अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

राष्ट्रिय फुटबल प्रतियोगिता – आयोजक मकवानपुर बन्यो ’च्याम्पियन’

बिआरटीनेपाल २०७५ चैत १६ गते १०:०१ मा प्रकाशित

आयोजक मकवानपुर–११ दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को उपाधि जित्न सफल भएको छ । क्यामरुनी क्लब दाफिन्सको चुनौती २–१ गोलअन्तरले पन्छाउँदै आयोजक च्याम्पियन भएको हो। प्रतियोगिताको फाइनल खेलमा मकवानपुर भाग्यमानी सावित भयो। मकवानपुरले दुवै गोल पेनाल्टिमार्फत् गरेको थियो। च्याम्पियन मकवानपुरले उपाधिसहित नगद आठ लाख रुपैयाँ हात पार्यो ।

उपविजेता दाफिन्सले नगद चार लाख रुपैयाँमा चित्त बुझाउन बाध्य भयो । खेलमा अग्रता भने दाफिन्सले लिएको थियो। दाफिन्सले खेलको चौथो मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । आहेण्डल इशाहाले दिएको पासमाल यानिक ओवानाले गोल गरेका थिए । खेलको आठौं मिनेटमा मकवानपुरको तर्फबाट योगनेश गुरुङले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । उनले पेनाल्टिमार्फत् गोल गरेका थिए। दाफिन्सका सिलो नाङ्गाको ह्याण्ड भएपछि मकवानपुरले खेललाई बराबरीमा ल्याउने अवसर पाएको थियो। मकवानपुरले छोटो पास खेल्दै दाफिन्सलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेको थियो।

दाफिन्सले उचाई र शारीरिक बनावटको फाइदा लिँदै लामोलामो पास खेलेर मकवानपुरमाथि दबाब बनाउने कोसिस गरेपनि मकवानपुरका गोलरक्षक अशोक बराल त्यसका लागि बाधक भए। खेलको ८१ औं मिनेटमा दाफिन्सका ओको बोटाको ह्याण्ड भएपछि मकवानपुरले पुनः पेनाल्टिको अवसर पाएको थियो। पेनाल्टिमा मकवानपुरको तर्फबाट योगश गुरुङले गोल गर्दै जित दिलाएका थिए।
खेलमा मकवानपुरका हिसुब थपलिया म्यान अफ दी म्याच घोषित भएका छन् । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे। आयोजक मकवानपुर–११ का कप्तान अशोक बराल सर्वोत्कृष्ट खेलाडी घोषितहुँदै नगद ७५ हजार रुपैयाँ प्राप्त गरे । बराल नै उत्कृष्ट गोलरक्षक घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे। मकवानपुरका योगश गुरुङ उत्कृष्ट मिडफिल्डर, रेजिन सुब्बा उत्कृष्ट फरवार्ड, विजयलाल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए। दाफिन्सका डिफेन्डर ओको बोटा उत्कृष्ट डिफेन्डर घोषित भए। उत्कृष्ट सवैले जनही नगद दश/ दश हजार रुपैयाँ प्राप्त गरे।

उपाधि जितेसँगै प्रतिक्रिया दिँदै प्रशिक्षक विजयलाल श्रेष्ठले खेलाडीको मिहेनतका कारण उपाधि जित्न सफल भएको बताउनुभयो । उहाँले विपक्षी खेलाडीलाई मार्क गरेर खेल्दा उत्कृष्ट नतिजा आएको बताउनुभएको छ ।  मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडा–१० स्थित वनविज्ञान खेल मैदानमा भएको प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता चैत ७ गतेबाट सुरु भएको थियो ।

प्रतिक्रिया