अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

ग्यास उद्योगीको आन्दोलनमा बिक्रेताको ऐक्यवद्धता , विक्री वितरण ठप्प पार्ने चेतावनी

बिआरटीनेपाल २०७५ फागुन १० गते ८:५२ मा प्रकाशित

ग्यास उद्योगीहरुले घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई बिक्रेताहरुले पनि ऐक्यवद्धता जनाएका छन् । ग्यास विक्रेता महासंघ नेपालले पत्रकार सम्मेलन गर्दै उद्योगीहरुको घोषित विरोध कार्यक्रमप्रति ऐक्यवद्धता जनाएका हुन्। ६ बुँदे माग अघि सार्दै महासंघले ति माग पूरा नभए ग्यास बिक्री वितरण ठप्प पार्ने चेतावनी दिएको हो।

गत बिहीबार उद्योगीहरुले आफ्ना १० वटा मागहरु पूरा नभए १० दिनभित्र आन्दोलन गर्ने चेतावनी दिएका थिए । त्यसको दुई दिनमै बिक्रेताहरुले अनामनगर स्थित मिडिया इन्टरनेसनलमामा पत्रकार सम्मेलन गरेर बिक्री वितरण नै ठप्प पार्ने चेतावनी दिएका हुन् । आफ्ना मागहरु पूरा नभए फागुन ३० गते ग्यास बिक्री वितरण ठप्प पारेर डिलरमा भएका खाली सिलिण्डरहरु सम्बन्धित निकायमा बुझाउने बिक्रेताहरुले चेतावनी दिएका छन्।

उद्योगीहरुको मागलाई समर्थन गर्दै विक्रेताहरुले बिक्रेता प्रमाणिकरण प्रक्रिया तत्काल शुरु गर्नु पर्ने, बिक्रेता वितरकको कमिशन मूल्यको कम्तिमा ६ प्रतिशत हुनुपर्ने माग अघि सारेका छन्। यसैगरी उपभोक्ता जनचेतना कार्यक्रम सबै स्थानीय तहमा सञ्चालन गर्नु पर्ने, डिलर र डिलरमा काम गर्नेहरुको बीमा गरिनु पर्ने र ग्यास बिक्रेताहरुलाई आवश्यक तालिमको व्यवस्था हुनु पर्ने माग संघले अघि सारेको छ ।

उद्योग सञ्चालन खर्चको आधारमा मुनाफा दिनुपर्ने, अनाधिकृत रूपमा दिएका इजाजत खारेज गर्नुपर्ने, तराईका सबै स्थानहरूमा एउटै बिक्री मूल्य कायम गरिनुपर्ने, नेपाली नम्बरका ग्यास बुलेट सञ्चालनका लागि आवश्यक पहल गरी निकास दिनुपर्ने, प्रमाणिकरण भएका सिलिण्डरको आधारमा कोटा थप गर्नुपर्ने लगायतका माग उद्योगीहरुले अघि सारेका छन्। तर, ग्यास जस्तो अत्यावश्यक इन्धनको बिक्री वितरण नै ठप्प पार्ने उद्योगी तथा बिक्रेताहरुको चेतावनीप्रति उपभोक्ताकर्मीहरुले विरोध जनाएका छन्। आफ्ना माग राख्न पाउने अधिकार भए पनि उपभोक्तालाई मार पर्नेगरी बिक्री नै ठप्प पार्नु अपराध हुने उनीहरुको तर्क रहेको छ।

प्रतिक्रिया