अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 23:00

पाकिस्तानद्वारा भारतका लागि हवाई क्षेत्र खुल्ला

बिआरटीनेपाल २०७६ असार ३१ गते ९:५१ मा प्रकाशित

पाकिस्तानले यसअघि भारतका लागि बन्द गरेको हवाई मार्ग सोमबार रातीबाट खुला गरेको छ । पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले मंगलबारबाट हवाई क्षेत्र खुला गरेको जानकारी दिएको हो ।बालाकोटमा भारतीय पक्षको आक्रमणपछि पाकिस्तानले भारतीय विमानका लागि हवाई मार्ग बन्द गरेको थियो । हवाई मार्ग खुला गरेर पाकिस्तान र भारतवीचको सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ । दुई देशवीच तिक्ततापूर्ण सम्बन्ध रहीआएको छ ।

पाकिस्तानको यो कदमले भारतको सरकारी कम्पनी एयर इन्डिया, लगायतका अन्य हवाइजहाज कम्पनीहरुलाई राहत मिलेको छ । पाकिस्तानको हवाई मार्ग बन्द हुँदा लामो रुट प्रयोग गर्न बाध्य भारतीय हवाई कम्पनीहरुको खर्च बढेको थियो । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतीय एयरलाइन्स अपरेटरहरुले अब छिट्टै पाकिस्तानको हवाई क्षेत्र हुँदै सामान्य मार्ग प्रयोग गर्न थाल्ने छन् ।

पाकिस्तानको नागरिक उड्ड्यन प्राधिकरणले गएराति पौने १ बजेतिर एयरमेन (नोटाम)लाई एक सूचना पठाएर पाकिस्तानको हवाई क्षेत्र सबै प्रकारका सार्वजनिक उडानका लागि खुल्ला भएको जानकारी दिएको थियो । दुवै देशको हितलाई ध्यानमा राखेर यो कदम चालिएको प्राधिकरणका अधिकारीको भनाइ छ ।

गत १४ फेब्रुअरीमा जम्मु कश्मिरको पुलवामा भारतीय सीमा सुरक्षाकर्मीमाथि आतंकवादी हमला भएपछि दुई देशबीच शत्रुवत व्यवहार अझै उत्कर्षमा पुगेको थियो । भारतले बालाकोटमा आक्रमण गरेको थियो भने पाकिस्तानले भारतीय सेनाको विमान खसालिदिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू