अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:११ | Colorodo: 01:26

अमेरिकाको मिसिसिपी राज्यमा करिब ७ सय आप्रवासी कामदार पक्राउ

बिआरटीनेपाल २०७६ साउन २३ गते १०:१० मा प्रकाशित

अमेरिकाको मिसिसिपी राज्यमा करिब सात सय आप्रवासी कामदारलाई सरकारले पक्रेको छ । अमेरिकी अध्यागमन अधिकारीहरूले मिसिसिपीका सात वटा कृषिजन्य सामग्री प्रशोधन गर्ने कम्पनीमा छापा हानेर ६ सय ८० जना कामदारलाई पक्राउ गरेका हुन् ।

इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्टका अनुसार ती कम्पनीका व्यापरिक तथ्यांकहरु पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । डेढ महिनाअघि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लाखौं गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने अभियान थालेयता यो कारवाही गरिएको हो ।

ती कामदारलाई पक्रन सयौं सुरक्षाकर्मीलाई परिचालन गरिएको थियो । त्यसक्रममा केही कामदार भाग्न खोजे पनि सुरक्षाकर्मीले तुरुन्तै पक्रेका थिए । पक्राउ गरिएकाहरु कुन–कुन देशका हुन भनेर परिचय दिइएको छैन ।

अध्यागमन अदालत, न्यायाधिवक्ताको कार्यालयमा उपस्थित हुनुपर्ने शर्तमा केहीलाई मानवीय कारणमा रिहाइ गरिने जनाइएको छ । बाँकीलाई भने लुजियानास्थित हिरासत केन्द्रमा राखिने जानकारी दिइएको छ । मेक्सिकोको महावाणिज्य दूतावासले भने आफ्ना नागरिक पक्राउ परेको भए आवश्यक सहयोग गर्ने जनाएको छ ।

राष्ट्रपति ट्रम्पले गैरकानुनी रपमा बसिरहेकाहरुलाई जतिसक्दो चाँडो हटाइने बताउनुभएको थियो । अमेरिकामा करिब १ करोड २० लाख गैरकानुनी आप्रवासी रहेको दावी गरिएको छ । त्यसमा धेरै मध्य तथा ल्याटिन अमेरिकी मुलुकका रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू