाइको माग गर्दै प्रहरी भ्यानमा तोडफोड

बिआरटीनेपाल २०७६ साउन ३२ गते ९:५४ मा प्रकाशित

टेलिभिजन कार्यक्रम प्रस्तोता पत्रकार रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी चितवन प्रहरीको भ्यानमा तोडफोड गरेका छन् । शनिबार बिहानबाटै जिल्ला प्रहरी कार्यालय अगाडि जम्मा भएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रहरीको भ्यानमा ढुङ्गा प्रहार गरका हुन् । प्रदर्शनकारीले हानेको ढुङगाले प्रहरीको भ्यानको अगाडिको शिसा फुटेको छ ।

प्रदर्शकारीलाई तितरवितर पार्न प्रहरीले दुई शेल अश्रु ग्यास प्रहार गर्नुका साथै लाठी प्रहार गरेको छ । प्रहरी कार्यालय आसपास क्षेत्रमा निषेधाज्ञा जारी गर्दै प्रहरीले प्रदर्शनकारीलाई हटाउने काम गरिरहेको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बिहीबार बेलुका पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई शुक्रबार जिल्ला अदालत चितवनमा पेस गरिएको थियो । जिल्ला अदालत चितवनले रविसहित तीनजनालाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको हो । प्रहरीले लामिछानेसहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो ।

पुडासैनीले साउन २० गते चितवनमा आत्महत्या गरेका थिए । नुवाकोटका पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि भन्दै लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुडासैनीले साउन २० गते चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा आत्महत्या गरेका थिए ।

प्रतिक्रिया